|

पाल्पा : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले त्रसित भएर धेरै युवा गाउँघर फर्किएका छन्। अहिले पनि आउने क्रम चलिरहेको छ। यसरी ठूलो संख्यामा गाउँ फर्किएका युवालाई आगामी दिनमा गाउँमै टिकाइराख्न पाल्पाका स्थानीय तहले विभिन्न जुक्ति खोजिरहेका छन्। 

युवालाई गाउँमै टिकाइराख्नसके समाजको विकासमा टेवा पुग्ने यहाँका स्थानीय तहको ठम्याइ छ। पाल्पाका १० वटै स्थानीय तहमा गरी एक हजारभन्दा बढी युवा गाउँ फर्किएका छन्। गएको चैत महिनाको तथ्यांकअनुसार जिल्लाभर ८ सय ३५ जना युवा गाउँ फर्किएर आएका थिए। 

पछिल्लो समयमा त्यो संख्या बढेर एक हजार नाघेको छ। अहिले पनि भारतबाट फर्किएका कतिपय युवा क्वारेन्टाइनमा बसिरहेका छन्। यसरी लकडाउनमा गाउँ फर्किएर आएका युवालाई आगामी दिनमा गाउँमै कसरी टिकाइराख्न सकिन्छ? भनेर यहाँका स्थानीय सरकारले विभिन्न योजनाको तयारी गरिरहेका छन्। 

यतिबेला आफ्नो स्थानीय तहबाट वैदेशिक रोजगारमा रहेका युवाको तथ्यांक लिने कामसमेत गरिरहेका छन्। अब पनि गाउँ फर्कन चाहने युवाको तथ्यांक बटुल्ने काम पनि भइरहेको स्थानीय तहका प्रमुखहरुले बताएका छन्।

केही स्थानीय तहले गाउँ आइसकेका युवालाई सामान्य अनुदानसहित कार्यक्रम सञ्चालन गरिसकेका छन्। केहीले भने व्यावसायिक योजनाको तयारी गरिहेका छन्।  
तानसेन नगरपालिकाको के छ तयारी 

गाउँमा फर्केर आएका युवालाई गाउँमै टिकाइराख्न तानसेन नगरपालिकाले आर्थिक उपार्जनसम्बन्धी प्याकेजमै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।बैंककमार्फत ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराएर युवालाई व्यवसायमा जोड्ने योजना रहेको नगरप्रमख अशोककुमार शाहीले बताए। 

सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने विषयमा तानसेनमा रहेका विभिन्न बैंकसँग सहमति गरिसकेको उनले बताए। ‘पर्यटन, कृषिमा आधारित उद्योगमा यहाँका युवालाई काम गर्ने अवसर मिलाउने छौं’, शाहीले भने, ‘व्यवसाय गर्न चाहने युवालाई व्यवसायको आधारमा अनुदान साथै जमिन भाडामा लिदा तिर्नुपर्ने रकमसमेत नगरपालिकाले तिर्नेछ।’ 

उनका अनुसार तानसेनमा उन्नत जातका बिउ उत्पादनको पकेट क्षेत्र निर्माण गरेर युवा परिचालन गर्ने, विभिन्न बालीसम्बन्धी प्राविधिक (रिसोर्स पर्सन) लगायत तालिम सञ्चालन गरी युवालाई सीपमा दक्ष बनाउन नगरपालिकाले सहयोग गर्ने छ। 

रामपुर नगरपालिकाको तयारी यस्तो छ

रामपुर नगरपालिकाले गाउँमा आएका युवालाई सक्रिय बनाएर नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने योजना बनाएको नगरप्रमुख रमण थापाले बताए। 
बेसार, आलुलगायत तरकारी व्यवसायलाई प्राथमिकता दिएर सिंगो नगरभित्र ‘एक वडा एक उत्पादन’ अभियान सञ्चालन गर्ने योजना उनले सुनाए।

कुनै पनि व्यवसाय गर्ने युवालाई नगरले आर्थिक, प्राविधिक सहयोग गर्ने उनले बताए। ‘समूहमा व्यावसाय गर्ने युवालाई १२ लाखसम्म अनुदान दिने र ५० लाख ऋणको ब्याजमा अनुदान नगरपालिकाले दिनेछ’, नगरप्रमुख थापाले भने, ‘किसानलाई सहजीकरण गर्न प्रत्येक वडामा १०÷१० जना जेटिएको व्यवस्था मिलाइने छ।’ यहाँ १ सय ५८ जना युवा लकडाउनमा गाउँ फर्किएका छन्। 

रम्भा गाउँपालिकाले पशुपालनमा जोड दिने

रम्भा गाउँपालिकाले कृषि र पशुपालन व्यवसायमा युवालाई आबद्ध गराउने योजना अगाडि बढाएको छ। बाँझो जमिनमा सामूहिक व्यावसाय गर्ने युवालाई १० लाखसम्म अनुदान दिने गाउँपालिका अध्यक्ष विष्णप्रसाद भण्डारीले बताए। 

उनका अनसार गाई, भैंसीपालन व्यावसाय गर्ने युवालाई १÷१ लाख अनुदान दिइने छ। ‘रैथाने बेसार, पिंडालु, कुरिलो खेती गर्ने युवालाई कम्तीमा ३० हजार अनुदानको व्यवस्था हुनेछ’, उनले भने, ‘बाख्रा, बंगुर, स्थानीय जातका कुखुरापालन व्यवसाय गर्ने युवालाई व्यवसायको आधारमा अनुदानसहित अन्य सहयोग गर्ने छौं।’ रम्भा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा तरकारीसहित लिची, कागती उत्पादनका लागि उचित ठाँउ मानिन्छ। यहाँ ६९ जना युवा बाहिरी देशबाट फर्किएका छन्। 

रिब्दीकोटले क्षमताअनुसार सीप सिकाउने

रिब्दीकोट गाउँपालिकाले युवाको क्षमताअनुसार सीप सिकाउने सोच बनाएको छ। अहिले गाउँमा आएका युवाको क्षमता र सीपको तथ्यांक लिने काम भइरहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। 

सीप भएका युवालाई काम दिने उनले बताए। ‘ग्रामीण भेग रहेको यो गाउँपालिकामा तरकारी र पशुपालन व्यवसायको प्रचुर सम्भावना छ’, उनले भने, ‘चरिचरणका लागि प्रशस्त जंगल भएकाले बाख्रापालन व्यवसायमा युवालाई प्रोत्साहित गर्ने कार्यक्रम संञ्चालन गर्ने छौं।’ 

उत्पादित बस्तुको बजार व्यावस्थापन गाउँपालिले गर्ने उनले बताए। बाँझिएका जमिनमा खेती गर्ने युवालाई बीउ पुँजीको रूपमा आर्थिक अनुदान दिने अध्यक्ष जिसीले बताए। 

युवाको चाहनाअनुसार कार्यक्रम ल्याइने 

युवाको चाहनाअनुसार व्यवसायमा सहयोग गर्ने बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। ‘विदेशबाट फर्किएका युवाको क्षमता के छ? सीप के छ? अहिले अध्ययन भइरहेको छ’, उनले भने, ‘वडास्तरमा युवाबीच अन्तक्र्रिया गरेर उनीहरूले दिएको सल्लाहअनुसार योजना निर्माण गर्नेछौं।’ 

बगनासकाली गाउँपालिका दूध उत्पादनका लागि राम्रो मानिन्छ। गाई, भैंसीपालन व्यवसायमा युवालाई प्रेरित गर्ने खालको कार्यक्रमलाई प्राथमिकता दिइने अध्यक्ष बस्यालले बताए। यहाँ ८५ जना युवा भारत सहित तेस्रो मुलुकबाट फर्किएका छन्। 

तिनाउमा पनि कृषि र पशुपालन 

तिनाउ गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट ५० जना युवा गाउँमा फर्किएका छन्। उनीहरूलाई आगामी दिनमा कृषि र पशुपालन व्यावसायमा आबद्ध गराउने सामान्य योजना बनाएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए। 

आगामी आर्थिक वर्षमा लकडाउन खुलेपछि पनि गाउँमै बसेर माछापालन, भैंसी, बाख्रापालन र मौसमी तथा बेमौसमी तरकारी उत्पादनलगायत व्यवसाय गर्ने युुवालाई गाउँपालिकाले आर्थिक तथा प्राविधि सहयोग गर्ने उनले बताए।  

बाँझाे जमिनमा खेती गर्नेलाई अनुदान दिइने

रैनादेवी छहरा गाउँपालिकाले तत्काल बाँझो जमिनमा  खेती गर्ने युवालाई अनुदान दिने भएको छ। कागती, सुन्तलालगायत फलफूल खेती गर्ने युवालाई प्रतिरोपनी २ हजार र तरकारी र अन्नबाली खेती गर्नेलाई प्रतिरोपनी ३ हजार अनुदान दिइने गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए। तत्काल आम्दानी दिने र दीर्घकालीन व्यवसायमा यहाँका युवालाई जोड्ने कार्यक्रम ल्याइने योजना रहेको उनले बताए। लकडाउनपछि यहाँ ३ सय ३७ जना युवा गाउँ फर्किएका छन्। 

पूर्वखोलाको योजना कृषि र बाख्रापालन 

पूर्वखोला गाउँपालिकाले कृषि र बाख्रापालनमा युवालाई प्रोत्साहित गर्ने भएको छ। बाँझो जमिनमा खेती गर्ने युवालाई प्रतिरोपनी ३ हजार अनुदान दिने र फलफूल खेती गर्नेलाई प्रतिविरुवा ५० प्रतिशत अनुदान दिने गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। 

‘तत्काल विशेष योजना बनिसकेको छैन’, उनले भने, ‘मकैबिउ उत्पादनको पकेट क्षेत्र निर्माण गर्ने योजना गाउँपालिकाको छ, यो काममा युवालाई जोड्ने छौं।’ बाख्रापालन व्यावसायमा युवालाई प्रेरित गर्ने उनले बताए। यहाँ १ सय ९१ जना युवा लकडाउनपछि फर्किएर आएका छन्। 

नयाँ तपरिकाले परम्परागत खेती गरिने

माथागढी गाउँपालिकामा ९० प्रतिशत नागरिक कृषिमा निर्भर छन्। मकै, कोदो, धान खेतीमा युवालाई आबद्ध बनाउने योजना गाउँपालिकाको रहेको अध्यक्ष सन्तोष थापामगरले बताए। उत्पादनमा आधारित अन्नबाली बिक्री गर्दा प्रतिकिलो अनुदान दिइने उनले बताए। 

यहाँ काँक्रा उत्पादनको लागि राम्रो जमिन भएकोले गाउँ फर्किएका अधिकांश युवालाई यो व्यवसाय गर्न आग्रह गर्ने अध्यक्ष थापाले बताए। आवश्यकता अनुसार मापदण्डमा रहेर काम गर्ने युवालाई गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ। लकडाउन घोषणा भएपछि यो गाउँपालिकामा ८४ जना युवा फर्किएका छन्। 

युवालक्षित निस्दी गाउँपालिका, अदुवा प्रशोधन केन्द्र बनाइने

निस्दी गाउँपालिकाले युवाहरूलाई लक्षित गरेर आगामी आर्थिक वर्षमा बढी बजेट विनियोजन गर्ने भएको छ। यहाँ आएका युवाको सीप र क्षमताको आधारमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले बताए। आयमूलक कामसहित विकास निर्माणका काममा समेत युवालाई परिचालन गर्ने योजनामा आफू रहेको उनले बताए। 

आगामी आर्थिक वर्षमा अदुवा प्रशोधन केन्द स्थापना गर्ने र धेरै युवालाई यहि व्यावसायमा जोड्ने अध्यक्ष सारूले बताए। लकडाउनपश्चात यहाँ ८९ जना युवा फर्किएर आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.