|

सल्यान : कोरोना भाइरस संक्रमणका कारण सल्यानका प्राय विद्यालय बन्द रहे पनि शारदा नगरपालिकाका विद्यालयमा भने पढाइ रोकिएको छैन। नगरपालिकाको शिक्षा शाखाले शिक्षा प्रतिकार्य योजना निर्माण गरी पठनपाठन गराइरहेको छ।

शिक्षा प्रतिकार्य योजनाअनुसार सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरी टोल सिकाइमार्फत पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख लिलाबहादुर बबालले बताए। ‘नगरपालिकाभित्रका ५८ वटा विद्यालयमा सिकाइ अभिभावक समूह गठन गरिएको छ,’ उनले भने, ‘प्रत्येक विद्यालयमा क्लोज युजर ग्रुप निर्माण गरी टोल सिकाइलाई प्राथमिकता दिनुका साथै अभिभावक समूहमार्फत विद्यार्थीहरुलाई टोलमा जम्मा गरी पढाइ हुने गरेको छ।’

शिवजन माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक शिवलाल थापाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी विद्यार्थीको पायक पर्ने स्थानमा जम्मा गरी पठनपाठन गरिरहेको बताए। शैक्षिक सत्र ढिलो गरी सुरु भएको र शैक्षिक सत्र नसकिँदै विद्यालय बन्द गर्नुपर्ने बाध्यता भएपछि टोल सिकाइको माध्यमबाट पठनपाठन गर्न थालिकाएको उनको भनाइ छ।

शारदा नगरपालिकाभित्र रहेका ५८ वटा विद्यालयका करिब ११ हजार विद्यार्थी वैकल्पिक माध्यमको प्रयोग गरी अध्ययान गरिहेका छन्। कोरोना भाइरसका कारण विद्यालय बन्द भएको समयमा टोल टोलमा समूह बनाई पढाउँदा प्रभावकारी भएको अभिभावक खुमा डाँगीले बताइन्। यस प्रकारको शिक्षाले साना बालबालिकाहरुमा पढ्ने बानीको विकास गर्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.