|

भक्तपुर : बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–९, घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय कुश यादव र रामेछापको दोरम्वा गाउँपालिका–७, थापागाउँ घर भई हाल भक्तपुरको बोडे बस्ने २१ वर्षीय पासाङ तामाङ रहेका छन्। उनीहरुलाई शुक्रबार सार्वजनिक गरिएको हो।

प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पासाङ तामाङ पक्राउ परेका छन्। उनलाई मध्यपुर थिमि–८, बोडेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। तामाङले बालिकालाई ललाइफकाइ आफ्नो कोठामा लगेर असोज १८ गते आइतवार राति बलात्कार गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थेबेले बताए। 

तामाङलाई प्रहरीले उनकै डेराबाट पक्राउ गरिएको हो। पक्राउ परेका तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यस्तै, यादवले गत कात्तिक २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ धुन्चेपाखामा एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। पीडित युवतीले गत साउन २४ मा काठमाडौंको पेप्सीकोलास्थित एक घरको शौचालयमा बच्चा जन्माई घर पछाडिको पर्खालमा राखेका थिए।

पर्खालमा नवजात शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थल पुगेर शिशुलाई उद्धार गरी एक गैरसरकारी संस्थामा पठाए र घटनाको अनुसन्धान शुरु गरे। अनुसन्धानको क्रममा युवती पक्राउ परेपछि बलात्कारको घटना सार्वजनिक भएको हो।

प्रहरीले यादवलाई मध्यपुर थिमि–१ लोहकिल्थलीबाट मंगलवार पक्राउ गरेको जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशवकुमार थेबेका अनुसार यादवलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.