आत्मरति र आत्मप्रशंसामा रमाउनेबाहेक केही भएन

|

काठमाडौंः नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको टिप्पणी गरेका छन्। 

रिपोटर्स क्लबले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले ओली सरकारले ३ वर्षमा आत्मरति र आत्मप्रशंसामा रमाउनेबाहेक केही गर्न नसकेको बताए। तर प्रधानमन्त्री ओलीले धेरै राम्रा काम गरेको भनी फेहरिस्त सुनाउने गरेको उनको आरोप छ।    

‘घेराबन्दी गरेर जबर्जस्ती अनुरोध गरेर हुनुपर्ने नियमित केही (बाटाघाटा र त्यसप्रकारका) कामहरु भएका छन्’, उनले भने, ‘त्यसबाहेक छाती खोलेर सरकारले यो कार्यकालमा यति काम गर्यो भनेर एक, दुई, तीन बुँदामा भन्न सक्ने स्थिति छैन, त्यसकारण उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)ले जसरी एक्लै एकतर्फी रुपमा प्रसंसा गर्दै हिँडनुभएको छ, यसले  उहाँको असफलता प्रकट गरेको छ,' उनले थपे, ‘सरकारको कुनै लोकप्रिय काम गरेन।’  

निर्वाचनका बेला ज्येष्ठ नागरिकलाई मासिक ५ हजार दिन्छौं भनेर घोषणा पत्रमा लेखिएको कुरा पहिलो बजेटमा नपरेको स्मरण गर्दै उनले पार्टी भित्रैबाट असहयोग भएकाले प्रभावकारी काम गर्न नसकिएको भन्ने प्रधानमन्त्री ओलीको भनाइ गलत रहेको बताए। 

५ वर्षको म्यान्डेट पाएको बहुमतप्राप्त सरकारलाई विपक्षीसमेत समर्थन गर्दा पनि भ्रष्टाचार र शान्ति सुरक्षा नभएको आरोप पनि लगाए। ‘सरकारको काम कुनै प्रभावकारी छैन, भ्रष्टाचार बढेको छ, तथ्य, तथ्यांक हेर्दा भ्रष्टाचार निकै मौलाएर गएको छ,' अनियमितता मौलाएको छ, नेता पौडेलले भने ‘निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि भएको हत्याका दोषीलाई अहिलेसम्म सरकारले पत्ता लगाउन सकेन, सरकारको सफलता पटक्कै छैन।’

अनुकूल स्थितिमा पनि प्रधानमन्त्रीले प्राप्त अवसर गुमाएका उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.