|

अश्वेत जर्ज फ्लोयडको हत्यापछि विश्वभर रंगभेदविरुद्ध आवाज उठाइँदै छ। फ्लोयडको न्यायको लागि भनेर अमेरिकामा दंगा भड्किएको छ। ४६ वर्षीय फ्लोयड हत्या काण्ड र त्यसपछिको आन्दोलन विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत बन्यो। त्यही कारण आज विश्वकै उत्कृष्ट र पुरानो प्रजातन्त्र मानिने अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतीय काल संकटमा छ।

भिडियोमा फ्लोयडलाई ८ मिनेट ४८ सेकन्डसम्म घाँटी थिचिएको देखाइएको छ। घाँटी थिचिरहँदा आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडियोले आन्दोलनलाई अझ उग्र बनाउँदै छ। ४० भन्दा बढी शहरमा आन्दोलनको आगो फैलिएको छ। क्रूर मृत्यु पाउने फ्लोयड पहिलो अश्वेत जर्ज हैनन्। ७६ वर्षअघि शंकाका आधारमा यस्ता अश्वेत जर्जलाई अमेरिकी कानुनले अन्याय गरेको थियो। उनी थिए अफ्रिकी मुलका अमेरिकी जर्ज स्टिन्नी जुनियर। त्यस समय अमेरिकी कानुन सबैको लागि एउटै थिएन।

सन् १८६५ मा अमेरिकी संविधानको तेह्रौं संशोधनले दासप्रथाको विधिवत अन्त्य गर्‍यो र अश्वेतहरूलाई नागरिकताको अधिकार दियो। दासप्रथाको अन्त्यले अश्वेतहरूलाई दासबाट मुक्ति त दियो, तर स्वतन्त्रता दिएन। केही अधिकारहरू कार्यान्वयमा अश्वेतहरूलाई बर्जित गरियो। त्यसकै सिकार बनेका थिए जर्ज स्टिन्नी। सन १९४४ मा मृत्युदण्ड पाएका स्टिन्नीलाई दिइएको सजाय गलत भएको ७० वर्षपछि अर्थात २०१४ मा प्रमाणित भयो।

उनलाई दुई जना श्वेत मूलका बालिकहरूको हत्या आरोपमा मृत्युदण्डको सजाय दिएको थियो। त्यो पनि केबल शंकाको आधारमा। त्यति बेला जर्ज करिब १४ वर्षका मात्र थिए। २० औँ शताब्दीमा अमेरिकामा मृत्युदण्डको सजाय पाउने उनी सबैभन्दा कम उमेरका हुन्। उनी दक्षिणी क्यारोलिनाको पुथ मिल सहरमा बस्थे , जहाँ गोरा र कालाहरू बस्ने क्षेत्रलाई रेलमार्गको ट्रयाकले छुट्याइएको थियो। अमेरिकी संविधानको १३औं संसोधनको अलगाव कानुन (सेग्रिगेसन ल) का अनुसार त्यहाँ श्वेत र अश्वेत बस्ती छुट्याइएको थियो। केही अधिकारबाट अश्वेतहरूलाई बर्जित गरिएको थियो।

घटना सन १९४४ मार्च २५ र २५ बीचको थियो। अमेरिकाको साउथ क्यारोलिनाको अल्कोलू इलाकामा ११ वर्षीय बेटी जुन बिन्नीकर र सात वर्षीया इम्मा थेम्स घरबाट हराएका थिए। केही घण्टापछि उनीहरूको शव एउटा खाडलमा भेटियो। स्टिन्नी र उनकी बहिनी एमी रफनर ती दुईजना केटीहरूलाई देख्ने अन्तिम व्यक्ति थिए। जति बेला उनीहरू एल्कोलु शहर नजिकै मैदानमा थिए।

स्टिन्नीका बुबा खोजी टोलीका सदस्य थिए। जसले केटीहरूको शव खाल्डोमा फेला पारेका थिए। बिन्नीकरको टाउकोमा आघातका कारण मृत्यु भएको थियो र उनको खोपडी फुटेको थियो। त्यसलगत्तै साउथ क्यारोलिना पुलिसले जर्ज स्टिनीलाई शंकास्पद व्यक्तिको रुपमा पक्राउ गरेको थियो।

अनुसन्धानको लागि भनेर उनलाई ८१ दिन जेलमा राखियो। पछि पुलिसले कस्टडीमा जर्जले आफ्नो अपराध स्वीकार गरेको बताएको थियो। त्यस समय पुलिस अफिसर एसएस न्युमेनले आफ्नो हस्तलिखित विज्ञप्ति दिएका थिए।

‘मैले जर्ज स्टिन्नी नाम गरेको केटोलाई पक्राउ गरेँ, त्यसपछि उसले आफनो पाप स्विकार्‍यो र १५ इन्चको फलामे पाइप कहाँ भेटिन्छ भनेर बतायो, उसले साइकलबाट ६ फिट पर खाल्डोमा राखेको बतायो।’ जर्जलाई फाँसी दिने कुरा सो क्षेत्र वरिपरि फैलिएको थियो। न्यूमेनले स्टिन्नीलाई कहाँ राखिएको थियो भने बताउन समेत इन्कार गरेका थिए।

स्टिन्नी कहाँ थिए भनेर उनको आमा बुबालाई समेत थाहा थिएन। त्यस समय अमेरिकामा १४ वर्षका मानिसलाई जिम्मेवार उमेर मानिन्थ्यो। जर्ज स्टिन्नीको सुनुवाई क्लेरेन्डन काउन्टी अदालतमा सुरू भयो, जहाँ अदालतले नियुक्त गरेको वकिल चार्ल्‍स प्लोदेनले आफ्नो पक्षमा केही गर्न सकेनन्।

दुई घन्टाको मुद्दा बहस दौरान प्लोडेले साक्षीलाई बोलाउन वा कुनै प्रमाण पेश गर्न सकेनन्। जसले यो मुद्दामा शंका उत्पन्न गर्छ। स्टेन्नीको विरुद्ध सबभन्दा महत्वपूर्ण प्रमाण भनेको उनको कथित स्विकारोक्ति थियो।

तर अदालतमा सुनुवाइको क्रममा किशोरी हत्याको कुनै दस्तावेज तयार गरिएका थिएनन्। कुनै ट्रान्सक्रिप्ट रेकर्ड गरिएको थिएन। अदालतले 'फर्स्ट डिग्री' हत्याको मुद्दा चलायो। ज्यूरीले १० मिनेटमै मृत्युदण्डको सजाय सुनाइदिए। जर्जलाई १६ जुन १९४४ मा इलेक्ट्रिक कुर्सीमा बसालेर पाँच हजार ३८० भोल्टको बिजुलीको झट्का लगाएर मृत्युदण्ड दिइयो। त्यहाँ कोही पनि काला जातिहरूलाई प्रवेश गर्ने अनुमति थिएन।

भनिन्छ, ज्यूरीमा सबैजना गोरा थिए। त्यसैले रंगभेदका कारण जर्जलाई यति छिटो सजाय सुनाइयो। सजाय सुनाइएपछि जर्ज स्टिन्नीलाई इलेक्ट्रिक कुर्सीमा राख्दा उनी कुर्सीका लागि एकदमै साना थिए। मुखमा ठीक ढंगले पट्टी समेत लगाइएको थिएन। खुट्टामा लगाइएका इलेक्ट्रोड धेरै ठूलो थियो र कुर्सीमा ठीक राख्नका लागि बाइबलमा बस्नुपरेको थियो।

१९४४ मा जर्जले अदालतमा गुनासो पनि गरेका थिए कि पुलिसहरूले उनलाई खाना दिँदैनथे। पुलिसले जर्जलाई अपराध स्वीकार गरेमात्र खाना दिने भन्दै अमानवीय यातना दिएका थिए। फैसला सुनाइनुभन्दा पहिले जर्ज ८१ दिनसम्म जेलमा बस्नु परेको थियो।

त्यसपछि उनलाई मृत्युदण्ड दिइएको थियो। जर्जलाई अल्कोलुभन्दा ८० किलोमिटर टाढा कोलम्बियाको जेलमा राखिएको थियो ताकि कसैले उनीमाथि हमला नगरुन्। उनलाई उनको परिवारसँग भेट्न दिइएको थिएन। जब अदालतमा सुनुवाइ हुन्थ्यो त्यतिबेला अदालतमा स्टिन्नीबाहेक कोही पनि अश्वेत थिएनन्। अदालतमा हजारभन्दा बढी गोराहरू थिए। त्यतिबेला कालाहरू अदालतमा आउन पाउँदैनथे।

जुन दिन जर्जलाई मृत्युदण्ड दिइयो त्यस दिन उनका पितालाई एक पटक उनीसँग भेट्न अनुमति दिइयो। जर्जसँग कुनै अन्तिम इच्छा भए बताउन भनेर सोधिँदा उनले केही पनि भनेनन्। उनी पूरै समय रुँदै रहेका थिए। उनको हातमा बाइबल थियो। पछि उनको हातबाट बाइबल लिएर उनलाई इलेक्ट्रिक कुर्सीमा बाँधियो। उनको टाउकोमा इलेक्ट्रिक चेयरहोल्ड हेल्मेट लगाइयो। मुख बाँधियो। त्यसपछि उनको अनुहारलाई ढाकियो। त्यसपछि तीब्र विद्युतीय झट्का दिइयो।

भनिन्छ, बिजुलीको झट्काको कारण जर्जको पूरै अनुहार फुटेको थियो। उनको एउटा आँखा बाहिर आएको थियो।

स्टिन्नीले न्याय पाएको दिन

६९ वर्षपछि २०१३ मा जर्ज स्टिनीका परिवारको आग्रहपछि अमेरिकाका प्रख्यात वकिलहरूको समूहले सो मुद्दालाई फेरि खुलाए। फेरि केस लडियो। तर यसपटक स्टिन्नीको केस दुई दिनको बहसपछि सुनवाई भयो। जसमा विशेषज्ञले उनको स्विकारोक्ती र शव परीक्षणबारे प्रश्न उठाएका थिए। न्यायधीशले जीवित रहेका भाई र बहिनीको बयानका आधारमा निस्कर्ष निकालेका थिए। मूल परीक्षणबाट धेरै जसो प्रमाणहरू मेटिएका थिए र प्राय: सबै साक्षीहरूको मृत्यु भएको थियो।

१७ डिसेम्बर २०१४ मा अदालतले जर्जलाई दिइएको सजाय सही नभएको फैसला सुनायो। मेरी र बेट्टीलाई मार्न प्रयोग गरिएको हतियार जर्ज स्टिन्नीको सबै शरीरको बजनभन्दा भारी थियो। हतियार उठाउन लागि कुनै सम्भावित उपाय पनि थिएन। जर्जको यो हत्यासँग कुनै सम्बन्ध थिएन।

यद्यपि, प्रहरीलाई दोष लगाउन अपराधी आवश्यक थियो। जसको शिकार बनेका थिए जर्ज स्टिन्नी। ७० वर्षपछि अदालती बयानमा स्टिन्नीकी बहिनी रफनरले सिएनएन सम्बद्ध डब्लुएलटिएक्ससँग कुरा गर्दै बेटी जुन बिन्नीकर र सात वर्षीया इम्मा थेम्सको मृत्यु भएको दिन देखेको बताइन्। उनी र स्टिन्नी रेलरोड नजिकै गाई हेरिरहेका थिए।

‘उनीहरूले हामीलाई मेम्पस कहाँ पाइन्छ भनेर सोधे,’ उनी सम्झिन्छिन्‌, ‘हामीले त्यो हाम्रो सरोकारको विषय होइन र थाहा छैन भन्यौं।’ पुलिसले स्टिन्नी र उनका अर्का भाईलाई लगे, त्यतिखेर उनीहरूका अभिभावक घरमा थिएनन्। एक भाईलाई रिहा गरिएको थियो। जबकि स्टिन्नीले उनको आमा बुबा वा वकिलबिनै पुलिस सोधपुछको सामना गर्नुपर्‍यो।

अदालतले त्यतिबेला अमेरिकी कानुनको छैटौं संशोधन तोडेको फैसला गरेको थियो। अपराधीलाई आफ्नो पक्ष बलियोसँग राख्ने अधिकार नदिइएको ठहर गर्दै अदालतले भनेको थियो-‘जर्ज स्टिनीलाई आफ्नो पक्ष बलियोसँग राख्न दिइएन।

'जर्जले अपराध गरेका पनि हुन सक्थे, तर पुलिस र अदालतको कारवाहीमा भारी गल्तीहरू थिए,’ न्यायाधीश कार्मेन मुलेनले भने, 'जर्जलाई जसरी सजाय दिइयो : त्यो क्रुर र अन्यायपुर्ण तरिका थियो।' सन‌ २०१४ मा अदालतले जर्जलाई तथाकथित अपराध स्वीकार गरेको भन्ने आधारमा सजाय सुनाइएको थियो। तर जर्जले कुनै पनि किसिमको कन्फेन स्टेटमेन्टमा हस्ताक्षर गरेका थिएनन्। १६ जुन २०२० स्टिन्नीलाई मृत्युदण्ड दिएको ७६ वर्ष पुरा हुँदैछ।

जर्जको कथालाई लिएर चलचित्र

जर्जको कथालाई लिएर केही चलचित्रहरू बनाइएका छन्‌। एन्ड्रयु पाउल हवेलले ‘एट्टी थ्री डेज’ नाम दिएर सन २०१८ मा चलचित्र बनाएका थिए। 'द करेन्ट' शीर्षक दिएर अर्को चलचित्र बनाइएको छ। जहाँ उनलाई दिइएको मृत्युदण्डको बारेमा देखाइएको छ।

(स्टिन्नीको बारेमा प्रकाशित विभिन्न समाचार र फिचरका आधार तयार पारिएको।

प्रस्तुति : नमीन ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.