आइसियु र भेन्टिलेटर भरिँदै, उपचार पाउन कठिन

|
समाचार प्रतिनिधि तस्विर

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको झन्डै पाँच महिनासम्म फेला परेका अधिकांशका संक्रमितमा लक्षण थिएन। तर, तीन महिनायता भेटिएका संक्रमितहरूमा कुनै न कुनै लक्षण देखिँदैछ। त्यसमा पनि अक्सिजन थेरापी दिनुपर्ने कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ।

हाल कडा खालका लक्षण देखिएर अस्पताल भर्ना भएका संक्रमितहरू प्राय: सबैलाई अक्सिजन थेरापी अनिवार्य जस्तै छ। होम आइसोलेसनमा बसेकालाई समेत अक्सिजन थेरापी दिनुपर्ने अवस्था छ।

पछिल्लो समय धेरै संक्रमितलाई अक्सिजन दिनुपरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रशासन प्रमुख रुपनारायण खतिवडाले बताए। टेकु अस्पतालले कोरोना संक्रमित थपिन थालेसँगै अक्सिजन प्लान्ट व्यवस्थापन गरेको थियो।

तर, अन्य संक्रमणका बिरामीलाई भन्दा कोभिडका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा हाल रहेको अक्सिजन प्लान्टले धान्न समेत गाह्रो भएको उनले बताए। भने, ‘कोभिडको असर श्वासप्रश्वासमा नै मुख्य रुपमा हुने भएकाले अक्सिजनको आवश्यकता देखिएको छ।'

नेपालमा लकडाउनको समयमा कोरोना देखिएकाहरूमा लक्षण थिएन। युरोप र भारतबाट आएकाहरूले कोरोनालाई सजिलै जितेका थिए। गत माघदेखि जेठसम्म संक्रमण देखिएका संक्रमितहरू बिरामी परेका थिएनन्। उनीहरू अस्पताल भर्ना भए पनि आरामसाथ उपचार गरेर घर फर्किने गरेका थिए। 

असारसम्म भारत र तेस्रो देशबाट आउने अधिकांशमा संक्रमण देखिएको थियो। तर, साउनमा सरकारले चार महिना लामो लकडाउन खोलेसँगै मानिसको चहलपहल बढेर कोरोना समुदायस्तरसम्म पुग्यो। यसले स्थानीय संक्रमण फैलिन पुग्यो। त्यसयता भेटिएका संक्रमितहरूमा कुनै न कुनै लक्षण देखिने गरेको छ।

त्यहीकारण संक्रमितहरू बिरामी परेर आइसियु र भेन्टिलेटरसम्म पुग्‍ने क्रम बढ्दो छ। एकातिर संक्रमण समुदायस्तरमा पुग्नु, अर्कातिर लक्षणसहितका संक्रमित दिनहुँ थपिँदै जाँदा कोभिडकै उपचारका लागि तोकिएका अस्पताल अहिले भरिभराउ छन्।

अस्पतालमा आउने बिरामीमध्ये धेरैजसोलाई अक्सिजनको आवश्यकता हुने गरेको खतिवडाले बताए । पहिले अक्सिजन आवश्यक सीमित बिरामी मात्र आए पनि पछिल्लो समय अक्सिजनको आवश्यकता पर्ने बिरामीको संख्या बढेको उनले जानकारी दिए ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अक्सिजन बेड निर्माण गर्नको लागि बजेट पनि पठाइसकेको छ। अस्पतालमा अहिले अक्सिजन आवश्यक पर्ने बिरामीको चाप बढिरहेको भए पनि सीमित अक्सिजन प्लान्ट भएका कारण धान्न गाह्रो भएको खतिवडाले बताए। 

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ३७ हजार ४ सय ६८ जना सक्रिय संक्रमितमध्ये ३० हजारभन्दा धेरै त होम आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

देशभर हाल १३ वटा जिल्लामा पाँच सयभन्दा बढी कोरोना सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। काठमाडौंमा सक्रिय सबैभन्दा धेरै सक्रिय संक्रमित छन्‌। काठमाडौं उपत्यकामा मात्रै १८ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। 

के हो अक्सिजन थेरापी?

नेपालमा अक्सिजन थेरापी दिनुपर्ने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। काठमाडौं उपत्यकासहित बाहिरका अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण देखिएको छ। अधिकांशमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ। केहीमा निमोनियाँसमेत देखिने गरेको चिकित्सकले बताउँदै आएका छन्।

कोभिड देखिएपछि आइसियुमा भर्ना हुनुपर्ने अधिकांश संक्रमितलाई अक्सिजन थेरापीको आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगी ३७२ जनाको आइसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

आइसियु र भेन्टिलेटरमा जानेको संख्याले अक्सिजन दिनुपर्ने कोरोना संक्रमित दैनिक बढ्दै गएको देखाउँछ। विज्ञहरू कोरोनाविरुद्धको भ्याक्सिन पत्ता नलागेसम्म अक्सिजन थेरापीको सहायताले कोरोना संक्रमणबाट हुन सक्ने मृत्युको जोखिमलाई कम गर्न उपाय रहेको बताउँछन्। कोरोनाले फोक्सोमा असर गरेर श्वासप्रश्वासमा समस्या हुने भएकाले संक्रमणपछि लक्षण देखिएका अधिकांशलाई अक्सिजन थेरापीको आवश्यक पर्छ।

संक्रमितको संख्या दैनिक बढिरहँदा अक्सिजनको पर्याप्ततातर्फ ध्यान केन्द्रित गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। अस्पतालहरूले पनि कोरोना संक्रमितको उपचारका लागि अक्सिजन तयार अवस्थामा राख्नुपर्ने सुझाव विज्ञहरूको छ।

सामान्यतः कोरोना संक्रमण भई शरीरमा अक्सिजनको मात्रा कम भएपछि अक्सिजन थेरापी दिने गरिन्छ। कोरोना संक्रमित सबैलाई अक्सिजनको आवश्यक पर्दैन। तर, गम्भीर खालका लक्षण देखिएका र श्वासप्रश्वासमा समस्या भएकालाई अक्सिजन दिनैपर्छ।

अक्सिजन थेरापीको भर

भेन्टिलेटरको भन्दा अहिलेको आवश्यकता पर्याप्त अक्सिजन रहेको डा. पुन बताउँछन्। ‘लक्षण देखिएका संक्रमित धेरैमा श्वासप्रश्वासको समस्या हुन्छ, त्यसैले अहिले भेन्टिलेटर भन्दा अक्सिजनको व्यवस्था गर्नुपर्छ,' उनले भने, 'भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या अक्सिजन थेरापी दिनुपर्ने संक्रमितको तुलनामा कम पनि छ।'

स्वस्थ व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी भएको अवस्थालाई सामान्य मानिन्छ। पुनका अनुसार वयस्क र स्वस्थ व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा कम भएमा तथा दमका बिरामीमा ८८ देखि ९२ प्रतिशत कम भए अक्सिजन आवश्यक पर्छ। शुक्रराज अस्पतालमा भर्ना हुने यीनै संक्रमितलाई अक्सिजन दिइने गरेको उनले बताए।

उनका अनुसार कोरोना पोजिटिभ भएर लक्षण देखिएका ४० प्रतिशतमा माइल्ड अर्थात् हल्का लक्षण भएका खोकी लाग्‍ने, ज्वरो आउने, गन्ध थाहा नपाउने आदि समस्या छन्। अन्य ४० प्रतिशतमा मोडरेट खालका लक्षण छन्।

लक्षण देखिएर सिकिस्त बिरामीलाई मात्र अक्सिजनको आवश्यक पर्ने र सिकिस्तमध्ये ७५ प्रतिशत संक्रमितलाई अक्सिजन मात्रै दिएर पनि बचाउन सकिने चिकित्सक बताउँछन्। बाँकीलाई मेकानिकल भेन्टिलेटरको आवश्यक पर्न सक्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.