मैदानमा हुनुपर्ने खेलाडी विदेशमा माछा तार्दै, कोही बालुवा चाल्दै
मैदानमा हुनुपर्ने खेलाडी विदेशमा माछा तार्दै, कोही बालुवा चाल्दै
इलाम : जब कोही मन दिएर खेल क्षेत्रमा लाग्छ, त्यसबेला उसले खेलकुदबाट भविष्य सुनिश्चित गर्ने सपना देख्छ। सपना पूरा गर्न वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछन्, आफनो लगनशीलता देखाउँछन्, परिश्रम गर्छन्, आएका अरू राम्रा अवसरभन्दा खेलकुदलाई महत्व दिन्छन्।
तर, जब आफूले गरेको मेहनतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति हुन्छ : अनि खेलाडीहरू विकल्पको खोजीमा लाग्छन्। विकल्प भेटिसकेपछि उनीहरूले खेल क्षेत्र छाडिदिन्छन्।
पलायन हुने खेलाडीहरूको सूची तयार पार्ने हो भने फूटबल खेल शीर्ष स्थानमै आउँछ। नेपालसँगै फूटबल खेल शुरू गरेको धेरै राष्ट्रले अन्तरराष्ट्रिय क्षेत्रमा उचाइ कायम गरिसकेका छन्। तर, नेपाली फूटबल भने व्यवसायिक रूपमा अघि बढ्न सकेको छैन।
कुनै समय फिफाको वरियतामा नेपालभन्दा पछि रहेको पानामाले विश्वकपको अनुभव बटुलिसक्यो। तर, नेपालले एसियाली छनौटको दोश्रो चरणसम्म पार गर्न सकेको छैन। राज्यले फूटबलमा खेलेर जीवन धान्न सक्ने वातावरण कहिल्यै तयार गरेन। जसको परिणाम : जीवन धान्नकै लागि एकपछि अर्का खेलाडीहरूले यो क्षेत्रमा निरन्तरता दिनुको साटो पलायन रोजिरहेका छन्। तर, राज्य अझै गम्भीर बनिरहेको छैन।
एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ खेलाडी पलायनबारे गम्भीर नभएको स्वीर्काछन्। ‘हामी खेलाडी पलायनको विषयमा गम्भीर नभएकै हो। जुन उद्देश्य राखेर नेतृत्वमा आएको थियौं, त्यसलाई पूरा गर्न सकेनौं। हाम्रो नेतृत्व पद र प्रतिष्ठा जोगाउनमै तल्लीन भयो,’ थाहाखबरसँग कुरा गर्दै नेम्बाङले भने, ‘खेलाडीको सामान्य जीवनयापनको व्यवस्थापन गर्न हामी चुकेकै हौं, नेतृत्वले फूटबल र फूटबलरको हकहितबारे सोच्न नसक्दा खेलाडीहरूले एकमात्र विकल्प का रूपमा पलायन रोजिरहेका छन्।’
एन्फा विधिसम्मत चल्न नसक्दा नेपाली फूटबल अस्थिर बन्दै गइरहेको नेम्बाङको बुझाई छ। ‘हामीले पटक-पटक हाम्रो र कर्मचारीको सेवा सुविधा बढायौ तर खेलाडीहरूको तलब भत्तामा त्यती नेतृत्व गम्भीर बन्न सकेनौं’, नेम्वाङ थप्छन्।
तर, पछिल्लो समय एन्फाले थोरै भएपनि खेलाडी पलायनको बारेमा सोच्न शुरू गरेको उनले बताए। ‘असमान तलब पाउँदै आएका महिला फूटबलरलाई न्याय गरेका छौं। विश्वका ५-६ वटा देशले मात्र महिला र पुरुष फूटबलरलाई समान तलब दिएका छन्। हामीले जुन कदम चाल्यौं : त्यो वास्तवमा क्रान्तिकारी कदम हो। जसले पलायन केही हदसम्म रोक्नसक्छ। पुरुष खेलाडीको हकमा पनि सेवा सुविधाहरू बढाइएको छ।’
एन्फाले खेलाडीको हितमा ढिलो निर्णय गरेर कार्यान्वयन चरणमा अघि बढ्दा क्षमता भएका धेरै युवा पुस्ताका खेलाडीहरूले पलायनको बाटो रोजिसकेका थिए।
नेपाली राष्ट्रिय टोलीका गोलरक्षक एलन न्यौपाने लकडाउन शुरू हुनुभन्दा केहीदिन अघिमात्र अष्ट्रेलिया पलायन भए। राष्ट्रिय टोलीले घरेलु मैदानमा विश्वकप छनौटको लागि तयारी शुरू गर्दै गर्दा एलन भने अष्ट्रेलिया पुगिसकेका थिए। तर, कोरोनाका कारण छनौट खेल अहिलेसम्म हुन सकेको छैन।
च्यासलबाट गत वर्षको शहीद स्मारक लिग खेलेका एन्फा एकेडेमीका उत्पादन एलनले नेपाल फर्कने बताएपनि हालसम्म आएका छैनन्। गत वर्ष मनाङ मर्स्याङ्दीका हेमन गुरुङले समेत खेलको साटो आफ्नो गन्तव्य अष्ट्रेलिया बनाए। राष्ट्रिय टोलीबाट खेलिसकेका मिडफिल्डर हेमन नेपालमा भविष्य नदेखेपछि विदेसिन बाध्य भएका हुन्।
‘मैले नेपाली फूटबलमा भविष्य देख्न पाइनँ,’ अष्ट्रेलियाबाट हेमनले भने, ‘अघिल्लो नेतृत्व र वर्तमान नेतृत्व नै पलायनको लागि जिम्मेवार हुन्। मलाई नेपाली फूटबल मनपर्छ र म लामो समयसम्म खेल्न चाहन्थेँ। तर मैले त्यसो गर्न सकिनँ, किनकी फूटबलमै लागिरहँदा मेरो भविष्य अन्धकारमय हुने निश्चित भयो।’ आजकाल हेमन अष्ट्रेलियामा नेपालीहरू माझ हुने फूटबल प्रतियोगितामा आकलझुक्कल देखिन्छन्।
छोराछोरीसँग लोकबन्धु गुरुङ
जापानमा रहेका सन्तोष साहुखल च्यासलको कप्तानी गर्दै शहीद स्मारक लिगमा १ सय गोलको कोशेढुङ्गा पार गरेर पुनः जापान फर्किए। अष्ट्रेलियाबाट लिग खेल्न आएका राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर जगजीत श्रेष्ठ मनाङ मर्स्याङ्दीबाट केही खेलमा सहभागी भएर पुनः अष्ट्रेलिया फर्किए। त्यसपछि उनले त्यहाँ एडिलेड ब्लु इगल्सबाट नेशनल प्रिमियर लिग खेले। सामाजिक सञ्जालमा उनी गुनासो गर्छन्, ‘नेपाली खेलाडीहरूको करियर ४-५ ओटा लिग खेलेर सकिन्छ कि के हो ? लिग गर्न पर्यो है!’
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्लोज क्याम्पमा रहेकी विभागीय टोली आर्मीकी स्ट्राइकर कृष्णा खत्रीले फूटबल भन्दापनि सुखद भविष्यलाई हेरेर पलायन हुने सोच बनाउँदै दुबई लागिन्। २ वर्षअघि नेपाली राष्ट्रिय टोलीबाट खेलेका नेपाल पुलिसका नविता दली, सुधा लामा र रिना गुभाजु पनि दुबई पुगे। उनीहरूसँगै एपीएफकी कप्तान सजना राना मगरले पनि फूटबल छाडिन्। उनीहरू अहिले दुबईको तातो हावामा आफ्नो सुखद भविष्य बनाउने आशमा घोटिइरहेका छन्।
उनीहरू केही प्रतिनिधि पात्र मात्र हुन्, जो राम्रो क्षमता भएर पनि खेलकुदमा भविष्य नदेखेर विदेशिन बाध्य भए।
नेपाली खेलकुद क्षेत्रमा विभागबाट खेल्ने खेलाडीहरूको भविष्य तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। तर विभागकै खेलाडी कृष्णा, नविता, सजना, सुधा र रिनाले फूटबलमा आफ्नो भविष्य देखेनन्। सुरक्षित भविष्यको खोजीमा उनीहरूले गन्तव्य खाडी मुलुक बनाए। उनीहरूसँगै एपिएफका लक्ष्मी पौडेल र उषा भण्डारी पनि शसस्त्र प्रहरीको जागिर छाडेर अमेरिका भासिए।
कृष्णा खत्री दुबईमा
नेपालमा फूटबल खेलेर बाँच्नसक्ने अवस्था अझै पनि विकास हुन सकेको छैन। राजनितिक खिचातानी, नातावाद र कृपावादले नेपाली फूटबल अधोगतिमा पर्दै गएको खेलाडीहरूको गुनासो छ। सामान्य चोटपटक लाग्दा समेत एन्फाबाट उपचारको लागि सहयोग हुँदैन।
‘फूटबलमा एकछिनको वाहवाह मात्र हो। चोट पटक लागेपछि झन् गाह्रो हुन्छ। मेरो एङ्कल क्रेक भएपछि सोच्नैपर्ने भयो। कुनै दिन खेल्न सक्दिनँ भन्दा पनि जबरजस्ती खेल्नुपर्छ। कुनै खेलाडीले खेल्छु भन्दा पनि पाउँदैनन्< उदाहरणका लागि अनु (अनु लामा) लाई हेरे पुग्छ’, राष्ट्रिय टोलीकी पूर्व गोलरक्षक नविता दली गुनासो गर्छिन्।
नेपाली फूटबलबाट केही पनि अपेक्षा नरहेको नविता बताउँछिन्। ‘अब केही अपेक्षा छैन, राष्ट्रिय टिममा हुँदा त केही भएन, अब के हुन्छ र ? तर अब आउने बैनीहरूको राम्रो होस्, हाम्रो जस्तो नहोस्, राम्रो सेवा-सुविधा राम्रो पाएर फूटबलबाट पलायन नहोउन्’, उनले भनिन्, ‘आफ्नै देशमा केही गर्ने मन थियो, के गर्नु ! यहाँ सोर्स र पैसा अगाडी आउँछ, हामीजस्ता मध्यमवर्गको केही चल्दैन, त्यहीकारण पलायन हुनुपर्ने बाध्यता छ।’
नेपाली फूटबलको स्तर उकास्न भन्दै गणेश थापा एन्फा अध्यक्ष हुनासाथ एकेडेमी शुरू गरे। अखिल नेपाल फूटबल संघले जब एन्फा एकेडेमीको शुरूआत गर्यो : त्यसपश्चात नेपाली फूटबलले थप उचाइ लियो। पहिलो ब्याचमा प्रदीप महर्जन, अञ्जन केसी, विक्रम महर्जन, लोकबन्धु गुरुङ, विजय गुरुङ, प्रलय राजभण्डारी, विकास मल्ल लगायत थुप्रै राम्रो फूटबलर उत्पादन भए।
त्यस समय थापाले एसियाको नमूना टोलीको रूपमा सो ब्याचलाई चिनाउँथे, जुन ब्याच ५ वर्षसम्म एन्फा एकेडेमीमा रह्यो।
एन्फाबाट बाहिरिएर पाँच–सात वर्ष लिग खेलेपछि ती उत्कृष्ट ब्याचका खेलाडी विस्तारै खेलाडी जीवनबाट पलायन भए। एन्फाले २०५४ मा एकेडेमी शुरू गर्दा १२ वर्षमुनिका ४० खेलाडी राखेको थियो। त्यसअनुसार अहिले ती खेलाडीको उमेर ३४-३५ वर्ष पुगिसकेको छ। सामान्यतया: यो उमेरमा खेलाडीहरू व्यावसायिक फूटबलमा सक्रिय हुनुपर्छ।
तर, अहिले एन्फा एकेडेमीको त्यो ब्याचका अधिकांश खेलाडी मैदानमा छैनन्। तीमध्ये केही फूटबलमा योगदान गर्ने लक्ष्य बोकेर फूटबल प्रशिक्षक बने भने धेरैले विभिन्न पेसा अँगाल्दै खेल क्षेत्रलाई नै अलविदा गरे। विकास मल्ल अहिले पुरुष फूटबल टोलीका गोलरक्षक प्रशिक्षक छन्।
लामो समयपछि कमब्याक गर्दै विजय गुरुङले ब्रिगेड ब्वाइजबाट शहीद स्मारक लिग खेले। उनकै कप्तानीमा गत वर्ष इरानमा नेपालले एएफसी फुटसल खेल्यो। मानसजन राजभण्डारी काठमाडौंमा फुटसल संचालन गर्छन्। उनीहरू बाहेक अरू व्यवसायीक फूटबलमा सक्रिय छैनन्। दुःखको कुरा : देशका लागि मैदानमा आफ्नो ज्यानको बाजी लगाउने ए डिभिजनका आधाजति खाडीको तातो हावामा पसिना बगाइरहेका छन्।
खेलाडी पलायन हुनु फूटबल संघका लागि समेत घाटा रहेको बुटबलका खेल पत्रकार एवम एन्फा सुचना तथा संचार समितिका सदस्य मनोज थापा बताउँछन्। ‘एकेडेमीले वर्षौं लगानी गरेर खेलाडी उत्पादन गरेको हुन्छ, उनीहरूले आफ्नो खेलकौशल देखाउने बेलामा पलायन भए भने घाटा त एन्फालाई नै हुने हो’, उनी भन्छन्, ‘एकेडेमीमा बस्ने भनेको गाउँघरका सामान्य परिवारका हुन्छन्। २० वर्षको उमेरसम्म त जेनतेनले चल्छ, परिवारको बोझ उठाउनु परेपछि पलायन हुनुको विकल्प पनि रहँदैन।’ खेलाडी पलायन रोक्न एन्फाले कम्तीमा ६ महिनासम्म चल्ने लिग र मोफसलमा हुने प्रतियोगिता व्यवस्थापन गर्नुपर्ने उनी तर्क राख्छन्।
सन् २०१५ भारतलाई हराउँदा साफ यु-१९ मा बुटबल एकेडेमीका खेलाडीहरूको बाहुल्यता भएपनि अहिले उनीहरूले व्यवसायिक खेल जीवनबाट विश्राम लिएको थापा बताउँछन्। एन्फाभित्रको विवाद र लामो समयसम्म लिग नहुँदा क्लासिक डिफेन्डरको छवि बनाएका लोकबन्धु गुरुङ बेलायत पलायन भए।
एन्फा फर्स्ट ब्याचका लोकबन्धु अहिले केमडेन टाउन लन्डनको सुसी जापनीज रेस्टुरेन्टमा अहिले सुसी सेफमा रूपमा काम गर्छन्। दिनको ८ देखि १० घन्टा उनी त्यहीँ बिताउँछन्। ‘लिग समेत नियमित हुन् सकेन। फूटबल खेलेर जीन्दगी नचल्ने भएपछि केही विकल्प खोज्नैपर्ने थियो। मैले बेलायत रोजेँ’, लोकबन्धुले भने, ‘नेपाली फूटबलमा व्यवसायिकता नै छैन। २-४ महिना लिग हुन्छ। त्यसपछि खेलाडीहरू बेरोजगार हुन्छन्। अहिलेसम्म खेलेर बाँच्ने वातावरण बनाउने बारेमा कसैले पनि सोच्नै सकेको छैन।’
लोकबन्धु बेलायतमा श्रीमती र छोरीछोरीसँगै रमाइरहेका छन्। २०६१ सालको लिगको वेस्ट डिफेन्डर बेलायत पलायन भएको एक दशक नाघ्यो। फूटबललाई माया मार्न नसकेपछि लोकबन्धुले त्यहाँ सन्डे लिग खेल्न थाले, तर खुट्टा भाँचिएपछि झन्डै डेढ वर्ष घरमै थन्किनुपर्यो। खुट्टा अझैसम्म पुर्ण रूपमा ठीक नभएको लोकबन्धु सुनाउँछन्।
‘फूटबल करियरको उच्च फर्ममा हुँदाहुँदै यो क्षेत्र छाड्नु पर्दा दुःख लाग्छ, आर्थिक समस्याले गर्दा नेपाली फूटबल छाडेर अर्काको देशमा पलायन हुने मन कसलाई हुन्छ? सन्तानको भविष्य र परिवारको जिम्मेवारी काँधमा आएपछि पलायन हुनुको विकल्प छैन,’, लोकबन्धु थप्छन्, ‘यहाँ आएर फूटबलमा लाग्ने समय नै भएन। एकातिर उमेर गइसकेको थियो, अर्कातर्फ काम नगर्दा खानकै समस्या!’
नेपाली फूटबलरहरू पलायन हुने क्रम भर्खरै शुरू भएको होइन। सन् १९९० र २००० को दशकमा नेपाली फूटबलमा आफ्नो प्रभाव छाडेका दीपक अमात्य, देवनारायण चौधरी, वसन्त गौचन, वसन्त थापा लगायत त्यसबेलाका नेपाली फूटबलका हस्तीहरू आजकाल जापान, युरोप र अमेरिकी देशहरूमा भेटिन्छन्।
एन्फा ब्वाइज : पहिलो ब्याच
पूर्व फूटबलरको नजरमा नेपालको लिग : चन्दा बटुल्ने च्यारिटी लिग
नेपाली फूटबललाई सेमीप्रोफेसनलको रूपमा व्याख्या गरिन्छ। तर, यो व्याख्यासँग अमेरिकाकामा रहेका राष्ट्रिय फूटबल टोलीका पूर्व मिडफिल्डर प्रलय राजभण्डारी सन्तुष्ट छैनन्।
‘नेपाली फूटबल पूरै एमेच्योर लेभलमा छ। कहाँ प्रोफेसनल र सेमीप्रोफेसनल हुनु ! सानोभन्दा सानो पुर्वाधार पनि यहाँ छैन। विभागीय टोली र जावलाखेल बाहेक अन्य क्लबसँग प्रशिक्षण गर्ने आफ्नो मैदान समेत छैन। क्लब लाइसेन्स पाउने एउटा आर्मी मात्र छ। त्यो पाएको १ महिना पनि भएको छैन’, असन्तुष्टि व्यक्त गर्दै प्रलय भन्छन्, ‘कसैले १० लाख रुपैयाँ फालिदिए क्लबले नाम नै परिर्वतन गरिदिन्छन्। विश्वका अन्य लिगमा क्लबको नामको अगाडी स्पोन्सरको नाम आएको सुन्नुभएको छ ? वर्षभरी खेलाडी पाल्ने क्षमता छैन, क्लब भएपछि रिजर्भ टीम हुनुपर्यो। उमेर समुहको टीम हुनुपर्यो। मेनेजमेन्ट हुनुपर्यो। हाम्रो क्लबमा त्यस्तो पाइँदैन।’
एउटा खेलाडीले हरेक प्रतियोगितामा फरक फरक टीममा खेलेको पाइन्छ। अहिले एन्फाले आयोजना गरिरहको शहीद स्मारक लिगलाई च्यारिटी लिगको संज्ञा दिँदै प्रलय भन्छन्, ‘दान र चन्दा संकलनका लागि २ महिनामै सकिने च्यारिटी लिग मात्र हो। कर्पोरेट र फ्रेन्चाइज लिग गरिदिए खेलाडी लिलामी हुन्छ। फूटबलमा लगानी गर्न चाहे कर्पोरेट हाउसहरूको इन्ट्री हुन्छ। जसले खेलाडी बाँच्ने वातावरण बन्न सक्छ।’
वर्षभरी २० जना खेलाडी पाल्न नसक्ने क्लबले लिग खेल्नुको औचित्य नहुने उनी बताउँछन्।
फूटबल विकासमा एन्फाले मात्र गरेर हुँदैन : अध्यक्ष शेर्पा
एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पा पलायन फूटबलमा मात्र नभई सबै क्षेत्रमा रहेको बताउँछन्। उनी भन्छन्, ‘यहाँ फूटबलर मात्र पलायन भइरहेका छैन, हरेक क्षेत्रबाट राम्रो अवसर पाएपछि पलायन भइरहेका छन्। डाक्टर हेर्नुस्, इन्जिनियर हेर्नुस्, राम्रो अवसर पाउँदा सबैले देश छाडेका छन्।’
खेलाडी पलायन रोक्न व्यावसायिकताको खाँचो रहेको उनी बताउँछन्। ‘फूटबल विकासमा एक्लो एन्फाले मात्र गरेर हुँदैन। सरकारले पनि यसतर्फ ध्यान दिनुपर्छ। पूर्वाधार विकासमा लगानी हुनुपर्छ। खेलाडी टिकाउने बारेमा सरकारले पनि सोच्नुपर्छ, हात बाँधेर एन्फाको मुख ताकेर मात्र खेलाडी पलायन रोकिँदैन।’
राष्ट्रिय टोलीका पूर्वकप्तान एवम् एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह खेलाडी फूटबल छाडेर जानुलाई पलायन भन्न नमिल्ने तर्क राख्छन्। ‘कसैले राम्रो अवसर पाए अन्यत्र जान्छ भने त्यसलाई पलायन भन्न नमिल्ला। छाडेर जानेलाई रोक्न सकिन्नँ’, उनी भन्छन्, ‘एन्फाले ६ महिनासम्म चल्ने लिगको लागि कार्य अघि बढाएको छ। अहिले कोभिडका कारण केही समस्या भएको हो। हामी होम एन्ड अबे लिगको कन्सेप्टमा अघि बढ्ने तयारीमा छौं, जसले खेलाडी पलायन रोक्न मद्दत गर्नेछ।’
तुलनात्मक रूपमा फूटबल छाड्ने खेलाडीको संख्या अरू खेलकुदमा भन्दा कम नै भएको सिंहको तर्क छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।