अन्यत्रबाट फर्किएका श्रमिक पनि त्यहीँ रोकिए

|

काठमाडौं : नेपालमा लकडाउन हुनुभन्दा अगाडि पर्यटक भिसामा दुबई पुगेका एक हजार भन्दा बढी नेपाली नागरिक उतै अलपत्र परेका छन्‌। हवाई आवागमन बन्द भएपछि लामो समयसम्म त्यहीँ रहनुपर्दा उनीहरूको प्रवेशाज्ञा अवधि (भिसा म्याद) पनि सकिएको छ।

अलपत्र नेपालीहरू दुबईस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुबईमा कोरोना भाइरसको संक्रमित बढैसँगै दुई हप्ताको लागि लकडाउन गरिएको थियो। त्यसयता संक्रमित बढेसँगै लकडाउनमा अझै कडाई गरिएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले कामको शिलशिला र पर्यटक भिसामा गएका केही नेपालीहरु दुबईमै रहेको जानकारी दिएका छन्‌। नेपालमा लकडाउन हुनुभन्दा अघि गएका नेपालीहरू दुबई पुग्दा त्यहाँको अवस्था सामान्य नै रहेको, तर कोरोना महामारी फैलिएपछि कडाई गरिँदा नेपालीहरू समस्यामा परेकाे उनले बताए। 

पौडेलका अनुसार अहिले कोभिड या अन्य विविध कारणबाट दुबईमा रहेका १० देखि १२ हजार नेपाली समस्यामा परेका र उनीहरूको तत्काल उद्बार गर्न त्यहाँको दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ।

'अहिले दूतावासले त्यहाँ रहेको नेपालीहरुको अवस्था बुझिरहेको छ,' उनले भने, 'अहिले तत्काल जो जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित रहनको लागि नेपाल सरकार र त्यहाँस्थित दूतावासले आग्रह गरिरहेको छ।'

वृद्ध, विद्यार्थी, अन्य मुलुकबाट ट्रान्जिट भइ आएका र गर्भवती महिला समेत दुबईमै रोकिएको पौडेलले थाहाखबरलाई जानकारी दिए। त्यहाँ रोकिएका नेपालीलाई खान बस्नको लागि समेत समस्या भएको छ। दुबईस्थित नेपाली दूतावासमा दैनिक गुनासो गर्नेको संख्या बढिरहेको छ।  

परराष्ट्र मन्त्रालयका अनुसार कम्पनीबाट भिसा सकिएका र नेपाल जानको लागि ठीक परिरहेका बढी नेपालीहरु दुबईमा रोकिएको जनाएको छ। नेपाल र दुबईस्थित दुवैतर्फका विमानस्थल बन्द रहेकाले विदेशमा रहेका नेपाली आउन पाएका छैनन्। कोरोना संक्रमण त्रास रहेकोले तत्काल उद्दार गरिदिन आग्रह गर्दै दैनिकजसो दूतावासमा सयौंको संख्यामा नेपालीहरु जाने गरेको जानकारी प्राप्त भएको छ।

धेरैजसो नेपाली कामदारहरु यतिखेर तलब बिनै आफूले यसअघि काम गर्ने गरेको कम्पनीमा बसिरहेका छन्‌। तर ती कम्पनीहरूले खान र बस्नका लागि खर्च समेत नदिएको पीडित नेपालीहरूले दु:खेसो पोखेका छन्‌।

आफूसँग भएको सीमित रकमबाट खाने र बस्ने प्रबन्ध मुस्किलले मिलाइरहेको, तर रकम सकिएपछि खर्चविहिन हुँदा नेपाल फर्कने हवाई टिकट काट्नसमेत नसक्ने अवस्थामा रहेको बुझिएको छ। धेरै लामो समयसम्म काम र खर्चविहिन हुँदा कतिपय नेपाली कामदारमा मानसिक समस्या समेत देखिने दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको पौडेलले बताए।

खाने र बस्ने समस्याको हकमा दूतावासले दुबई सरकारका सम्बन्धित निकायसँग समन्वय गरी, सम्बन्धित कम्पनीसँग सम्पर्क गरी वा सो प्रभावकारी नभएको अवस्थामा त्यहाँका संघ-संस्थामार्फत सहयोग गरिरहेको जनाएको छ। मार्च महिनामा भिसा सकिने कामदारको म्याद स्वत: थप गरिने र नि:शुल्क हुने भएको छ।

कोरोना संक्रमित नेपालीहरुको संख्या बढेमा दूतावासले हेरविचार गर्ने भएको छ। समयमा उपचार नभएको गुनासो आउनासाथ तत्कालै दूतावासले त्यस्ता नेपाली कामदारको उद्दार गर्ने गरेको पौडेलले जानकारी दिए।

यतिखेर दुबईमा झण्डै चार हजार हाराहारीमा नेपालीहरू कामविहिन भएर बसेका छन्। सुरक्षा, सरसफाई, सवारीचालक र अन्य विभिन्न कम्पनीमा रहेकाहरू काम नै नगरी बसिरहेका छन्‌। पौडेलका अनुसार काम विहिन सबै कामदारले नेपाल फर्काउनक लागि दूतावाससँग सम्पर्क गरिरहेका छन्‌।

कोरोना महामारी सुरू हुनुभन्दा अगाडि कम्पनी छोडेर नेपाल फर्कने तयारीमा रहेका र भिसा अवधि सकिएका नेपालीहरूले खाना र बस्ने व्यवस्था आफैँ गर्नुपर्ने भएकोले उनीहरू बढी समस्यामा परेका छन्‌। दुबईमा प्रशिक्षार्थी विद्यार्थीको रूपमा अध्ययनरत रहेकाहरूलाई पनि खाने र बस्ने समस्या भएको जानकारी आएको मन्त्रालयले जानकारी दियो।

दुबईमा अलपत्र नेपालीहरूलाई स्वदेश फर्काउन या खानेबस्ने प्रबन्ध मिलाउनका लागि दूतावासलाई पत्राचार गरिसकेको मन्त्रालयका प्रवक्ता पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.