‘सिमाना आइपुग्दा आँसु थाम्नै सकेनौं, राज्यले बेलैमा सोचोस्'
‘सिमाना आइपुग्दा आँसु थाम्नै सकेनौं, राज्यले बेलैमा सोचोस्'
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका २, रानीपुरका गौरसिंह साउद उत्तराखण्डको पिथौरागढ डिडिहाटस्थित भारतीय शिविवरमा ३५ दिन बसेर घर फर्केका छन्। झुलाघाट नाकाहुँदै नेपाल आएका उनी यतिखेर शुक्लाफाँटा नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा बसिरहेका छन्।
स्थानीय प्रशासनले बसको व्यवस्था गरिदिएपछि साउद लगायत १७ जना शुक्लाफाँटा नगरपालिका पुगेका हुन्। वैशाख १९ गते त्यहाँ पुगेका सबैलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ। क्वारेन्टाइनमा बस्दै आएका साउद भारतीय राहत शिविरमा बस्दाका क्षणहरु स्मृतिमा बसेकाले कहिल्यै भुल्न नसकिने बताउँछन्। भारतीय राहत शिविरका भोगाइहरू दोस्रो पिँढीका लागि पनि 'सबक' हुने हुने ठानेका छन्।
साउद माघ महिनाको पहिलो साता काम खोज्दै पिथौरागढ पुगेका थिए। दैनिक ज्यालादारीमा सडक निर्माणमा खटिए। काम पाएको ७५ दिनमै भारतमा कारोना भाइरसको महामारी फैलियो। लकडाउन गरियो।
निर्माणका सबै काम बन्द भयो। निर्माण कार्यमा संलग्न बाह्य क्षेत्र बाट आएका भारतीय र नेपाली मजदुरहरुलाई उत्तराखण्ड प्रदेश सरकारले राहत शिविरमा राख्यो। चैत २० गते स्वास्थ्य परीक्षण गरेर सबै जनालाई स्थानीय विद्यालयमा राख्ने व्यवस्था गरियो।
'एक दुई दिन त राम्रैसँग खानेकुराहरु दिइयो, तर त्यस पछिका १० दिन निकै कष्टसँग बिताउनु पर्यो, पहिला भारतीय नागरिकलाई दालभात लगायतका खानेकुरा दिइन्थ्यो। उनीहरूलाई दिएपछि बँचेको र अघिल्लो दिनको बासी खाना थपेर नेपालीलाई दिन थाले,' साउदले भने, ‘राहत शिविरका कर्मचारीलाई बासीभात खान दिइएकोबारे जानकारी गराउँदा उल्टै प्रहरी लगाएर कुटियो। भारतीयको अपमान सहँदै चुपचाप बस्नु बाहेक हामीसँग अर्को विकल्प थिएन।’
'राहत शिविरमा बस्दै आएका भारतीयहरुलाई खाना खुवाएर आरामसाथ राखियो, तर हामी नेपालीलाई दाउरा खोज्नेदेखि खाना पकाएका भाँडाकुँडा माझ्नेसम्मका काममा दलाइयो,' डिहीहाट शिविरमा अपमानपूर्वक बसेर आएका अमर धानुकले भने, ‘साह्रै नै अपमानबोध र ग्लानी भएपछि त्यहाँ रहेका २७ नेपालीले १०औं दिनपछि आफ्नै पैसाले खाद्यान्न खरिद गरी पकाएर खाने निधो गर्यौं, शिविरका कारिन्दाले सुरूमा नमानेपछि निकै जोडबल गरेपछि अनुमति दिए।'
भारतीय प्रशासनसँग अनुनय-विनय गरेपछि निश्चित समयमा खाद्य सामग्री खरिद गरी फर्कने लागि अनुमति पाएको, तर पानी र दाउरा खोज्न राहत शिविर नजिकैका बस्तीमा जाँदा स्थानीय भारतीय बासिन्दाले 'डोटयाल कोरोना बोकेर आयो, टाढा भाग!' भनेर गाली गर्ने र हेप्ने गरी मानसिक प्रताडना दिने गरेको धामीले बताए। उनले भने, 'ती ३५ दिन यति अपमानजनक रह्यो कि : मर्नै परेपनि भारतीय माटोमा चाहिँ यो ज्यान नरहे हुन्थ्यो भन्ने लाग्यो, हत्केलामा एक चिम्टी देशको माटो भइदिएको भएपनि त्यतिखेर हामीलाई निकै सजिलो हुन्थ्यो।'
झुलाघाट नाकाबाट स्वदेश प्रवेश गर्दै गरेका नेपालीहरू।
लकडाउनअघि मजदुरी गरेबापतको आधा पारिश्रमिकसमेत भारतीय ठेकेदारले नदिएको स्वदेश आइपुगेका नेपालीहरूले बताएका छन्। पाएको आधा रकम भारतीय शिविरमा बस्दा खानेकुरा खरिदमै सकिएको र बेखर्ची अवस्थामै नेपाली सीमाभित्र प्रवेश गरेको उनीहरूले जानकारी दिए।
'भारतका राहत शिविर र क्वारेन्टाइनमा रहेका नेपालीहरुका लागि नाका खोल्न लागेको जानकारी पाएपछि एक छिनपनि ढिला नगरी पिथौरागढका डिएमसँग अनुमति लिई भारतीय प्रशासनकै समन्वयमा दुई वटा भाडाका गाडीमा बसेर सीमा क्षेत्रमा पुग्यौं,' भारतीय क्वारेन्टाइनमा बसेर आएकामध्ये हर्क जागरीले भने, ‘जतिसक्दो छिटो जन्मभूमीमा पुग्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो, जब झुलाघाट नाका प्रवेश गर्यौं : खुशीको सीमा नै रहेन, झुलाघाट पुग्दा घरमै पुगेझैं लाग्यो।’
'घरखर्च चलाउन र परिवारको गुजारा टार्नका लागि श्रम गर्न भारत गएको थिएँ, तर पारिश्रमिकको साटो अपमान बोकेर आफूजस्तै दाजुभाईहरूसँग फर्किएँ,' जागरीले थपे, 'यो अपमान सजिलै बिर्सने खालको छैन, अब अरूको देश जान्नँ, थोरै ज्याला पाइएपनि स्वदेशमै काम गर्छु।'
भारतीय राहत शिविरमै बसेर फर्केका रामसिंह भुलले पनि त्यहाँ रहादा घरमा जतिसक्दो छिटो पुग्नपाए हुन्थ्यो झैं लागेको बताए। 'शिविस बसाई निकै पट्यारलाग्दो रह्यो, नाका प्रवेश गरेपछि खुशीका आँशु थामिएनन्, अब आफैं बझ्नुस् कि त्यहाँ हामी कसरी बस्यौं होला।'
स्वदेशको क्वारेन्टाइनमा निकै सहज
भारतीय शिविरमा अपमान सहेर फर्किएका नेपालीहरूलाई शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइन बसाई निकै सहज लागेको छ। यहाँ आएपछि उनीहरूले आफन्तसँग कुराकानी पनि गर्न पाएका छन्।
'हामी अहिले बसेको क्वारेन्टाइन आफ्नै देशको हो, जति दिन बस्नका लागि भन्नु हुन्छ, बस्नका लागि तयार छौं,' यहाँ रहेका नेपालीहरू भन्छन्, 'खाने र बस्ने व्यवस्था भारतको भन्दा सैयौं गुणा राम्रो छ, हामीलाई केही भइहाले उपचार गर्न स्वास्थ्यकर्मीहरु खटिइनु भएको छ, दैनिक स्वास्थ्यजाँच हुन थालेको छ, परिवारको चिन्ता बाहेक यहाँ हामीलाई कुनै चिन्ता छैन।' भारतमा रहँदा शिविर प्रवेशका क्रममा एकप६क र सीमा नाकामा एक पटक बाहेक स्वास्थ्यजाँच समेत नगरेको नेपालीहरूले बताएका छन्।
कामकै खोजीमा आफ्ना नागरिक पराया भूमीसम्म पुग्नु र त्यहाँबाट असैह्य अपमान बोकेर फर्कनुपर्ने अवस्थालाई राज्य र सरकारले गम्भीरतापूर्वक लिनुपर्ने क्वारेन्टाइनमा रहेका नेपालीहरू बताउँछन्। स्वदेशमै रोजगारीका अवसर श्रृजना गरे आफूहरू विदेशी भूमीमा अपमानित हुनु नपर्ने र त्यसले देशलाई पनि राम्रो हुने सोझो हिसाब श्रमिकहरूले गरेका छन्।
शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरूलाई १४ दिन त्यहाँ राखिने बताए। उनले भने, 'क्वारेन्टाइनमा बस्दै आएकाहरुको आरडिटी र पिसिआर परीक्षणपछि मात्रै घर जान दिन्छौं, कोरोना भाइरसका लक्षण देखिए तत्कालै अस्पतालमा उपचारका लागि पठाउने व्यवस्था मिलाएका छौं।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।