|

दाङ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष नभई स्वतन्त्र हुने बताए। 

मंगलबार नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले नेपाली कांग्रेसको चारतारे झण्डामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक भएको बताए।

कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका उनले भने, ‘धर्मनिरपेक्ष हामीले बनायौँ, ओलीजीले के गर्नु हुन्छ त्यो म भन्न सक्दिनँ, उहाँ कहिलेकाहीँ होली वाइन पनि खाइदिनुहुन्छ। कहिले पशुपति जानुहुन्छ। कतातिर ढल्किनुभएको छ त्यो भन्न सकिँदैन।'

नेपाली कांग्रेसको १३ औँ महाधिविशेनमा ७००  जना महासमिति सदस्यले हिन्दु राष्ट्र हुनुपर्छ भनेका स्मरण गर्दै उनले अबको महाधिवेशनमा छलफल गर्ने र त्यसबाट बाटो आउने र त्यसैअनुसार बढ्ने पनि बताए। 

महामन्त्री कोइरालाले धर्मको विषय जनमाझ छोड्नुपर्ने पनि बताए।

फरक प्रसंगमा महामन्त्री कोइरालाले नेपाली राजनीतिमा मौलाउँदै गएको ओली सर्वसत्तावादका जन्मदाता प्रचण्ड र माधव नेपाल नै भएको बताए। उनले ओलीको सर्वसत्तावादविरुद्ध कांग्रेस एक्लैले आन्दोलन गर्ने पनि स्पष्ट पारे। 'सर्वसत्तावादका जन्मदाता प्रचण्ड–माधवसँगै आन्दोलनमा सहकार्य हुँदैन। हामी संयुक्त जनआन्दोलनमा जाँदैनौं।’

उनले नेपाली कांग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै चुनाव हुने अवस्था आए भाग लिने पनि प्रस्ट पारे। ‘अहिले चुनाव हुने अवस्था नै छैन। प्रधानमन्त्री ओलीले चुनाव चाहनुभएको छैन। अलमल्याउने काम गरिरहनुभएको छ,' उनले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.