मालपोत अधिकृतसहित आठजनाविरुद्ध मुद्दा

|
फाइल तस्बिर

काठमाडौं : मृत्यु भइसकेको व्यक्तिको किर्ते औंठाछाप लगाइ लाखौंको जग्गा अर्का व्यक्तिको नाम पास गरेको अभियोगमा मालपोत अधिकृतसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ। 

भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईंसहित ८ जनाविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो। 

मालपोत कार्यालय सुनसरीका कर्मचारीको मिलेमतोमा मृत्यु भइसकेकी धरान-१० की रनमाया लिम्बुको किर्ते औठाछापबाट अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको उजुरीमा छानबिन गरेर आठजनाविरुद्ध अख्तियारले मुद्दा हालेको हो। 

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार तत्कालीन मालपोत अधिकृत गुरागाईं, नायव सुब्बा (तहरिर) मनोज घिमिरे, खरिदार (फाँटवाला) कृष्णप्रसाद नेपाल र खरिदार (मोठफाँट) राम प्रसाद भट्टराईले गलत औंठाछाप लगाइ आएको फाइल अघि बढाएको अभियोग लगाइएको छ। 

उनीहरुले २०७० कात्तिक १० मा मृत्यु भइसकेकी रणमायाको नामको जग्गा गत मंसिर २८ मा हालैको वकसपत्रको गलत लिखत पारित गरी ३२ लाख ४५ हजार रुपैयाको जग्गा हक नपुग्‍ने रत्नदेवी लिम्बुका नाममा पास गराइदिएको पुष्टि भएको प्रवक्ता कोइरालाले जानकारी दिए। 

यस प्रकरणमा दधिराम गुरागाईं, मनोज घिमिरे, कृष्ण प्रसाद नेपाल र राम प्रसाद भट्टराईलाई  भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम कैद सजाय र जरिवाना मागिएको छ।

यही प्रकरणमा  तत्कालीन इटहरी नगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ। उनीविरुद्ध जग्गाधनी उपस्थित नभई उनको नाममा घरबाटो सिफारिस निवेदन लिएको आरोप लागेको छ। धिमालले २०७० मंसिर २४ गते नगरपालिकाबाट घर बाटो सिफारिस गरेको भेटिएको हो।

त्यही सिफारिसका आधारमा मालपोतबाट मृतक रनमायाको नामको जग्गा गैरकानूनी रुपमा रत्नदेवीको नाममा पास भएको थियो। धिमालविरुद्ध पनि अख्तियारले जरिवाना र कैद सजाय माग गरेको छ।

त्यसैगरी लेखापढी व्यवसायी पुस्करप्रसाद पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ। जग्गाधनी उपस्थित नभएको अवस्थामा उनको नामको लिखत लेखी किर्ते सहीछाप तयार गरी पोखरेलले रत्नदेवी लिम्बुलाई अंशियारका रुपमा खडा गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि जरिवाना र कैद सजाय मागिएको छ। 

अख्तियारले रत्नदेवी लिम्बुविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको छ। मृत्यु भइसकेकी रनमायाको नाममा रहेको जग्गा उनको मृत्यु भएपछि गलत कागजात बनाई,  किर्ते औंठाछाप लगाएर ३१ लाख ४५ हजार बराबरको जग्गा आफ्नो नाममा कायम गराएको ठहर अख्तियारले गरेको छ। उनले त्यो जग्गा आफ्नो नाममा गराउने क्रममा २ लाख ३५ हजार बुझाएकोमा ४७ हजार एक सय ७५ मात्रै राजश्‍वमा दाखिला भएको भेटिएको छ।

बाँकी एक लाख ८७ हजार ८ सय २५ रुपैयाँ गलत लिखत तयार गर्न उनले घुस खुवाएको पुष्टि भएकाले जरिवाना र कैद सजाय मागिएको प्रवक्ता कोइरालाले बताए। त्यस्तै गलत लिखतका साक्षी गोविन्द कोइरालाविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको छ।

उनीविरुद्ध मालपोत कार्यालय सुनसरीबाट पारित वकसपत्रको किर्ते औंठाछाप र दस्तखतमा साक्षी बसेको आरोप लागेको छ। रामधुनी नगरपालिका वडा नं. ५ बस्ने लेखापढी व्यवसायी कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.