यस्तो छ फौजदारको अपराध श्रृंखला

|

बारा : बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्रकुमार फौजदारलाई प्रहरीले सार्वजनिक गरेको छ।

साह हत्या प्रकरणमा १२ वर्षदेखि फरार रहेका महागढीमाई नगरपालिका-६ का गडहलका ५१ वर्षीय फौजदारलाई प्रहरीले शनिबार राति पक्राउ गरेको थियो।

बारा प्रहरीको नियन्त्रणमा रहेका फौजदारलाई जिल्ला प्रहरी कार्यालय बारा परिषर कलैयामा आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर मुख्य योजनाकार फौजदारलाई सार्वजनिक गरेको हो।

यसरी पक्राउ परे मुख्य अभियूक्त

घटनापछि लामो समय खुलेयाम घुम्दै आएका फौजदार पछिल्लो समय लुकेर बसेका थिए। प्रहरीको खोजी सूचीमा रहेका फौजदार घरमा आएको सूचना पाएपछि बारा प्रहरीको टोली राति २ बजे उनको घर पुग्यो। त्यसपछि घरलाई घेरा हालेर फौजदारलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

फौजदारलाई पक्राउ गर्ने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो। फौजदारलाई नियन्त्रणमा लिने क्रममा परिवार र स्थानीयले अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो।

‘प्रहरी टोलिसँग जोरजुलुम गरि भाग्न खोजेको थिए,’ प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने, 'परिवारजन तथा छिमेकीले अवरोध गरेकाले  स्थितिलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड हवाई फायर भएको हो।’ आवश्यक प्रक्रिया पुर्‍याएर बारा जिल्ला अदालतमा पेस गरिने उनले जानकारी दिए।

दुईजना अझै फरार

पत्रकार साह हत्यामा संलग्न अन्य दुईजना अझै फरार छन्। हत्यामा संलग्न लालबहादुर चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्। बाराका सुरक्षा प्रमुख फेरिएपछि बाराली पत्रकारले सधैँ पत्रकार साहको हत्यारालाई पक्राउ गर्न माग गर्दै आएको छ।

अपहरणकारी पाँचजना

पत्रकार साहको २०६४ असोज १८ अपहरण भएको थियो। साविक इनर्वासरा गाविस वडा नं. ८ बस्ने पत्रकार वीरेन्द्र साहलाई साविकको उम्जन गाविसको पिप्रा वसतपुरबाट अपहरण भएको थियो। अपहरणमा कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेतका पाँचजना संलग्न रहेको प्रहरीले जनाएको छ।

३५ दिनमा शव भेटियो

अपहरणकारीले गोली हानेर हत्या गरेर जीतपुरसिमरा १६ टांगियाबस्तीको जंगलमा खाल्टो खनेर गाडेको प्रहरीले जनाएको छ। अपहरणपछि खोज्दै जाने क्रममा साहको शव कात्तिक २२ गते टांगियाबस्तीको जंगलमा भेटिएको थियो।

साहको हत्या भएपछि दोषीमाथि कार्वाहीको माग गर्दै बारासहित देशभरका पत्रकार आन्दोलनमा समेत उत्रिएका थिए। पत्रकार हत्याको घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा पाएको थियो।

पत्रकार साह एभिन्यूज टेलिभिजनमा कार्यरत थिए। शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) का जिल्लास्तरीय नेता फौजदारको मुख्य योजनामा हत्या भएको हो।

हत्या भएको एक वर्षदेखि संलग्नलाई पक्राउ गर्न सुरु गरेको प्रहरीले १२ वर्षपछि मुख्य योजनाकारसम्म पुग्न सफल भएको हो। प्रहरीले २०६५ असोज १९ मा जीतपुरसिमरा उपमहानगरपालिका २० बसडिल्वाका मेनेजर गिरीलाई पक्राउ गरेको थियो।

उनी ११ वर्ष जेल सजाय भुक्तान गरी गतवर्ष छुटेका छन्। त्यस्तै साविक खोपवा गाविसका रामएकवाल सहनीलाई प्रहरीले २०६५ पुस २१ मा पक्राउ गरेको थियो। उनी १० वर्षदेखि वीरगन्ज कारागारमा छन्।

बारा जिल्ला अदालतको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौँडाको २०६९  साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसला आदेशले मुख्य योजनाकार फौजदारलाई फरार करार गरि मुद्दा मुल्तबीमा रहेको थियो।

फौजदारको अपराध श्रृंखला

पत्रकार हत्याका योजनाकारका रूपमा प्रहरीले पक्राउ गरेको फौजदार विभिन्‍न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ। फौजदार डाँका मुद्दा र औषध मुद्दामा समेत फरार सूचीमा रहेको प्रहरीले जनाएको छ।

उनीसहित आठजनाको समूहले २०६८ कात्तिक २० गडहलका दीपेन्द्रप्रसाद यादव समेतको घरबाट हातहतियार देखाएर कुटपिट गरि सुन चाँदीका गरगहना र नगद तीन लाख लुटपाट गरेको डाँका मुद्दामासमेत संलग्न फरार सूचीमा रहेको प्रहरीले जनाएको छ। 

लागु औषध मुद्दामा पनि उनको संलग्नताको रेकर्ड प्रहरीमा देखिएको छ। उनी २०७५ जेठ २४ गते कलैया उपमहानगरपालिका-१ स्थित सडकमा सवारी साधन चेकजाँचको क्रममा ना.२ ह १५५८ नम्बरको अटोमा लागुऔषध फेनारगन ७७ पिस, नुर्फिन २५ पिस र डाईजेल्याव १ पिस फेला परेको थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.