|

मुगु : मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ। पाटन क्षेत्रमा यार्सा संकलन शुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।

जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु. दुई हजार पाँच सय र जिल्लाभित्रकालाई प्रतिव्यक्ति रु. दुई हजार यार्सा संकलन प्रवेश शुल्क निर्धारण गरिएको छ। अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरी लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरेको छ। चैतदेखि पाटनमा यार्सा उम्रिन शुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानीय फोन्जुक तामाङले बताए।

गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुन्छ। मुगुका पाटन क्षेत्रमा उम्रिने यार्सा संकलन गर्न वर्षेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन्। छोटो समयमा यार्सा संकलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँबस्तीका काम गर्नसक्ने उमेर स्थानीय बूढापाका र बालबच्चा चौपायाबस्तु घरमा छाडेर पाटन उक्लिन्छन्।

​पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन्। गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिक मात्रामा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयको अनुमान छ। मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा रु. पाँच सयदेखि एक हजारमा बिक्री हुने गरेको छ।

यार्सा संकलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा संकलनको स्वास्थ्य उपचारका लागि खटिन्छन्।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङ्दाङखोला, छापाखोलालगायत दुई दर्जन पाटनमा बढी यार्सा पाइने गरेको छ। यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्ला बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ र मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि मान्छे पाटनमा पुग्छन्।

संकलकबाट यार्सा खरिद गर्न काठमाडौँ, पोखरा, बझाङ, डोल्पाबाट व्यापारी हेलिकप्टरमै पाटनमा आउने गरेका छन्। गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका तीनजनाको हिमपहिरोमा परी मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.