|

पाल्पा : कोरोना भाइरस (कोभिड–१९) कारण स्थगित वार्षिक परीक्षाको नतिजा दिव्यज्योति नमुना माध्यमिक विद्यालयले सार्वजनिक गरेको छ। माथागढी गाउँपालिकाको सराइस्थित विद्यालयले भिडियो लाइभ र वेबसाइटमार्फत शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाफल प्रकाशन गरेको हो।

विश्वभर कोरोना भाइरसको महामारी फैलिएको बेला विद्यार्थी र अभिभावकलाई नतिजा थाहा पाउन सहज होस् भनेर प्रविधिको प्रयोगमार्फत वार्षिक परीक्षाको नजिता सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए।

‘लकडाउनका कारण सम्पूर्ण शैक्षिक गतिविधि बन्द भएका छन्’ उनले भने, ‘उत्तीर्ण भएर जाने माथिल्लो कक्षाको पढाइलाई केही सहज होस् भन्ने उद्देश्यले इन्टरनेटको प्रयोगमा भिडियो लाइभमार्फत नतिजा सार्वजनिक गरेका छौं। सोही नतिजा विद्यालयको वेवसाइटमा समेत प्रकाशन गरिएको छ।’

विद्यालयले आधुनिक प्रविधिको प्रयोगमार्फत कक्षा नर्सरी, एलकेजी, युकेजी, कक्षा १, कक्षा, २, ३, ४, कक्षा ६, ७ र कक्षा ९ को नतिजा सार्वजनिक गरेको छ।

कक्षा नर्सरी, एलकेजी, युकेजी, कक्षा १ को नजिता दिलमाया राना, कक्षा २, ३ र ४ को नजिता शिक्षिका सकुन्तला पौडेल, कक्षा ६ र ७ को गणेश पाण्डेय र कक्षा ९ को नतिजा शिक्षक राधेश्याम ज्ञवालीले सार्वजनिक गरेका हुन्। कक्षा ५ र कक्षा ८ को परीक्षा भने माथागढी गाउँपालिकाले लिएकाले नतिजा सार्वजनिक हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखिराम रानाले बताए।

सबै विद्यार्थी उत्तीर्ण

विद्यालयले सार्वजनिक गरेको नतिजामा परीक्षा दिन नसकेका बाहेक सबै विद्यार्थीहरू उत्तीर्ण भएका छन्। विद्यालयको फेसबुक पेजबाट लाइभ प्रशारण भएको थियो। साथै वेवसाइट डब्लु ड्रब्लु डब्लु दिव्यज्योति आइडियाब्रिड डट नेटबाट समेत नजिता सार्वजनिक गरिएको छ। वेवसाइटमा विद्यार्थीको नाम, कक्षा र कुल जिपिए सहितको नतिजा प्रकाशन गरेको छ। घरमै बसेर पनि नतिजा थाहा पाउँदा विद्यार्थी र अभिभावक खुसी भएका छन्।

लकडाउनका कारण कोही पनि बाहिर निस्कने अवस्था नरहेकाले विद्यार्थीको आगामी दिनका पढाइमा सहज बनाउन प्रविधिको प्रयोगबाट नतिजा सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रानाले बताए। पछिल्लो समयमा अधिकांश विद्यार्थी र अभिभावक इन्टरनेटको पहुँचमा हुने भएकोले सामाजिक दूरी कायम गरेर नतिजा सार्वजनिक गरेको उनले बताए। यसरी नतिजा थाहा पाएपछि विद्यार्थीले माथिल्लो कक्षाको सामान्य तयारी गर्न पाउने विद्यालयको ठहर छ।

दिव्यज्योति नमुना माविमा हाल एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। यसअघि तानसेनको मदनपोखरास्थित दमकडा नमुना माविले समेत फेसबुक पेजबाट लाइभ र वेवसाइटबाट समेत नतिजा सार्वजनिक गरेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.