सामान्य वार्डमा राखेर उपचार गरिँदै, १४ दिनपछि पुन:परीक्षण गरिने

|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये ११ जना भारतीय र १ जना नेपालीलाई कोरोना संक्रमण कुनै लक्षण देखा नपरी कोरोना लागेको चिकित्सकहरूले बताएका छन्।

उदयपुरबाट शुक्रबार राति नै विराटनगर लगेर कारोना उपचार केन्द्रमा भर्ना गरिएका १२ जनामा लक्षण देखा नपरेपछि सामान्य वार्डमा राखेर उपाचार गरिएको छ। 
सामान्यत कोरोना संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखापर्ने गर्छ, तर उनीहरूलाई त्यस्तो लक्षण देखा नपरेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्राले बताइन।

‘सामान्य वार्डमा राखिएका उनीहरूलाई थप समस्या भएमा आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी छ,’ उनले भनिन्, ‘कोरोना पोजेटिभ देखिए पनि संक्रमितहरुको अवस्था अतिसामान्य छ र चिकित्सकीय निगरानीमा राखिएको छ।’

साथै संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएका छन्। प्रारम्भिक परीक्षण र सोधपुछका क्रममा कुनै पनि लक्षण नदेखिएकोले उनीहरुलाई नियमित चिकित्सकको निगरानीमा राखिने छ। लक्षण देखिए त्यसअनुसार औषधि प्रयोग हुने डा. मिश्राले बताइन्। सामान्य वार्डमा रहेका उनीहरूको १४ दिनपछि पुनः परीक्षण गरिनेछ।

‘तत्काल लक्षण देखिएको छैन’, उनले भनिन्, ‘कुनै पनि समयमा समस्या पर्न सक्छ त्यसैले स्वास्थ्यकर्मी सचेत रहँदै तयारी अवस्थामा राखिएको छ।’ उनीहरूको निगरानीका डाक्टर तथा नर्सलाई ६–६ घण्टाको ड्युटी तय गरिएको छ। 

उनीहरुसँगै एम्बुलेन्समा विराटनगर लगिएका चार जनालाई भने टाँडीस्थित क्वारेन्टाइनमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमनर पहाडीले बताए। उनीहरुको कोरोना रिर्पोट नेगेटिभ आएको थियो।

उनीहरुलाई प्रारम्भिक अवस्थामा त्यहीअनुसार उपचार प्रक्रिया सुरु गरिनेछ भने अलि सिकिस्त अवस्था भए अक्सिजन दिएर उपचार गरिने र अझ समस्या भए भेन्टिलेटरसहितको आइसियू कक्षमा राखेर उपचार गरिने अस्पतालले स्रोतले जनाएको छ। 

साथै जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिवार एक विज्ञप्ति जारी गर्दै जिल्लावासीलाई शान्त संयमित भएर बस्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.