|
फाइल फोटो ।

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा कृषि हाटबजार सञ्चालन हुने भएको छ।

एक करोड रुपैयाँ बढी लगानीमा मिलनसार कृषि उपज थोक बजार निर्माण हुन लागेको हो। यसको नेतृत्व महिलाले गर्ने छन्। जिल्लाभरका किसानले उत्पादन गरेका तरकारी, फलफूल लगायतका कृषि उपज यहाँ खरिद गरी संकलन गरिने छ। थोकमा बिक्री हुनेछ। 

हाटबजारको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले शिलान्यास गरेका छन्। कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ६० लाख, तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रेडा पाल्पाको ३० लाख र मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था तानसेन-१३, बौघागुम्हाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा कृषि उपज थोक बजार निर्माण हुने भएको हो।

यस हाटबजारको सञ्चालन तथा व्यवस्थापनको नेतृत्व महिलाले नै गर्नेछन्। मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध शेयर सदस्यले हाटबजारको सम्पूर्ण स्वामित्व लिएको नगरप्रमुख अशोककुमार शाहीले बताए। यस संस्थामा महिला मात्र शेयर सदस्य रहेका छन्। यस सहकारीले निश्चित मापदण्ड पूरा गरेर हाटबजार सञ्चालन गर्न पाएको हो।

जिल्ला भरीका स्थानीय किसानहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन यस हाटबजारले सहयोग गर्ने उनी बताउँछन्। ‘यहाँका किसानले उत्पादन गरेको कृषि उपज हाटबजार ल्याउने व्यवस्था मिलाउँछौं,’ शाहीले भने, ‘किसानको मेहनतलाई विचौलियाबाट शोषण हुन रोकिन्छ, उनीहरूले आफूले गरेको परिश्रमअनुसार मूल्य पाउनेछन्।’

उत्पादनले सजिलोसँग बजार पाएपछि यहाँका किसान कृषि उत्पादनतर्फ थप प्रोत्साहित हुने शाहीले दाबी गरे। उनका अनुसार तानसेन नगरपालिकाका प्रत्येक वडामा सस्तो पसल स्थापना हुने छन्। यहाँ संकलन गरिएका तरकारी तथा फलफूल लगायतका कृषि उपज छिमेकी बुटवल र पोखराका बजारमा बिक्री हुनेछन्। यहाँ मासुको लागि स्थानीय जातका खसी बोका, कुखुरा, राँगाको थोक तथा खुद्रा बिक्री पनि गरिनेछ।

यस हाटबजारको सम्पूर्ण जिम्मा आफूहरूले लिएको मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष कमला भण्डारीले बताइन्। संस्थामा ६२० जना महिला शेयर सदस्य छन्।  हाटबजार सञ्चालनमा आएपछि करिब ४० जना महिलाले प्रत्यक्ष रोजगार पाउने भण्डारीले जानकारी दिइन्‌।

​साथै गाउँगाउँमा महिला दिदी बहिनी कृषि तथा पशुपालन व्यवसायमा जोडिने छन्। उनीहरूको उत्पादनले सजिलै बजार पाएपछि स्वरोजगार बन्ने उनी बताउँछिन्। 

हाटबजार निर्माणकार्य आगामी जेठमा सम्पन्न हुनेछ। यसबाट करिब ६० हजार मानिस लाभान्वित हुने अनुमान गरिएको छ। ३५ रोपनी सार्वजनिक ऐलानी पर्ती जमिनमा हाटबजार निर्माण गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.