खेतमा काम गरिरहेको अवस्थामा भारतीय सुरक्षा बलले हातपात गरेका थिए

|
फाइल फाेटाे

बारा : बाराको विश्रामपुरस्थित भारतीय दशगजा क्षेत्रमा नेपाली र भारतीय पक्षबीच झडप भएको छ। दशगजा क्षेत्रमा रहेको खेतमा गएका नेपालीलाई भारतीय सीमा सुरक्षा बलले हातपात गर्न खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। 

पानी परेपछि खेतमा काम गर्न गएका विश्रामपुर गाउँपालिका ४ का छोटेलाल साहलाई भारतीय सुरक्षा बल (एसएसबी) ले हातपात गर्न खोजेका कारण प्रतिकारमा उत्रिनुपरेको स्थानीयले बताएका छन्।

कुटपिटबाट १२ नेपाली घाइते

बारास्थित नेपाल भारतको सीमा नाका दशगजामा मंगलबार बिहान भारतका सुरक्षाकर्मी, गाउँले र नेपालीबीच झडप भएको हो। विश्रामपुर गाउँपालिका ४ बलिरामपुरसँग सीमा जोडिएको नेपाल–भारत सीमा क्षेत्र झडप भएको हो। झडपमा १० जना नेपाली सामान्य घाइते र दुई जनालाई गम्भीर चोट लागेको छ। 

बलिरामपुरका छोटेलाल साहले दगशजा छेउमै रहेको आफ्नो खेतमा मंगलबार बिहान काम गरिरहेका बेला पारिबाट आएका एसएसबीले उनलाई कुटेका थिए।गाउँका नेपाली किसान कुटिएपछि प्रतिवादका लागि दशगजा क्षेत्रमा गएका बलिरामपुरका स्थानीयको समूहमाथि भारतीय एसएसबीले अन्धाधुन्द लाठी चार्ज गरेका थिए। त्यसक्रममा सीमावर्ती भारतीय गाउँ सहदेवाका भारतीयले पनि नेपालीमाथि ढुंगामुढा गरेका प्रहरीले जनाएको छ। 

प्रतिकारमा यताबाट पनि नेपालीले ढुंगामुढा गरेका थिए। यसअघि सोमबार साँझ दगशजामा रहेको आफ्नो तरकारी बारीमा गएका बलिरामपुरका एक किसानले बारीबाट तरकारी टिपेर दशगजा क्षेत्रमा राखेका थिए। त्यसैको निहुँमा एसएसबीका जवानले ती किसानलाई कुटपिट गरेका थिए। 

नेपाली किसान कुटिएपछि आक्रोशमा आएका बलिरामपुरका ३÷४ जना युवाले पनि सोमबार बेलुकी सीमा नाकामा गएर एसएसबीका जवानलाई कुटेपछि विवाद सुरु भएको थियो। त्यही विवादका कारण सीमा क्षेत्रमा तनाव भई मंगलबार बिहान बलिरामपुरका स्थानीय र भारतीयबीच झडप भएको हो।

दुवै देशका सुरक्षाकर्मीको पहलमा स्थिति नियन्त्रणमा

दुवै देशका सुरक्षा अधिकारी घटनास्थलमा पुगेर आआफ्ना देशका नागरिकलाई सम्झाउँदै स्थिति नियन्त्रणमा लिएका हुन्। तनावपछि सीमा क्षेत्रमा दुबै देशका गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। 

लकडाउनको समयमा सीमा क्षेत्रमा आवतजावत कडाइ भएपछि तस्करहरुलाई उकासेर झडप हुने गरेको बताइन्छ। घटनास्थलमा पुगेको प्रहरी स्रोतले जनाएअनुसार नेपालबाट भारततिर मदिरा ओसार्ने र भारततिरबाट नेपालतर्फ विभिन्न उपभोग्य वस्तु ओसार्ने समूहले केही दिनदेखि सो क्षेत्रमा अस्थिरता मच्चाउन खोजेको अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.