सरकारी चालकले गर्दा सबै बदनाम भयौँ : अध्यक्ष ठकुरी

|

धादिङ  : व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरूले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न छाडेका छन्। एम्बुलेन्सले बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ।

चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा चेकजाँच गराउँदा उनीमा टाइफाइड देखियो। स्वास्थ्यकर्मीले औषधि दिएर आरामका लागि घर पठाएका परियारलाई  चैत २८ गते शुक्रबार राति निकै ज्वरो आयो। ज्वरो बढ्दै गएपछि परिवारका सदस्य र छिमेकीहरूले अस्पताल लैजान दबाब दिँदै एम्बुलेन्स खोज्न थाले।

रातैभरि कोशिश गर्दा पनि कुनै एम्बुलेन्स बिरामी लिन जान तयार भएनन्। अन्तिममा धादिङ जिल्ला अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जिल्ला अस्पतालको एम्बुलेन्स पठाएपछि बिरामीलाई जिल्ला अस्पताल ल्याइयो। उनीमा कोरोना संक्रमणसँग मिल्दो कुनै लक्षण नदेखेको अस्पतालले जनाएको छ।

भारतबाट फर्कनेको र ज्वरो आएको भन्ने थाहा पाएपछि गाउँ वरिपरिका कुनै पनि एम्बुलेन्स बिरामी बोक्न तयार नभएको त्रिपुरासुन्दरी गाउँपालिका-६ का वडा सदस्य ओमप्रसाद पाण्डे बताउँछन्। अरू ठाउँबाट एम्बुलेन्स आउन नमानेपछि गाउँपालिकाअन्‍तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सका लागि कोशिश गर्दा चालकले कसैको आग्रहलाई नटेरेर पन्छिएको पाण्डे बताउँछन्।

पन्छिएर भाग्छन् चालक

'छिमेकीको नाताले म आफैँले १० वटा जति एम्बुलेन्स चालकसँग कुरा गरें। तर कोहीले बिरामी लिएर काठमाडौं जाँदै गरेको भने, कोहीले मोटरमा समस्या छ भन्दै पन्छिए’ पाण्डेले बताए।

गैरजिम्मेवारी बनेर एम्बुलेन्सले बिरामी नबोक्ने विषयलाई  स्थानीय तह र प्रशासनले गम्भीर रूपमा लिनुपर्ने धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष धमला बताउँछन्।

 विदेशबाट फर्किएकै कारण सबैमा कोरोना हुन्छ भन्ने हुँदैन। व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को प्रयोग गरेर एम्बुलेन्स चालकहरूले बिरामीलाई स्वास्थ्य संस्था नलगिदिने हो भने अहिलेको अवस्थामा स्वास्थ्य संस्था पुग्नै नपाएर बिरामीको ज्यान जान सक्ने सम्भावना बढ्दै गएको धमलाले बताए।

सकारात्मक जवाफ नै दिँदैनन् चालक

गएको शुक्रबार राति त्रिपुरासुन्दरी गाउँपालिकाको-५ का गोविन्द राना मगरलाई ज्वरो बढ्दै गयो। ३ दिन देखि ज्वरो आएका मगरलाई परिवारका सदस्यले शनिबार राति जिल्ला अस्पताल लैजान एम्बुलेन्स खोज्दा अघिल्लो दिनकै प्रवृत्ति दोहोरिएको आगिन्चोकका राजन बुर्लाकोटी बताउँछन्।

बिरामीका आफन्तले राति भएपछि अत्तालिँदै सहयोग माग्न थालेपछि शनिबार राति सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, आरुघाट र खहरेबाट सञ्चालित एम्बुलेन्ससँग सम्पर्क राख्दा कुनै पनि चालकले सकारात्मक जवाफ नदिएको बुर्लाकोटीले बताए।

तर,  शंकास्पद अवस्थाका बिरामीलाई उपचारको सबै व्यवस्था गरिनुका साथै अयन्त्र लैजानु परेमा एम्बुलेन्स सेवा दिन गाउँपालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनी बताउँछन्।

ज्वरो आउँदैमा सबैलाई कोरोना नहुने भएकाले कोही पनि बिरामीलाई आफूलाई पायक पर्ने पालिकाभित्रका स्वास्थ्य संस्थामा सम्पर्क राख्न इटनीले आग्रह गरेका छन्। कुनै पनि बिरामीले एम्बुलेन्स सेवा लिन चाहँदा एम्बुलेन्सको सेवा पाउनुपर्छ,  बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकहरूलाई पालिकाले तत्काल सचेत गराउने उनले बताए। 

बिरामी नबोक्दा गलत सन्देश

जिल्लाको ग्रामीण भेगबाट चल्ने एम्बुलेन्सहरू अहिले बिरामी लिएर अस्पताल जान तयार नहुँदा गलत सन्देश प्रवाह भइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमिल्सिना बताउँछन्।

चालकहरू सुरक्षित भएर बिरामीको उद्धारमा लाग्नुपर्ने तिमिल्सिनाको सुझाव छ। जोखिममा आफू पनि बच्नुपर्छ र अरूको पनि ज्यान जोगाउनुपर्दछ। सधैँभरि संक्रमणको डर देखाएर एम्बुलेन्स चालकहरू पन्छिन नहुने, सुरक्षित हु्नका लागि आवश्यक कार्य गर्नु पर्ने तिमिल्सिनाले बताए।

जिल्लाका १३ वटै स्थानीय तहले ज्वरोको बिरामीहरूको औषधि उपचारका लागि पालिकास्तरमा स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गरेको हुँदा बिरामीलाई ती ठाउँसम्म पुग्न पनि एम्बुलेन्सको सहयोग आवश्यक हुने गंगाजमुना गाउँपालिका फूलखर्कका सामाजिक कार्यकर्ता नवराज अधिकारी बताउँछन्।

जिल्लामा ५६ एम्बुलेन्स सञ्‍चालित

धादिङ जिल्लाभरमा अहिले ५६ वटा एम्बुलेन्स सञ्चालनमा छन्। तीमध्ये ४४ वटा गैरसरकारी संस्थाबाट, १० वटा सरकारी तबरबाट र २ वटा रेडक्रसबाट  चलिरहेका छन्। सरकारी एम्बुलेन्स चालकलाई सरकारले बिमाको व्यवस्था गरिदिएको छ। उनीहरूको साथमा सुरक्षित पिपिईसमेत रहेको भए पनि सेवा दिने बेलामा सरकारी एम्बुलेन्स चालकहरू पछि हट्ने गरेको पाइएको छ।

कोरोना भाइरसको संक्रमण शुरु हुनुअघि एम्बुलेन्सहरू गाउँ गाउँमा पुगेर बिरामी बोक्न तँछाडमछाड गर्ने गरेकोमा अहिले बहानावाजी बनाएर पन्छिने गरेको आरोप एम्बुलेन्स चालकहरूमाथि लाग्ने गरेको छ।

सरकारी चालकका कारण सबै बदनाम

धादिङ संयुक्त एम्बुलेन्स चालक समाजका अध्यक्ष भेषराज ठकुरी गैरसरकारी संस्थाले चलाएको एम्बुलेन्सका चालक ज्यान जोखिममा राखेर सेवामा खटिइरहेको तर राज्यले संरक्षणको जिम्मा लिएका एम्बुलेन्स चालकहरूको कारण सबै एम्बुलेन्स चालक बदनाम हुन थालेको बताउँछन्।

त्रिपुरासुन्दरी गाउँपालिकाको घटनामा जोडिएका एम्बुलेन्सहरू सबै सरकारी तहबाट सञ्‍चालित भएकाले उनीहरूको अनुगमन, व्यवस्थापन गर्ने जिम्मेवारी पाएको निकायले यस विषयमा जवाफदेही बन्नुपर्ने अध्यक्ष ठकुरीको सुझाव छ।

सुरक्षाका लागि क्याविन बनाइँदै

जिल्लामा गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको एम्बुलेन्सहरूमा क्याविन बनाउन थालिएको छ। चालकको सिटपछाडि आल्मुनियम बार लगाएर एम्बुलेन्सहरूले बिरामी र चालक सिधै सम्पर्क नहुने बनाउन थालेका छन्। क्याविन बनाउँदा कोरोना त्रासका लागि मात्रै होइन अरू बेलामा पनि प्रभावकारी हुने एम्बुलेन्स चालकहरूको भनाइ छ।

चालक समाजका अध्यक्ष ठकुरीका अनुसार अहिलेसम्म जिल्लाका ११ वटा एम्बुलेन्सले क्याविन बनाएका छन्। क्याविनबाट बिरामी बोक्ने भागमा दोहोरो कुरा गर्न मिल्ने फोन सेट जडान गरिएको छ भने  आकस्मिक अवस्था पर्दा रोक्नका लागि घण्टीको समेत व्यवस्था गरिएको छ। त्यसैगरी, सिसिटिभी पनि जडान गर्न शुरु गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.