|

अष्ट्रेलियाले कोरोना महामारीबाट जोगिन भारतबाट देश फर्कने आफ्नै नागरिकलाई जेल सजायसम्म दिनसक्ने भएको छ। 

कोरोना महामारीले भयावहता निम्त्याएको भारतबाट आएका मानिसलाई निर्वाध प्रवेश दिँदा त्यहाँ पनि उस्तै संकट निम्तने हुनाले अष्ट्रेलियाले यस्तो सजाय प्रस्ताव गरेको हो। 

यतिखेर भारतबाट अष्ट्रेलिया जाने जो कोहीले पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने या भारी रकम जरिवाना तिनुपर्नेछ। 

अष्ट्रेलिया सरकारले भारतबाट त्यहाँसम्म हुने यात्रामा अस्थायी प्रतिबन्ध लगाइसकेको छ। यो प्रतिबन्ध तोड्नेले जेल या जरिवाना सजाय भोग्नुपर्ने भएको हो। 

त्यहाँको स्वास्थ्य मन्त्रालयले यसअघि भारत हुँदै आएका मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको र उनीहरूमध्ये धेरै संक्रमित रहेको पाइएको जानकारी दिएको छ। त्यसैले अब भारतबाट थप मानिसहरूलाई देशभित्र प्रवेश गर्न नदिने त्यहाँको सरकारले निर्णय गरेको हो। 

अष्ट्रेलियाले भारतबाट हुने सबै उडानमा रोक लगाइसकेको छ। भारतमा करिब ९ हजार अष्ट्रेलियालीहरू बसोबास गर्छन्। यी मध्ये ६०० जनालाई असुरक्षित श्रेणीमै राखिएको छ। 

अष्ट्रेलियाका मिडियाहरूका अनुसार आफ्नै देश फर्कने नागरिकलाई अपराधी करार गर्न लागिएको त्यहाँ पहिलो पटक हो। सरकारको यो कदम भारतबाट फर्कन खोजिरहेका मानिसहरूको हितमा नभएपनि आम नागरिकको स्वास्थ्यका लागि महत्वपूर्ण रहेको विश्लेषण गरिएको छ।

नियम उल्लंघन गरे ६६ हजार डलर जरिवाना तिर्नुपर्नेछ। स्वास्थ्यमन्त्री ग्रेग हन्टले यो फैसला सरकारले निकै सोचविचार गरेरै लिएको प्रतिक्रिया दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.