|

म्याग्दी :  बेनी नगरपालिका–३,भकिम्लीको जयन्ती माविकी छात्रा सपना विकको आमाबुबासँग सामान्य मोबाइलसमेत छैन।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन सरकारले अन्तिम समयमा एसइई परीक्षा स्थगित गरेपछि घरमै तयारीमा जुटेकी सपनालाई अनलाइन पद्धतिबाट हुने अध्यायन–अध्यापनका बारेमा जानकारी छैन।

आर्थिक रुपमा विपन्न परिवारमा जन्मिएकी सपनाले चाहेर पनि अनलाइन कक्षामा सहभागी हुन सक्दिनन्। सपनाका भाई कुलबहादुरले ९ कक्षा उत्तिर्ण गरेका छन्। जिल्ला सदरमुकाम बेनीबाट करिब १५ किमिको दुरीमा रहेको भकिम्लीकै भुकभुक गाउँका टोपेन्द्र सार्कीको अभिभावकसँग पनि मोवाइल छैन्।

रोजगारका लागि भारत गएका बुबा बेपत्ता छन्। टोपेन्द्रकै साथी सुदिप जिसीको आमा राधिकाले समेत आफन्तको फोन आउँदा छिमेकीको घरमा जानुपर्ने बाध्यता रहेको छ।

एसइईको तयारीमा रहेका ४ जना विद्यार्थीको अभिभावक मोवाइलविहिन भएकाले कक्षा सञ्चालनमा समस्या भएको विब्यस अध्यक्ष समेत रहेका वडा अध्यक्ष पदम पुनको भनाई छ।  ‘ग्रामिण क्षेत्रका विद्यार्थीलाई तत्काल यो प्रविधिबाट पढाउन मुस्किल छ,‘अनलाइन माध्यमबाट बालबालिकालाई घरमै राखेर पढाउन खोज्दा अर्को दुर्घटनाको जोखिम छ’, अध्यक्ष पुनले भने।

जिल्लाको मंगला गाउँपालिका–१, कुहुँको दिपशिखा माविमा कक्षा ९ मा अध्ययनरत रुपबहादुर किसानका बुबा रूपबहादुरको समस्या पनि एउटै छ। विद्यालयमा आवश्यक प्रविधि, इन्टरनेटको सुविधा र प्रविधियुक्त शिक्षक भएर पनि अभिभावकको समस्याले अनलाइन कक्षा सञ्चालनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताए।

‘अभिभावकसँग मोवाइलन नै छैन्, सबैलाई सहज हुने गरी अनलाइन कक्षा सञ्चालन गर्न मुस्किल छ’, डा.खत्रीले भने। बोल्ने मोवाइल नै नभएका अभिभावकलाई अनलाइन कक्षाको हल्ला गरेर थप मनोवैज्ञानिक समस्या देखिने सम्भावना भएकाले अनलाइन कक्षाको तयारी नै नगरेको उनको भनाई छ।

सामाजिक सञ्जालमा सहरबजार केन्द्रित निजि तथा केही सामुदायिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको प्रचारप्रसार गरेपछि ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयले ‘डिजिटल लर्निङ’ गराउने प्रयास गरेपनि विपन्न अभिभावक प्रविधिको पहुँच बाहिर भएकाले समस्या भएको शिक्षकको भनाई छ।

 अनलाइन शिक्षणका लागि गरिबीको रेखामुनी रहेका अभिभावकको समस्या समाधान गर्नुपर्ने विद्यालयका प्रधानाध्यापकहरूको भनाई छ। ‘मोवाइल, इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई अनुपस्थित लेखेर कक्षा सञ्चालन गर्न सकिदैन्। शतप्रतिशत सम्भव भए अन्य समयमा पनि सञ्चालन गर्न सकिन्छ’, जनप्रिय मावि दरबाङका प्रधानाध्यापक दिवाकर सुवेदीले भने।

उनले अनलाइन शिक्षण तत्काल असम्भव नभएको बताए।उनले अनलाइन पढाइका लागि सरकारले आवश्यक सम्पूर्ण स्रोतको व्यवस्थापन गरे शिक्षकलाई समस्या नभएको बताए। उनले हतारमा कक्षा सञ्चालन गरिए विद्यार्थीमै विभाजनको रेखा कोरिने दावि समेत गरे।

अनलाइन पढाइ उपयोगी भएपनि विद्यार्थीको घरमा कम्प्युटर, ल्यापटप, स्मार्टफोन, रेडियो, टेलिभिजन समेत नहुदाँ समस्या भएको प्रधानध्यापक सुवेदीको भनाई छ। जिल्लाका ६ वटै स्थानीय तहसँग अनलान कक्षाका बारेमा ठोस तयारी नै छैन।

जनप्रतिनिधि राहतमा ब्यस्त हुदाँ पालिकास्तरमा रहेका शिक्षाका कर्मचारीले लकडाउन लम्बिएको अवस्थामा नयाँ शैक्षिक सत्र सञ्चालनको ठोस तयारी नै गर्न सकेका छैनन्। वर्षमा २ सय २० दिन विद्यालयमा पठनपाठन हुनुपर्ने अवस्थामा लकडाउन छिट्टै खुल्ने सम्भावना समेत नभएकाले अभिभावक समेत चिन्तित छन्। जिल्लामा संस्थागत र सामुदायिक गरी ७१ विद्यालायका २१ सय ९७ विद्यार्थी एसइईमा सहभागी हुदैछन्।

ग्रामीण क्षेत्रमा न्यून संख्यामा मात्रै विद्यार्थीसँग इन्टरनेट सुविधा रहेकाले करिव ७० प्रतिशत विद्यार्थीले अनलाइन शिक्षामा नियमित पहुँचको सम्भावना न्यून रहेको शिक्षाका जानकारहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.