|

म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँट र खवरा गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्। धान फल्ने खेत र कोदो रोप्ने बारी अहिले केराको बगैँचामा बनेका छन्।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले  खेतका गह्रा गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेका हुन्। अन्नबालीलाई जस्तो धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन्।

अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमवहादुर कार्कीले बताए। कार्कीले  खेतका गह्रामा ५ सय ५० वटा केराका विरुवा लगाएका छन्।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि धान फल्ने करिब १० रोपनी खेत र बारीमा केराका विरुवा लगाएका छन्। ‘खेती गर्न झन्झटिलो, कम उत्पादन र खर्च बढी हुने हुने भएकाले खेतैभरि केरा लगाएको उनको भनाइ छ।

‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब ९  हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ। थापाले भने, ‘अबको दुई वर्ष पछि बगरफाँट केराफाँटमा परिणत हुने भएको छ।

करिब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन्। दश पन्ध्र घारी केरा नलगाएको घर नै छैन।

पकाएको प्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरुले बताएका छन्।

तीन लाख विनियोजन

बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिने कृषकहरूको भनाइ छ। बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हिराबहादुर थापाले बताए। केरा खेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि तीन लाख विनियोजन भएको छ।

केरा बेचेर ५० लाख बढी आम्दानी

बेनीसँगै जोडिएको खबरा गाउँमा पनि सबै कृषकले केरा खेती गरेका छन्। करिब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ।

यहाँका कृषकले केरा खेती गरेर केरा लगाएको डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन्। यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्र्याउने गरेका छ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए।

‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ। सापकोटाले भने ‘खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो। करिब  डेढसय घरधुरीको बसोवास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन्।

खबराकी जाँगरिली महिला तारा कुवँरको जीवनस्तर पनि केरा खेतीबाट नै फेरिएको छ। वार्षिक ३ लाख रुपैयाँको केरा विक्रि गर्दै आएकी कुवँरले केरासंगै तरकारी खेती पनि गरेकी छिन्।

‘वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो, कुवँरले भनिन्। करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन्।

खबराको केरा बेनीमा खपत हुने र केरा बेचेर मासिक ५० देखि ६०  हजार आम्दानी हुने स्थानीय किसान बलबहादुर कुँवरले बताए।

बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन्। खबरामा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.