|

पर्सा : पर्सामा हिउँदे सिजनमा लगाइएको ३२ हजार पाँच सय हेक्टर जमिनको गहुँ, मकै, तरकारी र आँपमध्ये ७ हजार २२१ हेक्टर जमिनमा लागाइएको खेती २/३ दिनयता आएको हावाहुरीले क्षति गरेको छ। हावाहुरीले करिब एक अर्ब ३२ करोड रुपैयाँको क्षति गरेको आँकलन कृषि ज्ञान केन्द्र पर्साले जनाएको हो।

पर्साका १४ स्थानीयको प्रारम्भिक अध्ययनअनुसार करिब सात हजार २२१ हेक्टरको बाली नष्ट भएको अनुमान गरिएको छ। सबै स्थानीय तहहरुको विपत् व्यवस्थापन समितिलाई भनिसकिएकोले ठोस् आँकडा पनि छिट्टै संकलन हुने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए। उनले भने, ‘अहिलेको समष्टिगत विवरणअनुसार प्रतिहेक्टर, गहुँ, मकै, तरकारी र आँपको गणना गर्दा उक्त मूल्य बराबरको क्षति भएको आँकडा आउँछ।’

यो सिजनमा मुख्यगरी गहुँ, मकै, तरकारी, र आँपको खेती भएको छ। त्यसमध्ये गहुँ २६ हजार हेक्टर, मकै चार हजार हेक्टर, तरकारी दुई हजार हेक्टर र आँप ५०० हेक्टर गरी कुल ३२ हजार ५०० हेक्टरमा खेती भएको हो। तर, बाली उठाउने समय हुन लाग्दै गर्दा आएको प्रत्यासित हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको उनले बताए।

यसमध्ये गहुँ ६ हजार ३५० हेक्टर, तरकारी ५३० हेक्टर, मकै १९८ हेक्टर र आँप १४३ हेक्टर गरी सात हजार २२१ हेक्टरमा क्षति पुगेको अनुमान गरिएको प्रमुख डा. यादवले बताए।

स्थानीय तहअनुसार वीरगन्ज महानगरपालिकामा मात्र ६४५ हेक्टर बालीमा क्षति पुर्‍याएको अनुमान छ। वीरगन्जकोा ६०० हेक्टर गहुँ, ३० हेक्टर तरकारी, ५ हेक्टर मकै  र १० हेक्टर आँपमा क्षति पुगेको अनुनमान छ। यस्तै, पोखरिया नगरपालिकामा १५० हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पुगेको छ। यहाँ कुल ३ हजार २१४ हेक्टर जमिनमा खेती गरिएको थियो। 

त्यसै गरी पर्सागढी नगरपालिकामा ७६० हेक्टर खेतीमा क्षति भएको छ। पर्सागढीमा ४ हजार २८ हेक्टर जमिनमा बाली लगाइएको थियो । जिल्लाको अर्को नगरपालिका मध्येको बहुदरमाई नगरपालिकामा पनि ९०० हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पुगुको छ। यो पालिकामा कुल २ हजार ७४८ हेक्टर जमिनमा खेती गरिएको केन्द्रका प्रमुख यादवले बताए।
ठोरी गाउँपालिकामा ५९५ हेक्टर खेतीमा क्षति पुर्‍याएको छ। ठोरीमा कुल चार हजार १६७ हेक्टरमा खेती थियो। जराभवानी गाउँपालिकामा ६१० हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पुगेको छ। यस्तै, जगरनाथपुर गाउँपालिकामा ४५५ हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पुगेको छ। ्विन्ध्वासिनी गाउँपालिकामा लगाइएको ७५६ हेक्टरको बालीमा क्षति पुर्‍याएको छ। 

यस्तै, धोबिनी गाउँपालिकामा लगाइएको बालीमध्ये २०० हेक्टर गहुँबालीमा क्षति पुर्‍याएको छ। यो पालिकामा २ हजार २२२ हेक्टरमा गहुँवाली लगाइएको थियो। पकहामैनपुर गाउँपालिकामा पनि १०० हेक्टर गहुँबालीमा क्षति पुर्‍याएको छ। यो पालिकामा पनि कुल १ हजार ९८५ हेक्टरमा गहुँवाली मात्र लगाइएको कृषि ज्ञान केन्द्र पर्साको तथ्यांकमा उल्लेख छ।   

कालिकामाई गाउँपालिकामा १९० हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पुगेको छ । यो गाउँपालिकामा कुल १ हजार ८६१ हेक्टर जमिनमा खेती गरिएको थियो। त्यसै गरी छिपहरमाई गाउँपालिकामा ४०० हेक्टर गहुँबालीमा क्षति पुर्‍याएको छ। यो पालिकामा कुल २ हजार १९७ हेक्टर जमिनमा गहुँमात्र लगाइएको थियो। सखुवाप्रसौनी गाउँपालिकामा ८२० हेक्टर बालीमा क्षति पुर्‍याएको छ। यो पालिकामा कुल ३ हजार ९२५ हेक्टरमा विभिन्न बाली लगाइएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ। यसको साथै पटेर्वासुगौली गाउँपालिकामा ६४० हेक्टर बालीमा क्षति पुर्‍याएको छ। यो पालिकामा कुल ३ हजार ६०९ हेक्टरमा खेती गरिएको थियो। 

हरेक पालिकाको तथ्यांक र प्रतिहेक्टर क्षतिको विवरण हेर्दा गहुँ प्रतिहेक्टर तीन मेट्रिक टन, तरकारी १५ मेट्रिक टन र मकै ३५० मेट्रिक टन गरी १ अर्ब ३२ करोडको हाराहारीमा क्षति पुगेको  जिल्ला कृषि ज्ञान केन्द्रले अनुमान रहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.