|
सांकेतिक तस्बिर ।

बागलुङ : सोमबार जिल्लाको गलकोटबाट बिरामी बोकेर बा २० च २४१४ नम्बरको कार चितवनतर्फ लाग्यो। भरतपुर अस्पतालमा बिरामी पुर्‍याउन भन्दै हिँडेको कारलाई गण्डकी प्रदेशका सीमानाकामा रहेका सुरक्षाकर्मीले रोकेनन्। अस्पतालमा बिरामी पुर्‍याएर फर्किने बेला कारले चितवनबाट मान्छे बोकेर आउँछ भन्नेकुरा सुरक्षाकर्मीले कल्पना नै नगरेको विषय थियो। 

सरकारले अत्यावश्यक र बिरामी बोकेका कुनैपनि सवारीलाई नरोक्नु भनेको छ। बिरामीको प्रकृति हेरेर जिल्ला प्रशासनले जारी गर्ने पाससमेत नचाहिने हुनाले यस्ता सवारीसाधन रोक्ने नगरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक रिजाल बताउँछन्। 

मंगलबार चितवनबाट रातारात हिँडेको कार बुधबार बिहान पर्वत सदरमुकाम कुश्मामा आएर रोकियो। पर्वतका सुरक्षाकर्मीले केरकार गर्दा बिरामी लिएर बागलुङबाट गएको पाइएपछि कारलाई प्रहरीले रोकेन। बिहान झिसमिसेमा मालढुंगा प्रहरी पोष्टले चेकजाँचका क्रममा उक्त कार समात्यो। कारमा चालकसहित सातजना यात्रु थिए। चेकजाँचका लागि मालढुंगा पुगेका प्रहरी निरीक्षक दीपक रेग्मी त्यतिबेला आचार्य चकित भए। नहुन पनि किन? चार सिट क्षमताको कारमा सातजना यात्रु पास बिनै चितवन हुँदै बागलुङ आइपुगेका थिए। 

सुरक्षाकर्मीको आँखा छल्न रातारात चितवनबाट बागलुङ आइपुगेको कारलाई प्रहरीले केहीबेर नियन्त्रणमा लियो। ‘बिरामी बोकेर जाने फर्किँदा यात्रु ओसार्ने गरेको पायौं,’ रिजालले भने, ‘कारमा धेरै मान्छे भएकाले आशंका भयो, अरु गाडीले पनि एकदुई जना त्यसैगरी भित्र्याइरहेको पाइयो।’ 

उक्त कार र सवार यात्रुहरुलाई गलकोट नगरपालिकासँगको समन्वयमा क्वारेन्टाइनमा बस्नेगरी छोडिएको छ। ‘त्यहाँका मेयर’सापले आफ्ना नागरिक क्वारेन्टाइनमा राख्छु भन्ने प्रतिवद्धता पछि हामीले छोडीदियौं,’ रिजालले भने, ‘आँखा छलेर बहाना गर्नेहरु धेरै छन्।’ 

कोरोनाको संक्रमणदर बढ्दै गएपछि दवावमा परेको प्रहरीले चेकजाँचमा कडाई गरेसँगै बिरामीको नाममा बाहिरी जिल्लाबाट मान्छे भित्राउने सवारीसाधन धमाधम पक्राउ पर्न थालेका छन्। बुधबार नै पोखराबाट सामान लिएर आएको अर्को एउटा हायस गाडी मालढुंगामा समातिएको थियो। बागलुङबाट यात्रु बोकेर पोखरा पुगेको बा ३ क ९७२४ नम्बरको गाडीले एक जना महिला यात्रु बोकेर मालढुंगा आयो। मालढुंगामा रहेको हेल्थ डेस्कमा जाँच गर्दा यात्रु महिलामा ज्वरो देखिएकाले धौलागिरी अस्पतालमा आरडिटी जाँचका लागि पठाइयो। सोही गाडीका चालक र उच्च ज्वरो रहेका अर्को ट्रकका चालकलाई समेत आरडिटी जाँचका लागि पठाएर प्रहरीले चेतावनी दिँदै घर जान भनेको रिजाल बताउँछन्। 

यतिमात्रै होइन, जिल्लाकf दक्षिण र पश्चिम क्षेत्रमा गुड्ने सवारीसाधनको दुरुपयोग गरेर जिल्ला बाहिरबाट भित्रिने र जिल्लाभित्रै पनि एक स्थानीय तहबाट अर्कोमा जानेको संख्या धेरै छ। 

लकडाउनको अवधिमा मात्रै बिना पास यात्रु ओसार्ने र हिँडडुल गर्ने नौ सय ४३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा आठ सय ८० दुईपाङ्‌ग्रे र ६३ वटा चारपाङ्ग्रे सवारी छन्। सवारी ओहोरदोहोरका कारण कोरोनाको जोखिम बढेको भन्दै जिल्ला कमाण्ड पोष्टले लकडाउनमा कडाई थालेको भएपनि जिल्लाका विभिन्न ठाउँमा यात्रु भित्रिने क्रम रोकिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.