|

बारा :  ८५ वर्षीय लिलानाथ अधिकारी धादिङ्गको साविक किरानचोक गाविसबाट आठ अघिमात्र तराई झरेका हुन्। अहिले उनी बाराको निजगढ १२ मा बसोबास गर्छन्‌।

पहाडमा खेती किसानी गरेर उर्जावान समय बिताएका उनी अहिले पनि निकै फूर्तिला देखिन्छन्‌। खेतमा बाख्रा चराउन निस्कन्छन्‌। कोरोना संक्रमण फैलिएपनि उनलाई यसबारे खासै जानकारी छैन। न उनले मास्क लगाएका छन्‌, न त सेनेटाइजरजस्ता जिवाणु मार्ने भनिएका सामग्री नै प्रयोग गरेका छन्‌। पछिल्लो महामारी फैलाउने कोरोना भाइरसबारे सोध्दा उनी भन्छन्‌, 'कोरोना भनेको के हो, मलाई थाहा छैन।'

नयाँ पुस्ताले महामारीकै कारण सम्भवत: पहिलोपटक लकडाउन भोगिरहेका छन्‌। तर लिलानाथ अधिकारीले आजभन्दा ७४ वर्षअघि नै यो सकस भोगिसकेको हुन्‌। 

वि.सं. २००३ सालमा नेपालमा हैजाले महामारीको रूप लियो। अहिले संक्रमण फैलिन नदिन लकडाउन गरिएजस्तै उतिबेला पनि एक गाउँबाट अर्को गाउँ जाने बाटो बन्द गरियो। ‘पहिला अहिलेजस्तो बन्द भन्ने हुने थिएन,’ उनले स्मरण गरे, 'तर गाउँ छेक्न काँडाको बार लगाइन्थ्यो।’ 

पहाडमा तराई र शहरमा जस्तो बाक्लो बस्ती हुँदैन। पहाडका थुम्को-थुम्कोमा फाट्टफुट्ट घरहरू हुन्थे। एउटा घर र अर्को घरको दुरी पनि टाढै हुने। एक गाउँबाट अर्को गाउँ पुग्न पनि धेरै समय लाग्ने।

‘तीन वटा गाउँ थियो : वल्लो, पल्लो र माझको गाउँ,’ उनले भने, 'वरपरका गाउँमा झण्डै सखाप बनायो, तर माझको गाउँलाई हैजाले भटेन।’ वल्लो र पल्लो गाउँका मानिस माझको गाउँमा नआउने र यताका मानिसलाई पनि अर्को गाउँमा जान नदिँदा हैजा फैलन नपाएको अधिकारी सम्झन्छन्‌।

अरु गाउँमा धेरै मान्छे मरे। १०-१५ दिनमा हरायो। त्यसपछि आउने-जाने क्रम फेरी सुरू भयो। वि.सं. १९९२ सालमा जन्मेका उनी त्यतिबेलामा ११ वर्षका थिए

उनले भने, 'तर मलाई सबै याद छ, मरेकाहरुको शव पनि व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो, मलामी जाने मानिससमेत नपाउने अवस्था निम्तिएको थियो, शव कस्ने मानिससमेत नपाएपछि मानिसहरूले मृतकको शरीरलाई यता-उता फालिदिए, असारको महिना भएकाले पानी परेपछि भलबाढीले शवलाई कता-कता पुर्‍यायो कुन्नि!'

सात सालको अनिकाल 

२००७ सालमा बालीनाली नष्ट भएपछि अनिकाल ब्यहोर्नुपरेको अनुभव सुनाए। साउनको महिनामा ठुलो संख्यामा आएका किरा-फट्यांग्राले मकै, तरकारी र घाँसपात समेत खाएर नष्ट पारेका कारण खाद्यान्‍नको अभाव भएको थियो।

घामको प्रकाश नै छेक्ने गरी आएका किरा-फट्याङ्ग्राले सल्लोदेखि घाँसपातका बिरुवाका पातसमेत बाँकी राखेनन्‌। अधिकारी भन्छन्‌, 'किसानहरूले त्यतिखेर फैलिएको सलह (फौजीकिरा) मार्न मकैबारीमा आगोको राँको लगाउने गर्थे।'

दादुराले जेठी पत्नी गुमाए

उनले दुई पटक घरबार गरे। पहिलो घरबार १८ वर्ष लाग्दै गर्दा गरे, तर तीन वर्षमा नपुग्दै पत्नी गुमाए। माइत गएकी पत्नी दादुरा रोगका कारण उपचार नपाएरै मरिन्। ‘उतिबेला दादुरा लागेपनि अस्पताल जाने चलन थिएन्, उनलाई दादुरा आएछ, घरतिरै उपचार गरिएछ।’ उनीले पत्नीवियोगका बेला अनुहारसमेत हेर्न पाएनन्।

‘वर्षाको बेला थियो, डुंगा चढेर खोला पार हुनुपर्ने!’ उनले सम्झिए, 'जान सकिएन, मृत्यु भएको खबर मात्र पाइयो।’ त्यसको दुई वर्षपछि जेठा ससुराकी छोरी (साली) सँग दोस्रो घरजम गरे। कान्छी पत्नीको पनि तीन वर्षअघि निधन भइसकेको छ। आफूले भोगेका अनुभवहरू सुनाउँदै अधिकारीले जीवनको रथ अघि बढाइरहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.