दैलेख : स्थानीय तहमा हुने विकासे गतिविधिमा कतिसम्म लापरवाही हुन्छ भन्ने उदाहरण महाबु गाउँपालिका ४ काब्री खोलानेर बनेको सडकले प्रस्ट्याउँछ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त सडकमा गाडी त परको कुरा मान्छेसमेत हिँड्न मुस्किल पर्ने देखिन्छ। गाउँपालिकाले १३ लाख ५० हजारमा निर्माण गर्न लागिएको सड्क अहिले सामाजिक सञ्जालमा खुबै चर्चामा छ।
सडक हेर्दा नेपालको झन्डा आकारको भन्दै यसको आलोचनासमेत हुँदै आएको छ। राजनीतिक आस्थाका आधारमा बजेट विनियोजन हुन र उपभोक्ता समिति अनि डोजर चालक इन्जिनियर भएरै जिल्लाका सडक बनिरहेका छन्।
जिल्लामा निर्माण गरिएका अधिकांश सडक पानी पर्ने बित्तिकै गाडी गुड्न नसक्ने गरी बिग्रिन्छन्। उक्त काब्री खोलानेरको सडकबारे बुझ्दा महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले अर्थहीन मिडियाबाजी भएको टिप्पणी गरे।
लकडाउनअघि उक्त सडक निर्माण गरिएको र लकडाउन सुरुपछि सडकको ग्रेड मिलान बाँकी रहेको बताए। गाउँपालिकाका अध्यक्ष शाहीका अनुसार १३ लाख ५० हजार रुपैयाँ सडकका लागि विनियोजन भएको छ। तर उक्त रकम भुक्तानी भने नभएको र उपभोक्ता समितिमार्फत कामअनुसार बजेट निकासा गरिने उनले बताए।
सड्क निर्माणका लागि ४ लाख पेस्की भने भुक्तानी भइसके पनि सडकको लागत स्टमेट भने नबनाइएको इन्जिनियर नवीन थापाले बताए। तर गाउँपालिकाका अध्यक्ष शाही भने एक रुपैयाँ पनि भुक्तानी नभएको बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।