|

डोटी : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। 

कालोपत्रसहित अन्य भौतिक संरचना बनेका बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन्।

दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लाका विमानस्थलमा नियमित जहाज सञ्चालन गरिने बताए। 

'यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमितरूपमा जहाज चलाउने छौँ', उनले भने, 'स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ।'

मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमितरूपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौता तयारी भइरहेको जानकारी दिए। यहाँका विमानस्थलको टर्मिनल भवन तथा एटिसी भवन नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको उनले बताए।

यात्रु अभावको कारण देखाई लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलको थप स्तरोन्‍नतिसमेत गरिने मन्त्री भट्टराईले प्रतिवद्धता जनाए। 

त्यसैगरी ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताए। 

'दिपायल विमानस्थल कूल एक हजार मिटर रनवेसहितको निर्माण गरिने छ', उनले भने, 'यसका लागि हामी छिट्टै प्राविधिक टोली पठाउँछौँ, केही प्राविधिकहरू आइसक्नुभएको छ।'

त्यही कार्यक्रममा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आले मगरले दिपायल विमानस्थलको स्तरोन्‍नतिपछि यहाँका नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आयस्तर वृद्धि गर्न नियमित जहाज उडाउनुपर्ने बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोखरेलले दिपायललगायतका यहाँका अन्य विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको बताए।

अर्को हप्तादेखि यहाँ जहाज चल्न शुरु हुने बताए। 'दिपायल, पाटन, चैनपुरमा नियमित विमान सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको छ', उनले भने, 'अर्को हप्तादेखि जहाज नियमित हुनेछ।'

कालोपत्रेको काम सकेर जहाजको पर्खाइमा रहेका यहाँका विमानस्थलमा नियमित जहाज सञ्चालन हुनसके यहाँको विकास हुनुका साथै पर्यटकको चहलपहल पनि बढ्नेमा यहाँका स्थानीयवासी निकै आशावादी भएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताइन्। 

'राजधानी खोसिएर कैलाली सरेपछि यहाँका नागरिकमा निराशा छाएको छ', उनले भनिन्, 'व्यापार–व्यवसायमा पनि मन्दी छाएको छ, अब जहाज चलाउन सके यहाँको विकास अवश्य हुनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.