|

पर्सा : कोरोनाले गाँज्ने क्रम तीव्र हुँदै गएको पर्सामा एक हप्ताका लागि भनी लगाइएको निषेधाज्ञा तेस्रो हप्ता पनि जारी हुने भएको छ।

गएको वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा दोस्रो हप्ता थप गरी भोलि (बिहीबार) वैशाख ३० गते रातिसम्म पुर्‍याइएको थियो। त्यो म्याद सकिने एक दिनअंघि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले तेस्रो हप्ता पनि निषेधाज्ञा बढाउने निर्णय गरेको हो। 

यो निर्णयसँगै आगामी जेठ ६ गते राति १२ बजेसम्मका निषेधाज्ञा जारी रहने डिसिसिएमसी पर्साका सदस्य तथा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। 

‘यो महामारीमा अहिले नै निषेधाज्ञा हटाउने हो भने मानिसको भीड थेग्न नसकी सरुवा रोग संक्रमणको झन् बाढी आउने ठहर डिसिसिएमसीको छ। यसका लागि निषेधाज्ञा थप एक हप्ता बढाउन पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको हो,' उनले भने। 

योसँगै वीरगन्ज नाका भएर भारतबाट नेपाल भित्रिने नेपालीको चेकजाँच र होल्डका लागि वीरगन्ज भन्सार कार्यालयको गोदाम पश्चिमतर्फ उसकै स्वामित्वमा रहेको सीमा नाका नजिकैको अढाइ बिघा जमिनमा १ हजार मानिस अट्ने होल्डिङ सेन्टर निर्माण गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाउने पनि डिसिसिएमसीको निर्णय भएको छ।

त्यसै गरी नजिकिँदै गरेको मुस्लिम धर्मावलम्बीको ईद पर्वमा आआफ्नै घरमा बसी सुरक्षित तवरले पर्व मनाउन अनुरोध गर्ने पनि डिसिसिएमसी पर्साले अर्को निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.