|

काठमाडौं : सरकारले काेराेना भाइरसविरुद्धकाे खोप निजी क्षेत्रलाई पनि आयात गर्न दिने भनेपनि अहिलेसम्म कसैकाे आवेदन नपरेकाे दाबी गरिरहरेको छ। तर विश्वमा खोपको सुरुवात भएदेखि नै नेपालमा खोप ल्याउने भनेकाे ट्रिनिटीको फर्मास्युटिकल्सले सरकारकाे सहयोग नहुँदा खोप ल्याउन नसकिएको जनाएका छन्।

फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले सरकारले सहयोग नगर्दा रसियन स्पुतनिक खोप ल्याउन नसकिएको बताए। नेपालमा सबैभन्दा  अगाडि रसियन खोपको चर्चा भए पनि हालसम्म यो खोपको आयात हुन सकेको छैन।

अन्य खोपभन्दा रसियन खोपको माग धेरै रहेकोले माग अनुसार रसियाले पुर्‍याउँन नसकिरहेको उनले जानकारी दिए।

'कोरोना महामारीको सुरुवाती चरणमा खोप निर्माण भएको हल्ला भइरहेको समयमा सरकारले पहल गरेको भए यतिखेर सम्म खोप आइसक्थ्यो,' अधिकारीले  थाहाखबरसँग भने,'निजी कम्पनीले पहल गरेर सम्झौता गरेपनि सरकारले रसियन खोपको विषयमा केही नगरेकोले रसियन पक्षले गम्भीर रुपमा नलिँदा खोप ल्याउने प्रक्रिया अगाडि बढ्न नसकेको हो।'

उनका अनुसार स्पुतनिक खोपले आवश्यक कागजात पठाउन नसकेकाले औषधि व्यवस्था विभागमा कागजात दर्ता गर्न नसकेको हो। कागजपत्र पठाएमा हामीले खोप आयात गर्न अनुमतिका लागि विभागमा पेश गर्ने उनले प्रस्ट पारे।

सरकारले कति डोज खोप चाहिने भनेर सार्वजनिक गरेको भए खोप ल्याइसक्ने उनको दाबी छ। 'सार्वजनिक रुपमा आव्हान गरेको भए हामीले त्यहीअनुसार कम्पनीसँग माग गर्न सक्थ्यौं,' उनले भने।

सरकारले खोप खरिदको तयारी गरिरहेको छ। निजीलाई सहजै खोप आयात गर्न दिने भए नेपालमा खोपको अभाव हुन नदिने उनको दाबी छ। आफूहरूले खोप ल्याउने भनेका बेला सरकारले सहयोग गरेको भए यतिखेर नेपालमा खोप आइसक्ने उनको भनाई छ।

रसियन खोप व्यापारिक दृष्टिकोणले खरिद बिक्री गर्ने गरी सम्झौता भएको उनले बताए। नेपाललाई कति खोप चाहिन्छ भनेर उक्त कम्पनीलाई परिपत्र गर्न नसक्दा पनि आपतकालीन खोप प्रयोगको लागि अनुमति माग्न नसकेको उनले सुनाए।

'सरकार-सरकार बिचमा सहमति भएर खोप ल्याइन्छ भने पनि कागजातको प्रक्रिया अगाडि बढाउन र खोपको भण्डारण गर्ने जिम्मा हामीले पाउन सक्छौं,' निर्देशक अधिकारीले भने।

प्रक्रिया पुर्याएर कागजपत्र पेश गरेमा सबैलाई सहयोग गर्छौ : औषधि व्यवस्था विभाग

ट्रिनिटी फर्मास्युटिकल्सले खोप आयात गर्नको लागि कुनै पनि कागजपत्र पेश नगरेको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन्। आपतकालीन प्रयोगका लागि कुनै पनि खोप कम्पनीले आयात गर्न अनुमति मागेमा सबैलाई सहयोग गर्ने उनले बताए। निजी कम्पनीलाई खोप आयात गर्न मन्त्रालयमा छलफल भइरहेको उनले जानकारी दिए।

'आपतकालीन खोप प्रयोग गर्छौं भनेर कानुनी प्रक्रियागत सम्पूर्ण कागजात पेश गरेको छ भने सहजै अनुमति पाउँछन,' प्रवक्ता केसीले भने,' हालसम्म प्रयोगका लागि अनुमति मागेको दुई वटा कम्पनी छन्। भारतको कोभिसिल्ड खोप र चीनको सिनोफर्मा रहेका छन्।'

रुस सरकारले सन् २०११ मा बनाएको सार्वभौम सम्पत्ति कोष रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) र नेपालमा औषधि र खोपको आपूर्ति गर्ने भनिएको काठमाण्डौं सीतापाइलामा रहेको ट्रिनिटी फर्मास्युटिकल्ससँग सहमति गरेको थियो।

नेपालमा हाल भारतबाट आयात गरिएको कोभिसिल्ड खोप लगाउने क्रम जारी छ। पहिलो चरण अन्तर्गत माघ १४ गतेबाट खोप लगाउन थालिएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.