|

काठमाडौं :  कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदै जाँदा यसको सक्रमण नेपालमा पनि देखा परेको छ। कोरोना सक्रणबाट सजग रहन तर नआत्तिन विज्ञहरुको सुझाब छ। जनस्वास्थ्य विज्ञ  डा रवीन्द्र पाण्डेको यस्तो छ सुझाब:–

चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडालगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ।  ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ। संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन्।  संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन्।

कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै भाग्यमानी रह्यौं। अन्य राष्ट्रले ठूलो विपदसँग लड्दा हामीकहाँ भर्खर २ वटा मात्र केस देखिएका छन्।  एउटा गलत समाचारले हामीलाई पेनिक बनायो भने  फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण पोजिटिभ देखिंदा हामी निकै आत्तिएका छौं।  हामीहरुले मानसिक रुपमा के तयारी गर्नुपर्छ भने सयौं कोरोनाको पोजिटिभ केस देखिन सक्छ भन्ने। 

सयजना कोरोना संक्रमणका केस देखिएमा ८५ जनालाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ। बाँकी १५ प्रतिशत मध्ये १० प्रतिशतलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्दा निको हुन्छ। अनि ५ प्रतिशतलाई आइसीयुमा राखेर वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ। 
ती १०० जना संक्रमितमा मृत्यु हुने २–३ जना मात्र हुनेछन।

विश्वको डाटा हेर्ने हो भने पनि मृत्यु हुनेमा क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका दीर्घ बिरामी, पटक पटक निमोनिया भइरहने र दमका ती बिरामी जसलाई अक्सिजन २४ घण्टा आबश्यक पर्छ, दीर्घ मुटु र मधुमेहका बिरामी जसलाई ती रोगले मृगौला, मुटु लगायतका अंगमा असर गरिसकेको छ भने मात्र मृत्यु हुन्छ। 

तसर्थ कोरोना संक्रमणका केस बढे भनेपनि आत्तिनु पर्दैन। कोरोना संक्रमण पोजिटिभ केस बढ्दै जान सक्छन भनेर हामी मानसिक रुपमा तयार हुनुपर्छ। सतर्क र सजग हुनुपर्दछ्र हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा मात्र हुन्छ। पूर्व तयारी गरौँ, पेनिक नबनौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.