|

बैतडी : बैतडीमा करिब दुई हजारजनाको आरडिटी परीक्षण गरिएको छ। भारतबाट भित्रिएका एक हजार ९९० जनाको आरडिटी परीक्षण गरिएको हो।

गत चैत ११ सम्म भारतबाट भित्रिएका र त्यसपछि उद्धार गरिएका तथा महाकाली तरेर आएका ती नागरिक आरडिटी गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।  

जिल्लाका १० वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा अनिवार्य १४ दिन बसेपछि मात्रै उनीहरुको आरडिटी परिक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएका सबैलाई घर पठाइएको उनले बताए।

यस्तै, विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका २२२ जनाको आरडीटी परीक्षण गरेर मात्रै घर पठाइने जोशीको भनाइ छ।

थप एकजनाको आरडीटी रिपोर्ट पोजिटिभ

भारतबाट उद्धार गरी ल्याइएका बैतडीका थप एकजनाको आरडीटी रिपोट पोजिटिभ आएको छ। शनिबार गरिएको परीक्षणमा सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ वर्षीय युवकको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। ती युवकलाई आइसोलेसनमा राखिएको छ।
 
आरडीटी पोजिटिभ आएका ती युवकको आइतबार मात्रै थ्रोट स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि धनगढी पठाइने भएको छ।  उनी गत वैशाख १८ मा झुलाघाट नाकाबाट स्वदेश भित्रिएका थिए। 

श्रीभावर क्वारेन्टाइनमा २३ जना बसेका र अरुको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। आरडिटी पोजिटिभ आएका व्यक्तिको पिसिआर रिपोर्ट नआउँदासम्म सबैलाई क्वारेन्टाइनमै राखिने सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले बताए।

बैतडीमा यसअघि बिहीबार डिलाशैनीका ५० बर्षीय एक पुरुषको पनि आरडिटी रिपोर्ट पोजिटिभ आएको थियो। जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखिएका ती व्यक्तिको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धनगढी पठाइएको भएपनि रिपोर्ट भने आउन बाँकी रहेको छ।

गत वैशाख १८ मा झुलाघाट र धार्चुला नाकाबाट करिब साढे दुई हजार नागरिकको उद्धार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.