तर मन्त्रालय भन्छ : अभियान उत्साहजनक भएकाले खोप अभाव

|

काठमाडौं : पर्याप्त मौज्दात नहुँदा सरकारले गत फागुन २३ गतेबाट सुरु गरेको कोरोना खोप अभियान प्रभावित भएको छ।

कतिपय स्थानमा खोप अभियान नै रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयल भन्छ, ‘खोपको उपलब्ध नहुँदा केही जिल्लाको गाउँपालिकास्तरमा खोप अभियान रोकिएको खबर आएको छ।'

दोस्रो चरणको खोप अभियान उत्साहजनक भएका कारण पनि खोप अपुग भएको मन्त्रालयको दाबी छ। फागुन २३ गते देखि ६५ वर्षमाथिका १७ लाखलाई खोप लगाउने लक्ष्यसहित खोप अभियान सुरु भएको थियो।

मन्त्रालयको पछिल्लो विवरणअनुसार बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले खोप लगाएका छन्। सरकारको लक्ष्यअनुसार अझै ७ लाख ८८ हजार ९ सय ९१ जनालाई खोप लगाउन बाँकी छ।

मन्त्रालयका अनुसार अहिले केन्द्रमा करिब ६ लाख डोज खोप मात्रै मौज्दात छ। सरकारले यसअघि सुनिश्चित गरिएको खोप नआएपछि अन्तिम समयमा ६५ वर्ष उमेर समूह माथिकालाई मात्रै खोप अभियान सुरु गरेको छ।

 दोस्रो चरण सुरु भएको करिब १० दिनपछि ५५ देखि ६४ वर्ष उमेरकालाई खोप दिइने यसअघि नै मन्त्रालयले जनाइसकेको छ।

हाल ३७४ वटा पालिकाका २ हजार ४१९ वटा खोप केन्द्र सञ्चालन भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप सकिएको ठाउँमा खोप पठाइसकिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.