|

काठमाडौं : डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आइपिएल क्रिकेटमा पहिलो जित निकालेको छ। 

गएराति सम्पन्न खेलमा मुम्बईले कोलकाता नाइटराइडर्सविरुद्ध ४९ रनको प्रभावशाली जित निकालेको हो। अबुधाबीस्थित शेख जायद स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९५ रनको स्कोर खडा गरेको थियो। १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर जम्मा १ सय ४६ रन मात्र बनाउन सक्यो। 

कोलकाताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोड्दा दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन बनाए। मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह र राहुल चाहरले २–२ विकेट लिए भने किरोन पोलार्डले १ विकेट लिए। 

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय पाली खेले। उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । योसँगै रोहितले आइपीएलमा २ सय छक्का पुरा गरेका छन्। यस्तै सूर्यकुमार यादवले ४७ रन जोडे भने सौरभ तिवारीले २१ रन बनाए । हार्दिक पाण्डयले १८ रनको योगदान दिए। 

कोलकाताका शिवम माभीले २ विकेट लिँदा सुनिल नाराइन र आन्द्रे रसेलले १–१ विकेट लिए। गएरातिको जितसँगै अंकतालिकामा २ अंक जोडेको मुम्बई तालिकाको शीर्ष स्थानमा छ। उसले पहिलो खेलमा चेन्नई सुपरकिंग्ससँग पराजय बेहोरेको थियो। आइपिएल क्रिकेट अन्तर्गत आज राति पौने ८ बजे किंग्स इलाभेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.