सातापछि बालुवाटारमा वार्ता

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिनको डेटलाइन तोकेका छन्। बुधबार एक टेलिभिजनसँगको अन्तवार्ताको क्रममा ओलीले पार्टीभित्रको विवाद समाधान हुने बताएका हुन्। 

प्रधानमन्त्री ओलीले ५ दिनको डेटलाइन तोकेको भोलिपल्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्नका लागि बालुवाटार पुगेका छन्। पार्टीभित्रको विवादित बिषयमा छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेको प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए। 

गत मंगलबार लगानी बोर्डको सिइओ नियुक्तिको बिषयलाई लिएर ओली दाहालबीच चर्काचर्की भएको थियो। त्यही विवादपछि भेटवार्ता हुन सकिरहेको छैन। तर यसबीचमा संवादहरू भने जारी रहेको संकेत बुधबार एक टेलिभिजनसँगको संवादमा प्रधानमन्त्री ओलीले गरेका छन्। 

उनले बुधबार अबको पाँच दिनमा सबै कुरा मिल्ने बताएका छन्। 'भोलिबाटै एक, दुई भन्दै काउन्टडाउन सुरु गर्नुस्, ५ दिनभित्र के हुन्छ नेकपाभित्रको सिनारियो’, उनले भनेका थिए, 'पाँच दिनमा फेरि मसँग बस्‍न आउनुस्, त्यसपछि अहिले भनिएका कुराको फेरि उत्तर दिउँला।’ 

अर्का अध्यक्ष दाहाल एक सातादेखि होम आइसोलेसनमा रहे पनि नेकपामा दोस्रो र तेस्रो तहका नेताहरुले संवाद अघि बढाएको खुलेको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहितका नेताहरु दुई अध्यक्षबीच कुरा मिलाउन लागिरहेको बताइएको छ। 

उनले आफू पार्टी फुटाउने होइन जुटाउने लाइनमा रहेको बताएका थिए। 'म पार्टी फुट्न दिने पक्षमा छैन, मिलाउने लाइनमै छु। केही नेताहरुले पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौ भनेछन्। तर म भन्छु पार्टी फुट्दैन र पार्टी कसैले फुटाउन सक्दैन’, ओली भनेका थिए, 'हिजो नेकपा एमाले हुँदा बहुमतले निर्वाचित अध्यक्ष हो। माओवादी र एमाले मिलेपछि महाधिवेशनसम्मलाई दुई अध्यक्षको प्रबन्ध गरिएको हो। हिजो प्रचण्डजीसँग आधा आधा कार्यकालको सहमति थियो। तर पछि थप सहमति भए सरकार पाँच वर्ष मैले नै चलाइरहेको छु। मेरो तर्फबाट कुनै प्रस्ताव भएको थिएन, प्रचण्डजीले नै नयाँ प्रस्ताव गर्नु भएको हो। पाँच वर्ष नै यो सरकार रहन जरूरी छ।’ 

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व नचलेको भन्दै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्थायी कमिटीमा राजीनामा मागेपछि विवाद चर्किएको थियो। 

विवाद समाधान गर्नका लागि ओली सचिवालयबाट छलफल गरेर अघि बढ्ने पक्षमा छन्। तर, अध्यक्ष दाहाल असार १० गतेबाट जारी स्थायी कमिटीको बैठकबाट सहमतिको प्रयास खोज्ने अडानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.