धादिङ : धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ३ मा विद्युत सर्ट भई करेण्ट लाग्दा दुई जनाको ज्यान गएको छ, सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
सोमबार साँझ ६.३० बजेतिर थाँक्रे गाउँपालिका वडा नं ३ को बालुवाखर्कस्थित विद्युत ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि त्यहाँबाट वितरित प्रसारण लाईनमा हाइभोल्टेज भएर बस्तीको घर-घरमा करेन्ट सर्ट भएको स्थानीयले बताएका छन्।
हाइभोल्टेजका कारण करेन्ट लागेर थाँक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र बिचारीटोलका २३ वर्षीय सागर अर्यालको मृत्यु भएको हो। घाइते अवस्थामा उनीहरू दुवै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा धार्केमा मृत्यु भएको वडाअध्यक्ष अमित घलेले जानकारी दिए। दुर्घटनाको खबर आउनासाथ वडाअध्यक्ष अमित घलेलगायतको टोलीले दुईवटा एम्बुलेन्स गाउँ लगेर घाइतेहरुको उद्धार गरी उपचारमा पठाएका थिए।
सो दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन्। घाइतेहरु मध्ये रुपक अर्याल र निरमाया तामाङको अवस्था गम्भिर रहेकाले उनिहरुको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
अन्य घाइतेहरु ५२ वर्षीया धनकुमारी तामाङ, ७० वर्षीया तारासिंह तामाङ, ६४ वर्षीय कान्छी तामाङ, ३६ वर्षीया सानु तामाङ, ६३ वर्षीया ठूली तामाङका भुमेस्थान स्वास्थ्य चौकी अमर्खुमा उपचार भइरहेको महादेबबेसी प्रहरी चौकीले जानकारी दिएको छ। घटनाबारे बुझ्न महादेबबेसीबाट प्रहरी टोली गाउँ खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।
थाँक्रे गाउँपालिकाको यो क्षेत्रमा बर्षेनी जस्तो चट्याङले नोक्सानी पुर्याउने गर्छ। २०६३ सालमा पनि माइक्रोहाईड्रोमा चट्याङ लाग्दा गाउँभरी विद्युत सर्ट हुँदा चार जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। यो भन्दा पछि पनि बर्षेनी जस्तो यस क्षेत्रमा चट्याङले मानिस तथा चौपायाको ज्यान लिने गरेको स्थानीयले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।