|
फाइल फाेटाे

स्याङजा : स्याङजाको फेदीखोला गाउँपालिकाले पसल र उपभोक्तालाइ प्रविधिसँग जोडेको छ। अब गाउँपालिकाभित्रका उपभोक्ताले आवश्यक दैनिक उपभोग्य बस्तु घरमै बसेर मोबाइलमार्फत अर्डर गर्न सक्नेछन्। 

गाउँपालिकाले अनलाइन खाद्यान्न व्यवस्थापन प्रणाली ल्याएको छ। जसअन्तर्गत फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत सामान खरिदका लागि एउटा मोबाइल एप्स सार्वजनिक गरेको छ। 

फेदीखोलाभित्रका पाँचै वटा वडामा इन्टरनेट पहुँच बिस्तार भएको छ। गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, ‘अधिकांश स्थानीय सोसल मिडिया चलाउन सक्ने भएका छन्। वेबसाइट र इन्टरनेटसम्बन्धी सामान्य ज्ञान भएकाहरुले पनि यो सेवा उपभोग गर्न सक्ने गरी प्रणालीको डिजाइन गरिएको छ।’

कोरोनाको त्राससँगै ठप्प भएको बजारमा सीमित पसल खुलेका छन् त्यो पनि केही समयका लागि मात्र। पसलमा भिडभाडसमेत गर्न नुहने यस्तो बेलामा यो प्रविधि निकै प्रभावकारी हुने सुवेदीले बताए।

पहिलो चरणमा यहाँका २७ वटा पसल यो सेवाको लागि तोकिएको छ। उपभोक्ताले पायक पर्ने नजिकको पसलमार्फत आफूलाई आवश्यक सामग्री यस मोबाइल एप्समार्फत खरिद गर्न सक्छन्। 

लकडाउनको समयमा भिडभाड गर्दै कोरोनाको जोखिम कम गर्ने मात्र होइन, उपभोत्तालाई प्रविधिसँगै जोड्न यो प्रविधि ल्याइएको सुवेदीले बताए। भन्छन्, ‘गाउँपालिकालाई प्रबिधिमैत्री बनाउने अभ्यासमा छौं हामी।

कसरी चलाउने मोबाइल एप्स ?

आवश्यक खाद्य तथा सामग्री अर्डर गर्न उपभोक्ताले अनलाइन फर्ममा आफ्नो नाम, वडा, सम्पर्क नम्वर अनिवार्य राख्नुपर्नेछ। आवश्यक डाटा इन्ट्री गरिसकेपछि आफूलाई पायक पर्ने पसल, खाद्यान्न र मात्रा इन्ट्री गर्न सकिने सूचना प्रविधि अधिकृत दीपक ओझाले जानकारी दिए। उनका अनुसार इन्ट्री गरिएको खाद्यान्नको अर्डर हेर्न प्रत्येक वडालाई युजर लगइन खाता हुनेछ। खाताबाट आफ्ना वडामा आएको अर्डरलाई वडा कार्यालयबाट पायक पर्ने नजिकैको पसलमा सिफारिस गर्न सकिनेछ। 

इन्टरनेट प्रयोग गर्ने स्थानीयले उक्त प्रणाली प्रयोग गरिदिए पसलमा भीड धेरै हदसम्म घट्ने पालिकाको विश्वास छ। साथै यो प्रणालीले सेवा छिटो छरितो हुने तथा आवश्यक खाद्यान्न मौज्दात राख्न पालिकालाई सहज हुनेछ। 

यहाँका उपभोक्ताले जतिसक्दो यो सेवा उपभोग गर्न पालिकाले आग्रह गरेको छ। यसले पालिकाभित्र आएका खाद्यान्न र पसलमा अत्याधिक माग हुने परिमाणको विश्लेशण गर्न सकिनेछ।
 
कालोबजारी रोक्न समिति गठन

त्यसैगरी कृत्रिम अभाव र कालोबजारी रोक्न गाउँपालिकाको प्रशासकीय अधिकृत नन्दलाल शर्माको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ। यो अभियानलाई लकडाउनको समयमा मात्र नभई त्यसपछि पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.