|

काठमाडौ :  काठमाडौं उपत्यकाका तीनवटै मूख्य कारागारमा नयाँ कैदीबन्दीलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरसको संक्रमणसँगै जोखिम बढेकोले नयाँ कैदीबन्दीलाई क्वारेन्टाइनमा राखिएको हो।

लकडाउन अवधिभरमा काठमाडौं उपत्यकाको कारागारमा ११४ नयाँ कैदीबन्दी थपिएका छन्। कोरोना (कोभिड-१९) को सम्भावित संक्रमणप्रति सतर्कता अपनाउँदै काठमाडौं उपत्यकाका तीनैवटा मूख्य कारागारमा उनीहरुको आफन्तसँग पनि एक महिना अगाडिदेखि भेटघाट गर्न दिइएको छैन।

सुन्धारास्थित केन्द्रीय कारागारमा लकडाउन अवधिभरमा ८१ सय जना नयाँ कैदीबन्दी थपिएको कारागारका जेलर लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिए। उनका अनुसार नयाँ थपिएका कैदीबन्दीमा ७७ पुरुष र ६ जना महिला छन्। नयाँ कैदीबन्दीलाई कारागार पछाडिको दुईवटा काराखाना भवनमा राखिएको छ। '२१ दिनसम्म उनीहरुलाई त्यहाँ राखेर भित्र राखिनेछ,' थाहा खबरसँग कुरा गर्दै उनले भने, 'कोभिड-१९ को लक्षण देखिएमा बाहिरबाट उपचार गर्न लगिन्छ।' १०० जनाको क्षमताको क्वारेन्टाइन बनाइएको उनले बताए।

सुन्धारा कारागारमा तीन हजार १६७ जना कैदीबन्दी छन्। दुई हजार ७६९ पुरुष, ३९८ महिला र १० जना आश्रित बालबालिका रहेका छन्। ललितपुरको नख्खु कारागारमा २० जना कैदीबन्दी थपिएका छन्। नयाँ कैदीबन्दीलाई कारागारको छुट्टै भवनमा क्वारेन्टाइनमा राखिएको जेलर मोहन अधिकारीले बताए।

नयाँ कैदीबन्दीलाई जिल्ला सरकारी वकिल कार्यालयका आदेश अनुसार स्वास्थ्य परीक्षण गरेर मात्र राखीएको उनले जानकारी दिए। कारागारमा २० जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको उनले बताए। 'कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्नको लागि स्वास्थ्य विभागलाई किट मगाएको छौं,' उनले भने, 'पत्र पठाएपनि पठाएपनि किट पठाएका छैनन्।' नयाँ कैदीबन्दीलाई सबै स्वास्थ्य परीक्षण गरेर मात्र राखिएको उनको भनाइ छ। कारागारमा एक हजार ६२५ कैदीबन्दी रहेका छन्।

नयाँ कैदीबन्दीहरु लकडाउन हुनुभन्दा अगाडिदेखि हिरासतमा बसेर आएको हुनाले त्यस्तो डराइहाल्नुपर्ने अवस्था नरहेको डिल्लीबजार कारागारका जेलर अरुण पोख्रेलले बताए। उनका अनुसार नयाँ १३ कैदीबन्दी थपिएका छन्। नेपालमा कोरोना संक्रमित देखिनुभन्दा अगाडि ३० दिनदेखि प्रहरीको सम्पर्कमा रहेका थिए। डिल्लीबजारमा ६२४ कैदीबन्दी रहेका छन्।

हाल नयाँ कैदीबन्दीलाई कारागारको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए। 'त्यस्तो केही पनि समस्या देखिएको छैन,' उनले भने, 'समस्या देखिएमा कारागारको अस्पतालमै उपचार गरिन्छ।' बन्दीहरुमा सामान्य समस्या रक्तचाप बढ्ने जस्तो समस्या रहेको उनले बताए। उनले भने, 'महिना दिन भन्दा बढी  समयसम्म परिवारका सदस्यसँग सम्पर्कमा नआएकोले चिन्ताले पनि रक्तचाप बढेको हुनसक्छ।'

पहिले परिवारका सदस्यहरु भेटन आउदा रुघाखोकी, मौसमी रोग लाग्ने गरेको भएपनि अहिले संक्रमितको जोखिम बढेपछि भेटघाट बन्द गरेकोले अहिले सो समस्या नदेखिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.