|

पाल्पा : भारतको जयपुरबाट आएकी जयन्ती विकलाई क्‍वारेन्टाइनमा बसिरहँदा पनि दुखले छोडेन्। आफू कसरी सुरक्षित रहने भन्ने एउटा पिरलो छ। तर त्योभन्दा बढी चिन्ता बिरामी श्रीमानको अवस्था के हुने हो भन्ने छ उनलाई। 

जयन्तीका श्रीमान् मानबहादुर विक मुटुका बिरामी छन्। भारतको जयपुरमा मुटुको अप्रेसन गरेर थप उपचार गराउँदै आएका मानबहादुर पनि क्‍वारेन्टाइनमा छन्।
पछिल्लो ६ महिनामा नियमित परीक्षणका लागि जयपुर पुगेका मानबहादुरको दम्पती लकडाउनका कारण तीन महिना उतै रोकियो। 

जेनतेन नेपाल आएका उनीहरू अहिले तानसेन नगरपालिकाले निर्माण गरेको बतासेस्थित साइन्स क्याम्पसको एउटा कोठामा बसिरहेका छन्। उनीहरू गएको ७ दिनदेखि यहाँ बसिरहेका हुन्। उनीहरू एक्लै छैनन्। वरिपरि सुत्ने अन्य ८ जना छन्। 

क्‍वारेन्टाइनको मापदण्डविपरित नजिकको दूरीमा बस्नु परेको छ। ९ जना पुरूष रहेको एउटा कोठामा जयन्ती एक्ली महिला हुन्। उनी दिनरात त्यहीँ बस्छिन्। त्यहीँ कोठामा बिरामी श्रीमानको समेत उनले रेखदेख गर्नुपरेको छ।  

यस्तो अवस्थाको क्‍वारेन्टाइनमा बस्नुपर्दा आफूलाई जोखिम महसुस भएको जयन्तीले बताइन्। ‘आफूसँगै बिरामी श्रीमानसमेत जोखिममा हुनुहुन्छ’, उनले भनिन्, ‘औषधि खुवाउन पानीसमेत समयमा पाउँदिनँ। कोरोनाले भन्दा नियमित औषधि खान नपाएर मरिने हो कि भन्ने चिन्ता छ।’ 

प्रायः खाना खाएर खानुपर्ने औषधि छन्। तर खाली पेट श्रीमानलाई खुवाउनुपरेको बाध्यता उनले सुनाइन्। कम्तीमा आफ्नै वडाका क्‍वारेन्टाइनमा बस्न पाए सुरक्षित हुने उनी बताउँछिन्। उनका अुसार श्रीमान मानबहादुरले दैनिक ४ पटक औषधि सेवन गर्दै आएका छन्। 

भारतको मुम्बईबाट आएका तानसेन नगरपालिका–११ का भोजराज खातीले गन्हाएको पानी खाएर बस्नुपरेको  गुनासो गरे। ‘छतमा रहेको पानी पिउनुपरेको छ, खाना खानसमेत समयमा पाइँदैन,’ उनले भने, ‘भेडाबाख्राजस्तै राखिएको छ। यस्तो अवस्थाले कोरोनाले संक्रमित हुने पक्का छ।’ बिहानको खाना दिउँसो ३ बजे र साँझको खाना राति २ बजे दिने गरेको उनले गुनासो गरे। 

बीचमा कुनै नास्तासमेत खान पाइँदैन। कम्तीमा गाउँकै क्‍वारेन्टाइनमा बस्न पाए घरका परिवारले खानेकुरा ल्याइदिने खातीले बताए। उनका अनुसार आफूहरू बसेको कोठामा दैनिक भारतबाट आएका नयाँ मानिस बस्छन्। 

दिल्लीबाट आएका तानसेन १४ अर्गलीका कृष्ण थापाको पनि गुनासो उस्तै छ। ‘दिल्लीबाट आउँदा त जसोतसो कोरोना संक्रमणबाट बाँचियो’, उनले भने, ‘यहाँको अस्तव्यस्तताले कोरोना सर्ने हो कि भन्ने पिरलो छ।’ जति दिन बस्न परे पनि आफ्नै गाउँको क्‍वारेन्टाइनमा बस्न तयार रहेको थापाले बताए। शौचालयसमेत प्रयोग गर्ने अवस्थामा नरहेको उनले बताए। दुइवटा शौचालयमध्ये एउटा भरिएर दुर्गन्धित अवस्थामा रहेको थापाले बताए। 

तानसेन नगरपालिका ९ का वडाध्यक्ष हरिसुमर रेग्मीले तत्काल वडाको क्‍वारेन्टाइनमा ल्याउन मिल्ने अवस्था नरहेको बताए। ‘बरु तानसेनमै रहेको अन्य क्‍वारेन्टाइनमा सार्न पहल गर्ने छु’, उनले भने, ‘तत्काल वडामा ल्याएर राख्ने अवस्था छैन।’

क्‍वारेन्टाइनको व्यवस्था भइनसकेको भन्दै उनले गैरजिम्मेवार जवाफ उनले दिए। ‘७ दिन त भइसक्यो, अब बाँकी ७ दिन त्यहीँ बस्दा केही फरक पर्दैन,’ उनले भने। वडा नम्बर १४ का अध्यक्ष कमल रानाले स्थानीयको विरोधले उनीहरूलाई गाउँको क्‍वारेन्टाइनमा ल्याउन नसकिएको बताए। उनीहरूको प्रारम्भिक परीक्षण नहुँदासम्मा गाउँमा ल्याउन समस्या भएको उनले सुनाए। यद्यपि बढी नै समस्या छ भने वडाको त्रिभुवन माविमा निर्माण गरिएको क्‍वारेन्टाइनमा ल्याइने रानाले जवाफ दिए। 

यहाँ होल्डिङ क्‍वारेन्टाइन मात्र सञ्चालन गर्नुपर्ने हेल्प डेस्क सचिवालय सदस्य सुनिल अधिकारीले बताए। होल्डिङ क्‍वारेन्टाइनका कारण यहाँको क्‍वारेन्टाइनमा बसेकाहरूलाई समस्या परेको उनी बताउँछन्। 

दैनिक सय बढी मानिस आवतजावत हुने ठाउँ यहाँको व्यवस्थान मजबुत बनाउन नसके कोरोना संक्रमण जोखिम बढ्ने अधिकारीको ठम्याइ छ। उनका अनुसार एउटै कोठामा मापदण्डभन्दा बढी मानिस सुत्नु परेको छ। थपिएका मानिसका कारण क्‍वारेन्टाइनमा बस्दै आएकालाई कोराना जोखिम रहेको उनले बताए। तत्काल क्‍वारेन्टाइन अन्त सारेर यहाँ होल्डिङ क्‍वारेन्टाइन मात्र सञ्चालन गर्नुपर्नेमा अधिकारीले जोड दिए। 

नगरप्रमुखले सम्बन्धित मानिसहरूलाई आफ्नै वडामा लैजान निर्देशन दिइसकेका तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज वेलवासेले बताए। ‘सदरमुकाम भएकोले जिल्लाभरका मानिसको अवस्था तानसेन नगरपालिकाले हेर्नुपरेको छ’, उनले भने, ‘सम्बन्धित वडाका जनप्रतिनिधिले आफ्ना मानिस तत्काल लगेर उतै व्यावस्थापन गर्नुपर्छ।’

सबैले आ–आफ्नो जिम्मेवारी बहन नगर्ने हो भने जिल्लाको स्थिति भयावह हुने खतरा रहेको प्रमुख प्रशासकीय अधिकृत वेलवासेले बताए। अन्य स्थानीय तहले भने आफ्ना मानिसलाई सम्बन्धित गाउँकै क्‍वारेन्टाइन लगेर व्यवस्थापन गरिरहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.