४२ हजार नागरिक जिल्ला भित्रिँदै, कीट अभाव

|

दैलेख : कोरोना भाइरसको उच्च जोखिममा छ दैलेख। १० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा कोरोनाका पहिलो संक्रमित दैलेखमै फेला परेका थिए। सोमबार जिल्लामा ७ जना नयाँ संक्रमित थपिएपछि दैलेखमा मात्र कोरोनाका ८ जना संक्रमित पुगिसके। 

छिमेकी राष्ट्र भारतमा कोरोना तीव्र रुपमा फैलिएको छ। त्यहाँ काम गर्न गएका दैलेखका नागरिक फर्किने क्रम बढेसँगै जिल्लामा संक्रमण पनि बढिरहेको छ। जिल्लामा भेटिएका प्रायः संक्रमित भारतबाटै आएका पुष्टि भएको छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेत र दैलेखमा संक्रमित तीव्र संख्यामा बढिरहेका छन्।  

जिल्लाका चार स्थानीय तहमा फैलियो संक्रमण

११ वटा स्थानीय तह रहेको दैलेखमा सोमबारसम्म चार वटामा कोरोना संक्रमित फेला परिसकेका छन्। कर्णाली प्रदेशमा जेठ ५ अघिसम्म कोरोना संक्रमितको शून्य संख्या रहे पनि एकै सातामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। 

दैलेखको आठबिस नगरपालिकामा पहिलो पटक कर्णालीमा संक्रमित फेला परेका थिए। अहिलेसम्मको जिल्लाको विवरण हेर्ने हो आठबिस नगरपालिकामा १ जना, नारारायण नगरपालिकामा २ जना डुंगेश्वर गाउँपालिकामा ३ जना, गुराँस गाउँपालिकामा २ जना गरी ८ जना कोरोना संक्रमित पुष्टि भइसकेका छन्। कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा संक्रमित फेला परेका छन्। सुर्खेतमा मंगलबारसम्म १५ जना संक्रमित पुष्टि भइसकेका छन्। 

भातरबाट आएकालाई व्यवस्थापन नगरिँदा संक्रमण बढ्दो 

भारतबाट जिल्ला भित्रिनेको संख्या दिनहुँ बढ्दो छ। दैलेखका धेरै नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत भएकाले उनीहरु फर्कने क्रम बढेको छ। तर स्वदेश फर्कनेको व्यवस्थापनमा उचित ध्यान नदिँदा संक्रमणको दर भने बढिरहेको छ। 

दैलेखको नारायण नगरपालिकामा लकडाउनका बेला भित्रिएका नागरिक कहाँ राख्ने भन्ने अझै अन्यौल कायमै रहेको नगरपालिकाका प्रमुख रत्न बहादुर खड्का बताउँछन्। चोर बाटो हुँदै जिल्ला भित्रिने र क्‍वारेन्टाइनमा राखिएकाहरु भाग्नाले समस्या हुन थालेको उनको बुझाइ छ। 

परिक्षण कीट अभाव
 
भारतबाट दिनानु दिन हजारौँ नागरिक जिल्ला भित्रिरहेका छन्। तर उनीहरुमा गरिने कोरोना परीक्षण कीटसमेत अभाव हुन थालेको छ। सोमबारसम्म जिल्लामा ५ हजार बढी भारतबाट भित्रिएका छन्। तर त्यसमध्ये २ हजार जनाको मात्र कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरन्जन पन्तका अनुसार जिल्ला भित्रिनेको संख्या बढ्दै जानु र परीक्षण सामग्री अभाव हुनुले दैलेख कोरोनाको उच्च जोखिमा छ। 

सहरभन्दा गाउँमा जोखिम 

भारतबाट आएका प्रायः नागरिक गाउँबासी भएका कारण सहरभन्दा गाउँमा जोखिम बढ्न थालेको छ। बजार क्षेत्रमा सुरक्षा निकायले लकडाउन कार्यान्वयन गराए पनि गाउँमा सुरक्षा जनशक्ति कम छ। भारतबाट आउने मानिसको सम्बन्ध सहरभन्दा गाउँमा बढी देखिन्छ। जसका कारण गाउँमा बढी खतरा रहेको स्थानीय बताउँछन्। 

जिल्लाभर क्‍वारेन्टाइन संख्या ९ सय ६५ रहे पनि त्यहाँ बस्ने १ हजार ९ सय मात्र छन्। भारतबाट आउनेहरुले लकडाउन पालना नगरेका र क्‍वारेन्टाइनमा बस्न नमान्नाले जिल्लामा थप जोखिम बढ्न थालेको स्थानीय तहका प्रमुखहरु बताउने गर्छन्। 

भद्रगोल क्‍वारेन्टाइन 

जिल्लाका स्थानीय सरकारलगायत निकायले निर्माण गरेका क्‍वारेन्टाइन भद्रगोल हुनुले पनि क्‍वारेन्टाइनबाट संक्रमण फैलन सक्ने खतरा निम्तिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। जिल्लामा बनाइएका आधाभन्दा बढी क्‍वारेन्टाइन पनि मापदण्ड अनुसार छैनन्।पन्तका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दैलेखमा मात्र नभई देशभरका क्‍वारेनटाइन मापदण्ड अनुसार बनेका छैनन्। 

दैलेखमा ४२ हजार बढी भित्रिन सक्ने 
 
दैलेखमा भारतलगायत अन्य मुलुकबाट ४२ हजारभन्दा बढी नागरिक भित्रिन सक्ने जिल्ला प्रशासन कार्यालय दैलेखले प्रक्षेपण गरेको छ। पछिल्लो समय जिल्लामा दैनिक २ हजार बढी दरले नागरिक भित्रिरहेका छन्। उनीहरुलाई अनिवार्य रुपमा क्‍वारेन्टाइनमा व्यवस्थित तवरले राख्न पटक पटक आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.