|

नवलपरासी : यतिखेर तराईका जिल्लामा धान रोप्नका ब्याड राख्न बिउ छर्न किसानलाई भ्याइनभ्याई छ। कोरोना संक्रमणका कारण लकडाउन भए पनि किसान भने खेतबारीमा व्यस्त देखिन्छन्। कतिपय किसानहरुले भने ब्याड राखिसकेका छन्। किसानको यो समय भनेको मानो रोपेर मुरी उब्जाउने हो। 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढीपीडितकी लक्ष्मी पौडेलले करिब १५ कठ्ठा खेतका लागि चाहिने धानको ब्याड राखेकी थिइन्। तर उनले राखेकाे ब्याडमा छरेको धानको बिउ नै उम्रिएन।

पौडेलले बर्दघाटमा रहेको माकर बहुमुखी सहकारी संस्थाबाट नेपाल सरकारले सिफारिस गरेको चैते ५ जातको धानको बिउ लगेर बीउ छरेकी  थिइन्। बिउ छरेको एक हप्ता बितिसक्दा पनि धानले टुसा नलगाएपछि उनले आफू ठगिएको बताएकी छन्।

‘अब अर्को बिउ किनेर ल्याएर ब्याड राख्नुपर्ला, तर नउम्रिने बिउ दिने सहकारीले क्षतिपूर्ति दिनुपर्छ। यस विषयमा नगरपालिकामा गुनासो गर्न जान्छु’ पौडेलले भनिन्। पौडेल मात्र होइनन्। उनी जस्तै बिउ नउम्रिएर चिन्तामा पर्ने किसान बाढीपीडितमा धेरै छन्। पुष्प बहादुर धिमालले पनि आफ्नो ६ कठ्ठा खेतमा धान रोप्न राखेको ब्याडमा बिउ नउम्रिएपछि चिन्ताले सताएको बताएका छन्। 

‘अव फेरि लिन जाँदा सहकारीले बिउ सकियो भन्छ, खे के गर्ने  बिउमा नगरपालिकाले अनुदान पनि दिएको थियो तर उम्रेन, के गर्ने गर्ने अन्योल भएको छ,’ पुस्पले भने। उनले पनि चैते ५ कै बिउको ब्याड राखेका थिए।

अर्का किसान अजय क्षत्रीले एक विगाहा खेतमा रोपाई गर्न बिउ उमार्ने ब्याड राखेका थिए। उनको ब्याडमा बिउ त उम्रियो तर निकै पातलो। ‘हेर्नुहोस् मैले चैते ५ र अर्को जातको धान एकैपटक राखेको अर्को कति राम्रो भएको छ, तर यो चैते ५ निकै कम उम्रियो अब फेरि ब्याड नराखी सुख्खै छैन,’ उनले भने। 

सरकारले सिफारिस गरेको धानको बिउ नै नउम्रिएपछि आफूहरुले क्षतिपूर्ति पाउनुपर्ने उनको भनाइ छ। उनले पनि माकर बहुमुखी सहकारीबाटै धानको बिउ किनेका थिए।

अर्का किसान गंगालाल भण्डारीले अरुको जग्गा भाडामा लिएर खेती गर्दै आएका छन्। उनले विगतका वर्षदेखि नै रैथाने साँवा धानको खेती गर्दै आइरहेका थिए। 

यस पटक पनि माकर बहुमुखीबाट धानको बिउ ल्याएर ब्याड त राखे तर बिउ राम्रोसँग उम्रिएन। कताकती उम्रिएको बिउ पनि पहेंलो भै सुक्न सुरु गरेको छ।भण्डारीलाई अब जग्गाधनीलाई कसरी भाडा तिर्ने भन्ने चिन्ताले सताएको छ। उनी भन्छन्, ‘सरकारले किसानलाई राहत दिने त भन्छ, तर त्यो राहत कहाँ र कस्का लागि जान्छ, हामीलाई थाहा छैन।’ 

सरकारले कृषकलाई अझै पनि खुसी पार्नेगरी योजना ल्याउन नसकेको उनले गुनासो गरे।

बर्दघाट नगरपालिकाले यसपटक धानको बिउमा २५ प्रतिशत अनुदान उपलब्ध गराएपछि अधिकांश किसानले नगरपालिकाले तोकेकै सहकारीमार्फत धानको बिउ खरिद गरेका थिए।

किसानलाई धानको बिउ उपलब्ध गराउँदै आएको माकर बहुमुखी सहकारी संस्थाका अध्यक्ष शिवलाल कँडेलले सहकारीले बिक्री गरेको बिउ नेपाल सरकारले मान्यता प्रदान गरेको भएकोले त्यसमा कुनै पनि समस्या नरहेको जिकिर गरेका छन्। उनले सहकारीले रुपन्देहीको लुम्विनी सिड्स र परासीमा रहेको बुद्ध सिड्सबाट बिउ खरिद गरी ल्याएको बताए।

“किसानलाई दिएको बिउमा कुनै समस्या छैन, त्यसको नमुना अहिले पनि संस्थामा छ हेर्न सकिन्छ, खडेरीका कारण बिउ उम्रिएन होला, त्यसमा सहकारीले केही गर्न सक्दैन,’ कँडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.