धुलोले स्थानीयवासी हैरान

|

कञ्चनपुर : हुलाकी राजमार्गको कञ्चनपुर खण्डको निर्माण कार्य अलपत्र परेको छ। पटक पटक म्याद थप गर्दा समेत पुनर्वासस्थित डोकेबजारदेखि बेलौरी–बेलडाँडी हुँदै वेदकोटस्थित दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता गरेका दुई निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको हो।

दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा लिइएको डोकेबजारदेखि बेलौरी—बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि २०७३ फागुनमा हुलाकी राजमार्ग योजना कार्यालयले दुईवटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। जम्मा ६२ किलोमिटर सडकखण्डमध्ये डोकेबजारदेखि बेलौरीको बुटावारीसम्मको २० किलोमिटर र बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकखण्ड शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीलाई र बेलौरीको बुटावारीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडकखण्ड बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीलाई ३० महिनाभित्र कालोपत्रे गर्ने गरी ठेक्का दिइएको थियो। सम्झौता अवधि सकिएर थपिएका दुईपटकको म्याद समेत सकिएको छ।

निर्माण कम्पनीहरुले सम्झौता गरेको करिब चार वर्षसम्म पनि सडक कालोपत्रे नगरेका कारण दक्षिणी क्षेत्रका बासिन्दाहरु वर्षौँदेखि धुलाम्य कच्ची सडकमा जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएको स्थानीय हरिशचन्द्र बागले बताए। ‘सडक आसपासमा बसोबास गर्ने नागरिकहरु त्यही सडकबाट उडेर आएको धुलोले हैरान मात्रै छैनन्,’ उनले भने, ‘सडक दुर्घटनाको समेत त्यत्तिकै जोखिम मोलिरहेका छन्।’

बेलौरी क्षेत्रका केही जागरुक युवाहरुले सडक कालोपत्रेको काम अलपत्र छोडेको भन्दै गत महिना चोकचोकमा ठेकेदारका तस्बीर अंकित पोष्टर टाँसेर विरोध समेत जनाएका थिए। समयमै काम नगर्ने निर्माण कम्पनीको ठेक्का बदर गरी कालोसूचीमा राख्नुपर्ने र ठेकेदारहरुलाई जरिवानासहित कारवाही गर्नुपर्ने स्थानीयको माग रहेको छ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले हुलाकी राजमार्गको ७० प्रतिशत काम सम्पन्न भएको बताए। कोभिड १९ का कारण निर्माणको काम केही समय रोकिएकाले निर्माण कम्पनीहरुको म्याद थप गर्ने प्रक्रिया समेत अगाडि बढाइएको उनले जानकारी दिए। निर्माण कम्पनीले जिम्मेवार ढंगबाट काममा तीव्रता दिन नसकेको बताउँदै उनले हुलाकी राजमार्ग योजना कार्यालय धनगढीबाट बारम्बार ताकेता गरेपछि निर्माण कम्पनी सम्पर्कमा आएको बताएका छन्।

निर्माण कम्पनीहरुमध्ये शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद र बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीका सञ्चालक दीपेन्द्र शाहीलाई पटकपटक टेलिफोन गर्दा समेत फोन सम्पर्कमा आएनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.