मापदण्ड विपरीतको क्वारेन्टाइनमा हालसम्म एकदर्जन बढीको मृत्यु

|

काठमाडौं : डोटीको केआई सिंह गाउँपालिका-३ स्थित सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आइतवार मृत्यु भयो। उनी भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएर ६ दिन अघिदेखि गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यसैगरी, सप्तरीमा कोरोना लक्षण देखिएकी ३८ साताकी एक गर्भवती महिलाको जेठ १३ गते मंगलबार बिहान मृत्यु भयो। अस्पतालले अत्यधिक रक्तश्रावको कारण गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्‍न पठाएको थियो। तर,उनले उपचार नै नपाई ज्यान गुमाउनु परेको थियो। 

भारतमा कोरोनाको त्रास बढेपछि यतिखेर नेपाली कामदार स्वदेश फर्किएर स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन्। मुलुकभरको सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ।

हालसम्म देशभरका विभिन्न स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा गरेर मृतकको संख्या १४ पुगिसकेको छ। बाजुरामा २, डडेल्धुरा २, बैतडी २, डोटी १, बाँके १, दैलेख १, प्युठान १, बर्दिया १, कास्की १, सुर्खेत १, कञ्चनपुरमा १ जनाले क्वारेन्टाइनमै ज्यान गुमाइसकेका छन्‌।

सुर्खेतमा क्वारेन्टाइनबाट फर्केपछि एक व्यक्तिको मृत्यु भयो। क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्केलगत्तै उनको मृत्यु भएको हो। कञ्चनपुरमा क्वारेन्टाइन निर्माण गर्दागर्दै वडाअध्यक्षको मृत्यु भएको थियो।

आखिर क्वारेन्टाइनमा बसेका व्यक्तिको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ठाउँमै किन मृत्यु हुन्छ? केही स्वास्थ्य विज्ञहरुबाट यसको उत्तर खोजेका छौं।

'क्वारेन्टाइनमा बसेकालाई प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानी हुनुपर्छ'

क्वारेन्टाइनमा बसेका अधिकांश मानिसहरु भारतबाट आएका छन्‌, तर उनीहरू सबै कोरोना संक्रमित होइनन्‌। अन्य जटिल रोग पनि हुन सक्छ। हतारमा कतिपयले भित्र भएका रोगहरु परीक्षण नगरी आएका हुन सक्छन। धेरै दौडधुपका कारणले पनि मृत्यु हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी बताउँछन्। दीर्घरोग भएका मानिसहरु क्वारेन्टाइनमा बसेको हुनसक्ने उनको अनुमान छ।

मुटु रोगका कारणले पनि क्वारेन्टाइनमा बसेका केही व्यक्तिहरुको मृत्यु भएको उनले बताए। ‘क्वारेन्टाइनमा बस्दा अन्य नियमित सेवन गरिरहेको औषधी छुट्ने समस्या देखिएको छ,’ उनले भने, ‘यतिखरगर्मी मौसम छ। सबैभन्दा बढी प्रभाव पार्ने भनेको क्वारेन्टाइनको संरचना पनि एक महत्त्वपूर्ण आधार भएको छ।’ क्वारेन्टाइनमा चिकित्सकको निगरानी हुनुपर्नेमा त्यहाँ कुनै पनि व्यवस्था नभएकोले अहिले क्वारेन्टाइन मृत्युको अखडा जस्तो भएको उनको भनाइ छ।

भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापा पनि क्वारेन्टाइनमा बसेका हरेक व्यक्तिको स्वास्थ्य परीक्षण हुनुपर्ने बताउँछन्‌। उनी भन्छन्‌, 'धेरै नागरिकहरू आफ्नो शरीरको भित्री भाग परीक्षण नगरी पनि क्वारेन्टाइनमा बसिरहनुभएको छ, त्यसभित्र अनेक रोगहरु हुनसक्ने भएकोले मृत्युको कारण  कोरोनाबाहेक अरू नै पनि हुनसक्छ।' 

‘दीर्घकालीन रोग भएका मानिस पनि क्वारेन्टाइनमा बसेका हुन्छन,’ उनले भने,’ अचानक हृदयघात पनि हुन सक्छ, त्यसको लागि वातावरण पनि मुख्य आधार हो, क्वारेन्टाइन मापदण्डयुक्त हुनुपर्छ।’ मुख्य कुरा क्वारेन्टाइनमा बसेकाहरुलाई राम्रोसँग सेवा सुविद्या तथा स्याहार सम्भार गर्नुपर्ने उनको भनाइ छ। क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी राख्नुपर्ने उनले जानकारी दिए।

क्वारेन्टाइनमा बसेका मानिसको परीक्षण र सोहीबमोजिम उपचार गर्न सके मृत्यु हुने सम्भावना कम हुने तथा अन्य रोगको लक्षण देखिनासाथ अस्पताल लाने व्यवस्था गर्न थापा सुझाउँछन्‌। तर अहिले कोरोना भन्दा पनि अन्य रोग मृत्युको कारक जस्तो देखिएको उनी बताउँछन्‌।

'क्वारेन्टाइनको अनुगमन गरिरहेको छौं'

क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको छ। तर, त्यसको अनुगमन स्वास्थ तथा जनसंख्या मन्त्रालयले गर्ने जिम्मेवारी रहेको मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारी बताउँछन्। केहीमा समस्या देखिएपनि मुलुकभर बनेका सबै क्वारेन्टाइनमा समस्या नरहेको तथा मन्त्रालयको निर्देशिका बमोजिम क्वारेन्टाइन बनेको छ/छैन, त्यसको अनुगमन भइरेहेको उनको भनाइ छ।

‘जिल्लामा सहसचिवस्तरका कर्मचारीको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ,’ उनले भने, ’क्वारेन्टाइन भनेको नै बिरामीलाई परीक्षण गर्ने पहिलो अस्पताल हो। त्यहाँको अवस्था हेरेर अस्पताल भर्ना गरिन्छ।‘ क्वारेन्टाइनको सम्पूर्ण जिम्मा स्थानीय निकायले पाएको हुनाले मन्त्रालयले निर्देशन दिएर क्वारेन्टाइनको अनुगमन गरिरहेको उनले थाहा खबरलाई बताए।

यस्तो छ क्वारेन्टाइन मापदण्ड :

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ मा त्यहाँ रहेका शंकास्पद व्यक्ति र त्यसको व्यवस्थापनमा रहेका कर्मचारीहरुले गर्न हुने र नहुने कामको बारेमा उल्लेख गरिएको छ। शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्नुपर्छ।

क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्‍ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३‍‍.५ फिट हुनुपर्ने तोकिएको छ।

सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले अरुलाई हिनताबोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्यारेन्टाइनमा सूर्तिजन्य एवं मादक पदार्थ सेवन गर्न नपाउने, क्वारेन्टाइनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिनुपर्नेजस्ता नियमहरू तोकिएको छ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिले खोक्दा या हाछ्युँ गर्दा अनिवार्य रुपमा मुख छोप्नुपर्ने, राम्रोसँग पाकेको एकीन गरेर मात्रै मासु एवं अण्डा खानुपर्ने, कुनैपनि पंक्षीहरुको सम्पर्कमा जान नहुने नियम छ।

मापदण्डअनुसारको क्वारेन्टाइनमा दिनमा ४ पटक खाना खुवाउनुपर्छ। जसअनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवा खाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिनुपर्छ।

क्वारेन्टाइनमा खटिएका व्यक्तिहरुलाई समेत भित्र क्वारेन्टाइनमा बसेका व्यक्तिसँग अनावश्यक भेट्न प्रतिबन्ध लगाइएको छ। प्रभावकारी ढंगबाट आर्थिक अनुशासनको पालना गर्दै मितव्ययी तरिकाले काम गर्नुपर्छ ।

मापदण्डमा क्वारेन्टाइनको लागि आवश्यक पर्ने पूर्वाधार, स्वास्थ्यकर्मीको व्यवस्था, क्वारेन्टाइनमा खटिने व्यक्तिहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धी नियम, क्वारेन्टाइनमा रहने व्यक्तिहरुले पालना गर्नुपर्छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.