|

पर्वत : गण्डकी प्रदेशमा हालसम्मकै उच्च बुधबार कुल तीन सय आठ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितहरुको कुल सङ्ख्या १८ हजार दुई सय ५९ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएका विभिन्न विज्ञप्तिहरूमा यसको पुष्टि गरिएको छ।

निर्देशनालयका अनुसार थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकामा तीन जना, कावासोती नगरपालिकामा तीन जना र मध्यविन्दु नगरपालिकामा एक गरी सात जनामा सङ्क्रमणको पुष्टि भएको छ।

यस्तै अर्को विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र रुपा गाउँपालिकाका विभिन्न वडाका एक सय २१ जनामा, गोरखाको गोरखा नगरपालिका, भिमसेन गाउँपालिका र पालुङटार नगरपालिकाका विभिन्न वडाका ४६ जनामा, बागलुङको बागलुङ नगरपालिकाका विभिन्न वडाका १४ जनामा, स्याङ्जाको वालिङ नगरपालिकाका एक जनामा, चापाकोट गाउँपालिकाका एक जनामा, गल्याङ नगरपालिकाका एक जनामा, पुतलीबजार नगरपालिकाका एक जनामा र आँधिखोला गाउँपालिकाका चार जनामा गरी कुल जनामा सङ्क्रमणको पुष्टि भएको छ।

यस्तै तनहुँको व्यास नगरपालिकाका दुई जनामा र भिमाद नगरपालिकाका चार गरी छ जनामा, पर्वतको  जलजला गाउँपालिकाका एक जनामा र कुस्मा नगरपालिकाका तीन जनामा गरी चार जनामा सङ्क्रमण रहेको पाइएको छ। म्याग्दीको बेनी नगरपालिकाको विभिन्न वडाका १० जनामा र मुस्ताङको घरपझोङ गाउँपालिकाका एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ।

निर्देशनालयको चौथो विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका ५२ जनामा, बागलुङको बागलुङ नगरपालिका र निसीखोला गाउँपालिकाका तीन जनामा, स्याङ्जाको पुतलीबजार नगरपालिका र चापाकोट गाउँपालिकाका तीन जनामा, पर्वतको मोदी गाउँपालिकाका एक जनामा, तनहुँको घिरिङ गाउँपालिकाका एक जनामा र म्याग्दीको बेनी नगरपालिकाका एक जनामा पनि सङ्क्रमण रहेको जानकारी दिइएको छ।

पाँचौँ विज्ञप्तिमा स्याङ्जाको वालिङ नगरपालिकाका मात्रै २१ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ।

थप दुई जनाको मृत्यु

निर्देशनालयका अनुसार गण्डकीमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएको छ। मृत्यु भएका एक जना बागलुङको बागलुङ नगरपालिका–११ की ६१ वर्षिया महिला रहेकी छिन्। उनको उपचारको क्रममा गत सोमबार राती मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो। ती महिलामा सङ्क्रमण रहेको वैशाख १० मा पुष्टि भएको थियो।

यस्तै अर्को मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिका–१४ का ५५ वर्षिय पुरुष रहेका छन्। उनको मंगलबार उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सय १९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.