|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक चार सय मानिस कोरोना परीक्षणको लागि आउने गरेका छन्। धेरैजसो  बाहिरी जिल्लाबाट सरुवा भएर आएका सरकारी कर्मचारी तथा उपत्यका बाहिरबाट आएका व्‍यक्तिहरू कोरोना परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ।

बाहिर जिल्लामा लकडाउनको कारण रोकिएका सरकारी कर्मचारी, सरुवा भएर आएका कर्मचारी तथा अन्य व्‍यक्ति काठमाडौं भित्रिनेहरू तथा घरधनीको दबाबमा घर भाडामा बस्नेहरू परीक्षणका लागि आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताए।

राजभण्डारीका अनुसार कोरोना संक्रमितको उपचार गर्न थालेपछि अन्य रोगका बिरामीहरुको उपचार गर्न आउनेको संख्या कमी भएको छ। सरुवा रोगका सामान्य लक्षणका बिरामी आए पनि सामान्य परीक्षण गरेर अन्य अस्पतालमा उपचार गर्नको लागि पठाउने गरिएको छ।

सरकारको कोरोना परीक्षणको निर्देशिकाअनुसार परीक्षण गरिरहेको निर्देशक राजभण्डारीले बताए। परीक्षण गर्नुपर्ने अवस्थाको मानिसको मात्र परीक्षण गरिरहेको उनले जानकारी दिए।

'बिहानैदेखि परीक्षण गर्न आउनेको संख्या बढिरहेको छ,' थाहाखबरसँग राजभण्डारीले भने,' दिनभरमा यहीअनुसार जाने हो भने पाँच सयसम्म पुग्छ।'

संक्रमितमा अन्य रोगको पनि लक्षण

शुक्रराज ट्रपिकल कोरोना अस्पतालमा चार पुरुष र दुई महिला गरी ६ संक्रमितले उपचार गराइरहेका छन्। सबै कोरोना संक्रमितको लक्षण सामान्य रहेको राजभण्डारीले जानकारी दिए।

एक-दुईजना संक्रमित बिरामीमा मधुमेह तथा उच्च रक्तचाप पनि रहेको रिपोर्टमा देखिएको छ र त्यस्तो संक्रमितहरूले औषधि प्रयोग गरिरहेको उनले बताए। संक्रमितमा अन्य रोगहरू देखिएको खण्डमा उपचारमा केही बाधा होला भन्ने छ तर त्यस्तो समस्या केही पनि नरहेको उनले प्रष्ट पारे।

संक्रमितलाई अन्य रोग देखिएको खण्डमा सम्बन्धित चिकित्सकलाई देखाएर उपचार र औषधि दिइरहेको उनले बताए। उनले भने, 'अहिलेसम्म अन्य रोगको लक्षण भए पनि डराइहाल्नुपर्ने अवस्था छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.