|

इलाम : पूर्व-राष्ट्रिय खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले प्रशिक्षक र व्यवस्थापकको भूमिकालाई प्रदेश नम्बर एक सरकारले मूल्यांकन गर्न नसकेको गुनासो राखेका छन्। १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नम्बर एकका ८८ जना खेलाडीलाई पुरस्कार दिएको सन्दर्भमा खड्काले प्रशिक्षक र व्यवस्थापकको भूमिकाको बारेमा प्रश्न उठाएका हुन्।

‘प्रदेश नम्बर एकले खेलाडीहरूलाई नगदसहित सम्मान गरेकोमा खेलाडीहरूलाई बधाई अनि प्रदेश प्रमुखलगायत सम्पूर्ण टिमलाई धेरै धरै धन्यवाद तर एउटा जिज्ञासा प्रशिक्षक अनि व्यवस्थापक को भूमिका के?’ उनले फेसबुकमा लेखेका छन्, ‘यदि भूमिका छैन भने भन्नुपर्‍यो नत्र नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस् या व्यवस्थापन सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले स-सम्मान आफ्नो मूल्यांकन होस् भनेर काम गरेका हुन्छन् यसमा मुख्यमन्त्रीज्यूले के भन्न चाहनुहुन्छ।’

खेलमा खेलाडीसँगै प्रशिक्षक र व्यवस्थापकहरुको पनि त्यति नै योगदान हुने भन्दै उनले ध्यानार्कषण गराएका छन्।  ’मुख्यमन्त्रीज्यूलाई उहाँहरूको जिम्मेवारी, उत्तरदायित्व र योगदानको कदर नभएको हो कि भन्ने मलाई लागेको जिज्ञासा हो,’ उनले लेखेका छन्, ‘म गलत हुँला। तर जति पनि नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस् या व्यवस्थापन सबै सम्मानका भोका हुन्छन्। त्यसैले यसतर्फ मुख्यमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु ! जय नेपाली फुटबल।’

खड्काको भनाइमा सहमति राख्दै नेपाली गोलमेसिन उपमा पाएकी सावित्रा भण्डारी लेख्छिन्, ‘एकदम करेक्ट सर’ एन्फाका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले खड्काको भनाइमा सहमति राख्दै लेख्छन्, ‘कुनै पनि टिमको सफलतामा कोचको ठूलो योगदान हुन्छ र हामीले कोचको पनि सम्मान गर्नुपर्छ। आइ एग्री विथ यु हरि’

खड्काको स्टाटसमा सहमति जनाउँदै तेक्वान्दो प्रशिक्षक दीपक विष्ट सबै प्रदेशका लागि सन्देश हुने उल्लेख गरेका छन्। राष्ट्रिय फुटबलर जर्ज प्रिन्स कार्की, पूर्व-राष्ट्रिय खेलाडी एवम प्रशिक्षक युगलकिशोर राई लगायतले खड्काको भनाईमा सहमति राखेका छन्। उसुका पूर्व-प्रशिक्षक रवीन श्रेष्ठ लेख्छन् ‘आ मलाई त दिक्क लागिसक्यो, गुनासो केही गर्दिनँ। उमेरमा मरिहत्ते काम गरियो। कहिल्यै मूल्यांकन पनि भएन। अब पहिला जस्तो जोशजाँगर रहेन। अब केही आशा पनि छैन।’

सागमा पदक जित्ने खेलाडीलाई सम्मान

प्रदेश नम्बर एक सरकारले गत वर्ष मंसिर १५ देखि २४ गतेसम्म सञ्‍चालित सागमा पदक जितेको ७ महिनापछि खेलाडीहरुलाई नगद सम्मान दिएको हो। प्रदेश सरकारले प्रदेश १ का खेलाडीहरुलाई क्रमश: ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित पुरस्कृत गर्ने मन्त्रिपरिषद्ले गत मंसिर २५ गते निर्णय गरेको थियो। एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, रजत पदक विजेता ४ जना र कांस्य पदक विजेता १० जना खेलाडीलाई सम्मान गरेको हो।

त्यस्तै, टिमतर्फ स्वर्ण पदक विजेता १५ जना, रजत पदक विजेता २२ जना र कांस्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई प्रदेश सरकारले सम्मान गरेको हो। सागमा एकलतर्फ स्वर्ण, रजत र कांस्य विजेतालाई  क्रमश: ३ लाख, २ लाख र १ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, टिम इभेन्टमा खेलाडीको संख्याको आधारमा स्वर्ण पदक विजेतालाई ७५ हजार ५ सयदेखि १ लाखसम्म, रजत पदक विजेतालाई ६० देखि १ लाख र कांस्य पदक विजेतालाई ४१ देखि ५० हजार नगद सहित सम्मान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताए।  एकल र टिमतर्फ रजत विजेतालाई ६० हजारदेखि १ लाखसम्म र एकल र टिमतर्फ कांस्य पदक विजेतालाई ४१ हजारदेखि ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको उनका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको छ।

प्रदेश सरकारले कोरोनाको कहरका कारण प्रतिनिधिमूलक खेलाडीलाई सम्मान ग्रहणका निम्ति बोलाएको थियो। बुधबार मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सम्मानित गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.