राजनीति

गोरखाका पूर्व-लडाकुले यसरी सम्झिए जनयुद्ध दिवस…

एकतिहाई उद्देश्य पूरा हुनै बाँकी छन्

फागुन १, २०७६

    गोरखा : ०५२ फागुन १ देखि गोरखाका विभिन्न बैंक, गैरसरकारी संस्थाहरू कब्जा गर्दै तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धको सुरुवात गर्‍यो। देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउने भन्दै माओवादीले जनयुद्ध शुरु गरेपछि तत्कालीन सरकारका सेनाबाट २०५२ साल फागुन १४ गते गोली हानेर गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेलको हत्या भयो।

     आफ्ना गुरुलाई राजतन्त्रका रक्षकहरूले विद्यालय हातामा आई पक्राउ गर्ने, कुटपिट गर्ने तथा दुःख दिने गरेको भन्दै प्रतिरोधमा उत्रिएपछि शहादत प्राप्त गरेका रम्तेल जनयुद्धका प्रथम शहीद हुन्।

    रम्तेलको हत्यापछि झनै चर्किएको जनयुद्ध २०६३ सालमा तत्कालीन सरकार र माओवादी विद्रोहीबीच भएको बृहत् शान्ति सम्झौतापछि विधिवतरूपमा अन्त्य भयो। २०५२ देखि २०६३ सम्म चलेको १० वर्षे जनयुद्धमा देशभर सशस्त्र विद्रोही माओवादी, नेपाल प्रहरी, नेपाली सेना तथा सर्वसाधारण जनता गरी १५ हजारभन्दा बढीको मृत्यु भयो। अनि हजारौँ बेपत्ता भए। गोरखाका एक सय ८८ जना मारिए  भने २० जना बेपत्ता भए।

    जनयुद्ध सुरू भएको दिनलाई स्मरण गर्दै सँगै बन्दुक बोकेर भूमिगत जीवन बिताएका तत्कालीन माओवादीको नेतृत्वमा रहेका नेता-कार्यकर्ताहरु अहिले छुट्टाछुट्टै पार्टीको कमाण्ड सम्हाल्दै २५ औं जनयुद्ध दिवस मनाइरहेका छन्।

    तत्कालीन माओवादीको नेतृत्वमा गरेर जनयुद्धको सुरुवात गर्ने केही नेताहरु अहिले सरकारमै छन्, केही पार्टी विभाजित भएर छुट्टै पार्टीको नेतृत्व गरिरहेका छन् भने केही अझै भूमिगत छन्।

    जनयुद्धको अन्त्यपछि तत्कालीन माओवादीको नेतृत्व गर्ने नेताहरु सत्तामा पुगेपछि जनयुद्धका क्रममा आम नेपालीलाई देखाएका सपना पूरा भए या भएनन्? भन्ने विषयमा पूर्व-माओवादीको नेतृत्वमा १६ वर्षकै उमेरदेखि २०५४ सालयता जनयुद्धमा संलग्न गोरखा फुजेलकी कमला नहर्की (सपना) सँग थाहाखबरकर्मी अश्विन दानीले गरेको कुराकानी :

    तपाईं जनयुद्धमा कसरी लाग्नु भयो?

    २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले देश र जनताका लागि जुन खालको योजना, लक्ष्य र उदेश्य लिएर जनयुद्ध सुरु गरेको थियो। ती सबै रणनिती र कार्यनितीको अध्ययन गरेपछि मलाई लाग्यो,‘देशलाई यो युद्ध आवश्यक छ। यसमा मेरो पनि सहभागिता हुनुपर्छ त्यसैले म २०५४ सालदेखि नै जनयुद्धमा       होमिएँ।

    जनयुद्धको उद्देश्य सफल भयो त?

    जनयुद्धपछि हामीले नेपालबाट राजतन्त्रलाई विधिवत रूपमा हटाउन सफल भयौँ। महिला, दलित, उत्पीडनमा परेका वर्गहरूलाई तत्कालीन समयमा हेर्ने सामन्तवादको अन्त्य गरेर संविधानबाटै उनीहरूलाई विभिन्न हक अधिकार दिन सफल भएका छौँ। अहिले स्थानीय तहदेखि केन्द्रसरकारसम्म उत्पीडित क्षेत्र, जाति, वर्ग, लिंगहरूले समावेशिता पाइरहेका छन्। समाजका विकृति विसंगतिविरुद्ध सबै नागरिकहरु आवाज उठाउन सक्षम भएका छन् त्यो पनि हाम्रो उपलब्धि हो।

     जनयुद्धपछि संविधानले व्‍यवस्था गरेको हक अधिकारहरु कार्यान्वयनको अवस्थामा थुप्रै चुनौती छन्।  जनयुद्धको सुरुवात गर्दा जुन उद्देश्य हामीले लिएका थियौँ, जुन लक्ष्य थियो त्यो पूर्णरूपमा प्राप्त त भएको छैन।

    राजतन्त्र अन्त्य भएर गणतन्त्र त आयो तर हामीले त्यतीबेला जनतालाई भनेको जस्तो जनवादी सत्ता प्राप्त गर्न सकेका छैनौँ। साम्यवादको सपना देखर सुरुवात गरेको जनयुद्ध अन्त्य भएपछि पनि अहिले हामी समाजवाद उन्मुख दिशामा अघि बढिरहेका छौँ। यद्यपि, राजनीति र लक्ष्य उद्देश्य भनेको समय परिस्थितिअनुसार फेरबदल भइरहँदो रहेछ।

    तर, म भन्छु जनयुद्धका क्रममा हामीले लिएका उद्देश्यहरूमध्ये अब एकतिहाई मात्रै पूरा गर्न बाँकी छ। त्यो पनि पूरा गर्न सकिन्छ। समय छ। यस विषयमा पार्टीले छुट्टै प्याकेज बनाएर अघि   बढ्नुपर्छ।

    जनयुद्धमा नेतृत्व गरेकै व्‍यक्तिहरू अझै पनि जनयुद्ध सफल भएको छैन भन्छन् नि!

    जनयुद्धको विषयमा एउटा समीक्षा पनि भइसकेको छ। जनयुद्ध तत्कालीन समयमा ठिक थियो। पछिल्लो समयमा नेपालको सापेक्षतामा दीर्घकालीन जनयुद्धलाई नै निरन्तरता दिँदा सफल हुन सकिँदैन त्यसले झन ठूलो क्षति पुर्‍याउँछ। बन्दुकले लडेर देशमा उपलब्धि हाँसिल हुँदैन भन्ने कुरा बोध भएर त्यस बेला नै हामी शान्ति प्रक्रियामा गएका हौँ।

    तर, अहिले पनि केही साथीहरूले जनयुद्धका कुरा गरिराख्‍नुभएको छ। हिजोकै जनयुद्धकै प्रकृतिको लडाइँको अर्थ छैन अब। किनकि, हिजो राजतन्त्रविरुद्ध लडेका हौँ। अहिले देशमा गणतन्त्र छ। अब कोसँग? कुन सत्ताविरुद्ध लड्ने? गणतन्त्रविरुद्ध लड्ने हो भने हामीले प्राप्त गर्ने चाहिँ के त?

    त्यसैले अबका दिनमा संविधानमा परिवर्तन गर्नुपर्ने कुराहरु के छ? नीति नियमहरुमा सरकारले कसरी परिवर्तन गर्न सक्छ? बाँकी भएका काम कार्यलाई कसरी पूरा गर्न सकिन्छ? भन्ने विषयमा छलफल गर्न एउटा आधार तय भएको छ। त्यही आधारमा टेकेर बाँकी उपलब्धिहरूलाई प्राप्त गर्न एकजुट भएर अघि बढ्दा नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।                                              

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]