|

काठमाडौं : फागुन २३ गतेको सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भंग गरिदिएको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध फाटेको छैन। 

नेकपामा ओलीविरुद्धको मोर्चाबन्दी गरिरहेका प्रचण्ड–माधवलाई फरक पार्टीमा अदालतले फर्काएको भए पनि उनीहरूको सम्बन्ध अझै बाक्लो रहिरह्यो।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा उनीहरू सहभागी भएनन्। 

ओलीको सर्वदलीय बैठक बस्नुअघि प्रचण्ड र नेपाल कोटेश्वरको एक व्यापारीको घरमा भेटवार्ता गरे। त्यहाँ संघीय सरकार परिर्वतन, कर्णालीपछि अन्य प्रदेशपछि अन्य प्रदेशमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो।  

तर, पछिल्लो समय कुनै एक समयमा धाइरहने प्रधानमन्त्रीको सरकारी निवास प्रचण्ड र नेता नेपाललाई 'बैरी' लाग्न थालेको छ। निरन्तर बालुवाटार धाइरहने प्रचण्ड पार्टी विभाजनपछि ओलीले बोलाउँदासमेत बालुवाटार फर्केका छैनन्। 

यता, एउटै पार्टीमा रहे पनि ओली र नेता नेपालबीचको सम्बन्ध न जुट्न सक्ने, न छुट्ने सक्ने अवस्थामा रहिरहेको छ। 
 
बालुवाटार नै बैरी !

नेकपाभित्रको विवाद चलेसम्म प्रचण्ड निरन्तर रुपमा बालुवाटार धाइरहेका हुन्थ्यो। पार्टीभित्रको विवाद समाधान गर्न बालुवाटार पुगेर ओलीसँग घण्टौंसम्म एकल वार्ता गरिरहन्थे। ओलीलाई भेट्न दैनिकजसो निरन्तर रुपमा बालुवाटार पुग्थे। 

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाइएको सर्वदलीय बैठकमा सबैभन्दा पहिले नारायणकाजी श्रेष्ठलाई लिएर शितलनिवास पुगेका प्रचण्ड ओलीले बोलाएको बैठकमा गएनन्। ओलीले भेट्न बोलाउँदा समेत प्रचण्डले बालुवाटारमा जान नसक्ने भन्दै भेटेनन्।  

पार्टीभित्रको विवाद चर्केपछि प्रचण्ड बालुवाटार धाउन छाडे। अहिले प्रचण्डलाई बालुवाटार 'बैरी' हुन थालेको छ। आफूजस्तै बालुवाटार धाइरहेको भन्दै जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुरलाई सार्वजनिक रुपमा प्रचण्डले व्यंग्यसमेत गर्न भ्याएका थिए। 

‘सरकारको नेतृत्व गर्नुहोस्। आजको भोलि एक हप्ताभित्र हाम्रो सरकार बन्छ, किन ओलीकहाँ बालुवाटार धाउनुहुन्छ? भन्ने मेरो प्रश्न हो। आजभोलि त तपाईं पनि म जस्तै हुनुभयो नि कहाँभन्दा आज पनि ओलीकहाँ बालुवाटार, भोलि पनि बालुवाटार’ प्रचण्डको भनाइ थियो। 

पछिल्लो समय प्रचण्डले ओलीको निम्तो स्वीकार गरेर बालुवाटार जान नै इन्कार गरेका छन्। प्रचण्ड शुक्रबार ललितपुरको कोन्जोसामे गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको बताएका थिए। 

ओलीले शनिबार आह्वान गरेको सर्वदलीय बैठकको निम्तो गर्नका लागि फोन गरेको एमाले नेताहरू बताउँछन्। प्रचण्डले भने माओवादी केन्द्रलाई बैठकबारे जानकारी नै नभएको भन्दै शनिबार ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गरे, गएनन्।

ओली–प्रचण्ड टेलिफोन संवाद भएको भए पनि बैठकबारे ओलीले जानकारी नै नगराएको प्रचण्ड सचिवालय दाबी गर्छ। ओलीले प्रचण्डलाई एकल भेट्न चाहेको तर, बालुवाटार बोलाए पनि प्रचण्डले इन्कार गरेको स्रोतको दाबी छ।  

तर, माओवादीलाई बैठकबारे जानकारी नभएको भन्ने विषयलाई एमाले प्रवक्ता प्रदीप ज्ञवाली बेकारको तर्क भएको टिप्पणी गर्छन्। 

‘उहाँहरू किन आउनुभएन? किन यस्तो गैरजिम्मेवार हुनुभयो? भन्ने कुरा उहाँहरूले जान्ने कुरा हो। उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देशचाहिँ चल्छ’ ज्ञवालीको भनाइ थियो। 

नेकपा एमालेमै फर्किसकेपछि पनि माधव कुमार नेपालले बालुवाटार टेकेका छैनन्। पार्टीभित्रको विवाद समाधान गर्न ओलीले चैत २ गते नेता नेपाललाई बालुवाटार बोलाए। तर, नेता नेपालले बालुवाटार आउन नसक्ने अडान राखे। 

ओलीले बाध्य भएर बैठकका लागि पार्टी मुख्यालय धुम्बाराही बोलाए। माधव समूहले ओलीले सरकारी निवास बालुवाटारबाटै गुटबन्दी गरेर पार्टी विभाजनको रेखा कोरेको आरोप लगाउँदै आइरहेको छ। 

त्यसो त यसअघि साविकको नेकपा रहँदा पनि ओली पार्टीको बैठकको लागि बालुवाटारबाट बाहिर निस्कन चाहँदैनथे। स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्ने तयारी गर्दा ओलीले ‘सुरक्षा थ्रेट’ देखाउँदै जान नसक्ने बताएपछि बालुवाटारमै बसेको थियो। 

यता, एमालेमै फर्केपछि पनि ओली र नेता नेपाल समूहबीचको धुम्बाराही भेटवार्तामा कुरा नमिलेपछि एमाले अहिले स्पष्ट रुपमा दुई चिरा परिसकेको छ। नेता नेपाल समूहले ओलीले बालुवाटारमा एकलौटी रुपमा राखेर गरेको निर्णयलाई फिर्ता नभएसम्म एकता सम्भावना नरहेको बताउँदै आइरहेको छ। 

देशव्यापी रुपमा समानान्तर कमिटी गठनलाई तीव्रता दिइरहेको माधव समूहले ओलीसँग मिल्न सक्ने सम्भावना प्रायः सकिएको निष्कर्ष निकालिसकेको छ। शनिबार धनगढी पुगेका नेता नेपाल समूहको प्रभावशाली नेता भीम रावलले कार्यकर्तालाई पार्टीको नाम र चुनाव चिह्न फरक पर्नसक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशनसमेत दिइसकेका छन्। 

ओलीले महाधिवेशन र उप निर्वाचनको विषयमा छलफल गर्न भोलि एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। तर, त्यो बैठकमा पनि माधव समूह जाने देखिँदैन।

प्रधानमन्त्री ओलीले भोलिका बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राख्नुभएको छ। तपाईंहरू जानुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा योगेश भट्टराई भन्छन्, ‘अहिले हामी हाम्रो कामलाई तीव्रता दिइरहेका छौँ। बैठकबारे सोचेका छैनौँ।’ 

अभियानमा तीव्रता

देशव्यापी अभियानको रुपमा चलाएको पार्टी कमिटीको गठनको काम अन्तिम चरणमा पुगिसकेको समेत बताए। 

‘हामीले देशव्यापी रुपमा कमिटी गठन प्रक्रियालाई तीव्रता दिइरहेका छौँ। कति जिल्लामा सकिए भन्ने डाटा छैन। तर, अन्तिम चरणमा पुगिसकेको छ। केही दिनमा नै सक्छौँ’, उनले भने।

ओलीको बालुवाटार बोलाएको संसदीय दलको बैठकमा सहभागी भए पनि कुनै केन्द्रीय कमिटीको बैठकमा सहभागी भएको छैनन्। ओलीले पार्टीविपरीत चलेको भन्दै नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पाटीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। 

प्रचण्डलाई सधैं माधवको चिन्ता!

पार्टी पूर्ववत् अवस्थामा फर्के पनि प्रचण्ड र नेता नेपालबीचको भेटवार्ता रोकिएको छैन। एमालेमा फर्केपछि प्रचण्डले सिन्धुली पुगेर एमालेमा फर्केका नेपालको रेस्क्यु गर्ने चिन्ता आफूलाई भएको समेत बताएका थिए। त्यसो त प्रचण्डले गत शनिबार माधवसँग 'लभ परिरहेको बेलामा छुट्याइदिएको' तर्क गरेका थिए। 

‘हाम्रो त लभ परिरा’ख्या थियो। दुई वटा पार्टीको त लभ परेर तपाईंहरूले देख्नुभयो नि! २८ गतेको आमसभामा म कसरी बोलेको थिएँ? माधवजी कसरी बोल्नुभयो? झलनाथजी कसरी बोल्नुभयो? लभ नपरेको भए त्यसरी बोलिन्थिएन नि त! लभ परेको श्रीमान्–श्रीमतीलाई अदालतले जबर्जस्ती डिभोर्स गरिदिन पाइन्छ?’ प्रचण्डले चैत १४ गते बृहत् नागरिक आन्दोलन भनेका थिए। 

प्रचण्डले मात्रै नभएर नेता नेपालले पनि नागरिक समाजको डबलीमा गएर अदालतले जबर्जस्ती एमालेमा फर्काइदिएको टिप्पणी गरेका थिए। प्रचण्ड र नेता नेपाल निरन्तर छलफलमा तरल बनिरहेको राजनीतिक निकासको विषयमा जोडबल गरिरहेका छन्। 

प्रचण्ड-माधवको समीकरण कर्णाली प्रदेशबाट स्पष्ट रुपमा देखिएको छ। प्रदेशमा मात्रै नभएर संघीय सरकारमा पनि यो समीकरणले निरन्तरता पाउन 'सिनारियो' देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.