जाजरकोट : उमेरले ७१ वर्ष नाघेकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका-११ की रामकुमारी पुन ‘लकडाउन’ लागिरहेका बेला पनि सडकमै छिन्।
फुलेको कपालसँगै बढ्यौलीपनले चाउरी परेको शरीर लिएर रामकुमारी बलजफ्ती सडक किनारमा रहेको गिट्टीसँगै पौठेजोरी खेल्छिन्। यसका पछाडीको बाध्यता उही हो : दैनिक छाक टार्नुपर्ने सकस।
रामकुमारीका दुई भाई छोराहरु कमाई गर्न भारतको गडवाल पुगेका छन्। ‘लकडाउन’का कारण छोराहरु आउन नपाएपछि नाती र बुहारीका साथ सडकमा गिट्टी कुट्न बाध्य भएको उनी बताउँछिन्।
उनी भन्छिन्, 'पेटले दु:ख दिएको नानी! भोको पेटमा बस्न सकिँदैन, बाँच्नका लागि बुढेसकालमा सडकमा छु। सुरुका दिनमा गाडीहरु धेरै गुड्दा धुवाले गिट्टी कुट्न समस्य थियो, अहिले गाडी चल्दैनन्, ढुक्कका साथ काम गर्न पाइएको छ।'
आफ्नो बारीमा उत्पादन भएको अन्नले तीन महिनामात्र खाना पुग्ने बताउँदै पुनले पेट पाल्नका लागि वर्षेनी अर्काको काम गर्नेदेखि गिट्टी कुट्नेसम्मका काम गरिरहेको बताइन्। उनी भन्छिन्, 'गरिबीका कारण छोराहरु पढाउन सकिएन, अब नातीनातिनाहरु पढाउने धोको छ।'
रामकुमारी झैं पानसरी पुन पनि एक हप्तादेखि जाजरकोट-डोल्पा सडकखण्डको रिटामा गिट्टी कुट्दै आएकी छिन्। रोजगारीका लागि भारत गएका उनका श्रीमानको दुई वर्षअघि जम्मु-कस्मीरमै निधन भएको थियो। तीन बालबच्चाकी आमा ३६ वर्षीय पानसरी घरमा खानका लागि अन्न नभएपछि गिट्टी कुट्न आएको बताउँछिन्। आर्थिक जोहो गर्न मुस्किल भएपछि जेठो छोरा कालीबहादुर पुन १४ वर्षको उमेरमै पढाई छाडेर कमाईका लागि भारत गएका छन्। पानसरी भन्छिन्, 'आफ्नो छोराको उमेरका सबैजना विद्यालय जान्छन्, तर मेरो छोरा भारतमा कमाई गर्न गएको छ, मेरो मन रोएर आउँछ, तर के गरौँ?'
रामकुमारी र पानसरी त गरिबीमा पिल्सिएका प्रतिनिधिपात्र मात्रै हुन्। उनीहरूजस्तै दर्जनौं विपन्न नागरिकहरू यतिखेर जाजरकोट-डोल्पादेखि जाजरकोट सदरमुकाम हुँदै जुम्ला जोड्ने सडक तथा मध्यपहाडी लोकमार्गमा गुजारा चलाउन गिट्टी कुट्दै गरेका भेटिइन्छन्। पसिना बगाउँदै सकिनसकि कुटेको गिट्टी प्रतिबोरा ४० रुपैयाँमा बेचेर यहाँका निम्नवर्गीयहरूले छाक टारिरहेका छन्।
गाउँका हुनेखानेको जमिनमा गहुँ पाकेको छ। कत्तै मकै रोप्ने तयारी भइरहेको छ। निम्न वर्गका मानिसहरु उनीहरुकै जग्गामा मकै रोप्नेदेखि गहुँ काटेर भित्र्याउने सम्मका काममा खटिइरहेका छन्। दैनिक ज्यालामा गोरु किनेर मकै राप्ने काम गरिरहेको नलगाड नगरपालिका-७ काँडादल्लीका प्रताप गिरीले बताए। प्रतिदिन गोरुको सहायताले जग्गा जोत्दा दुई हजार रुपैयाँ लिने भएकाले थोरै जमिन भएका विपन्न किसानलाई खेती लगाउन नै समस्या भइरहेको छ।
खाद्यान्नको जोहो गर्नअर्काको जमिन जोत्नेदेखि गिट्टी कुट्ने काम गरिरहेकाहरू भन्छन् : स्थानीय सरकारले राहतस्वरुप उपलब्ध गराएको २५ केजी चामल सकियो, पेट भर्नका लागि सडकमै आएर मजदुरी गर्नुको विकल्प छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।