|

धनगढी : सुदूरपश्चिम लोकसेवा आयोग कार्यालयमा कर्मचारी अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले करिब २० महिनाअघि प्रदेश लोक सेवासम्बन्धी ऐन निर्माण गरेको थियो। सोही ऐनअनुसार गत चैत ९ मा प्रदेश लोक सेवा आयोग गठन गरेको थियो।

आयोगका पदाधिकारीले चैत १८ मा पदभार ग्रहण गरेका थिए। आयोग गठन भएको एक महिना बित्दा पनि कार्यालय स्थापनाबाहेक अन्य काम भएको छैन। आयोगमा नौजना कर्मचारी रहेको आयोगका सचिव दुर्गा विष्टले बताए। आयोगका लागि ४५ जना कर्मचारी आवश्यक हुने उनले बताए।

‘कार्यालय नौजनाले धानिरहेको छ‚’ उनले भने, ‘अन्य थप कर्मचारीका लागि मुख्यमन्त्री कार्यालयमा माग गरेका छौं।’

आयोगले आउँदो आर्थिक वर्षसँगै प्रदेशमा कर्मचारी भर्नाका लागि सूचना सार्वजनिक गर्ने सचिव विष्टले बताए। तर‚ आयोग कार्यालयमै कर्मचारी अभाव रहेका बेला आयोगले तत्काल कर्मचारी भर्ना गर्नेमा भने अन्योल छ।

आयोगका अध्यक्ष यज्ञराज बोहराले भन्छन्, ‘हामी अध्ययनमा छौं। नयाँ आर्थिक वर्षबाट कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशन गरिने छ।’

सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू, मातहतका कार्यालय, स्थानीय तह तथा संस्थानहरूमा करिब ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.