काठमाडौं : यौन शोषणको अभियोगमा गायक तथा हाँस्य कलाकार प्रकाश ओझा फेरि पक्राउ परेका छन्। उनलाई प्रहरीले २ वर्षदेखि खोजी गर्दै आएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गराउन उनलाई पक्राउ गरेको हो। गायक ओझाले नाबालिकाहरुको अश्लिल तस्वीर खिचेर यौन शोषण गर्नुका साथै तस्वीरहरु बेवसाइटमा राखेर बेचबिखन गरेर पैसा कमाउने उद्देश्य राखेको सर्वोच्चको ठहर छ। ओझाको विरुद्धमा परेको पुनरावेदन अदालत, विराटनगरको फैसला उल्टाई सर्वोच्च अदालतले दुई वटा मुद्दामा पाँच-पाँच वर्ष गरी उनीमाथि १० वर्षको कैद सजाय सुनाएको थियो।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७१ माघ ४ गते फैसला सुनाएपछि प्रहरीले गायक ओझालाई खोज्दै आएको थियो । ओझामाथि २०५९ सालदेखि दुई वर्षसम्म डर-त्रास देखाई अनुचित प्रभावमा पारेर अनैतिक सम्बन्ध राखेको आरोप थियो।
जिल्ला अदालत मोरङले यही मुद्दामा गायक ओझालाई डेढ वर्षको सजाय सुनाएको थियो। उनी जेल परेर सजाय भुक्तान गरी २०६३ जेठ १७ गते छुटेका थिए । ओझाले आफुमाथी लागेको आरोपहरु झुठा भन्दै आएका थिए। उनलाई पुनरावेदन अदालत, विराटनगरले भने चार हजार पाँच सय ५० रुपैयाँ धरौटी र पाँच हजार रुपैयाँ जरिवाना लिएर तारिखमा छोड्ने आदेश दिएको थियो। त्यसपछि उनी विरुद्ध फेरि सर्वोच्चमा मुद्दा पर्यो।
गायक ओझाले भत्काइदिन्छु बाख्राको खोर पनि, म पनि जान्छु जिमखाना, ए बाउ भात खान आउ जस्ता गीतहरु चर्चित भएका थिए । तिते करेली नामको हास्य श्रृखला पनि उनको चर्चित भएको थियो । चर्चित भएका ओझाले फिल्म खेलाउने प्रलोभनमा तीन नाबालिकाहरुलाई शोषण गर्दै आएका थिए ।
ओझाले नायिका बनाइदिने प्रलोभन देखाएर सुनसरीकी ज्योती खड्कालाई पनि यौन-शोषण गरेका थिए । ओझाको खड्कासँगको यौन सम्पर्कको भिडियो पनि सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि ज्योती नाम परिवर्तन गरेर जेसिका खड्काको नाममा चलचित्रकी नायिका भएकी थिइन् । उनले डिप्रेशनका कारण आत्महत्याको बाटो रोजिसकेकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।