|

सुर्खेत :  सीताकुमारी नेपालीको जन्म २०३१ साल माघमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ इत्राममा भएको हो। नेकपा माओवादी केन्द्रबाट राजनीतिमा उदाइरहेकी सीता हाल कर्णाली प्रदेशकी आन्तरिक मामिला, कानुन र युवा तथा खेलकुदमन्त्री हुन्।

विसं २०७० सालमा समानुपातिकबाट प्रतिनिधित्व गर्दै संविधानसभा सदस्य बनेकी उनी हाल प्रदेशसभामा नेकपाको संसदीय दलको सचेतक हुँदै मन्त्री बनेकी हुन्।

नेपालीको जन्म एक मध्यम वर्गीय दलित परिवारमा भएको थियो। परिवारमा आर्थिक अवस्था न्यून पनि र सम्पन्न पनि थिएन। उनको परिवारको मुख्य आयस्रोत भनेकै कृषि थियो। सानो छँदा आमासँगै उत्पादन भएको तरकारी बजारमा बेच्न जाने गरेको उनले बताइन्।

उनले घर नजिकैको विद्यालय सुर्खेत शिक्षा क्याम्पसबाट अध्ययनको सुरुवात गरिन्। २०४६ सालमा बहुदल आउँदै गर्दा आफू आठ कक्षामा अध्ययनरत भएको उनी बताउँछिन्। आठ कक्षामा पढ्दै गर्दा विद्यालयमा एक दिन आन्दोलनकारीले कालो झण्डा गाडेको पहिलो पट्क देखेको बताइन्। उनललाई त्यतीबेला राजनीतिबारे केही थाहा थिएन।

उनी विस्तारै पार्टीको कार्यक्रममा जोडिन थालिन्। जनवादी गीतहरू गाउने तथा गुन्गुनाउने गर्दै गर्दा पार्टीतिर मन गएको उनी बताउँछिन्। २०५१ सालमा उनले पार्टीको सदस्यतासमेत लिइन्। उक्त समयमा पार्टीमा हुँदा उनको नाम रक्षा थियो। ‘घरको कामसँगै विभिन्न अभियान चलाउँदै पार्टीका कार्याक्रममा अगाडि बढेँ।‘ उनले भनिन् ‘तत्कालीन माओवादीले जनयुद्ध सुरू भएको बेला जातीय भेदभाव हुने गरेको मनन् गरेकी थिएँ। सामुदायिक धारामा पानी भर्न नदिने, भर्दै गरेको गाग्री निकालेर फालिदिने गर्थे।’ 

पहिलो पटक चालिसको दशकको अन्त्यतिर तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा पढ्दै गर्दा उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताइन्। त्यसपछि उनको राजनीति यात्रा सुरु भयो। विद्यार्थी राजनीतिमा छँदा नै उनी विद्रोही स्वभावकी थिइन्। १० वर्षे जनयुद्धमा उनको पार्टीको नाम रक्षा थियो। उनले’ जीवन्त’सँग अन्तरजातीय विवाहसमेत गरिन्।

 माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनी २०६४ सालको पहिलो संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लडेकी थिइन्। तर त्यतिबेला उनी थोरै मतान्तरले पराजित भइन्। त्यसयता निरन्तर माओवादीको राजनीतिमा सक्रिय रहेकी नेपाली २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा भने समानुपातिकबाट सभासद भइन्। संविधानसभा सदस्य भएपछि उनले दलित महिला क्षेत्रबाट प्रतिनिधित्व गर्दै संविधान लेखनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछिन्।

संविधानसभा सभासद रहेकै बेला उनी माओवादी केन्द्रको प्रमुख सचेतकसमेत भइन्। केन्द्रीय प्रमुख सचेतक भएपछि पनि उनी देश संघीयतामा गएपछि प्रदेशको राजनीतिमा होमिइन्। कर्णाली प्रदेशसभा सदस्य रहेकी नेपाली २०७७ साल असोजमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रमुख सचेतक भइन्।

त्यतिबेला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेकी नेपाली दलित अधिकारका लागि पनि लड्दै आएकी थिइन्। नेपाली दलित समुदायमा महिलाबाट कर्णालीमा पहिलो आन्तरिक मामिला, कानुन, र युवा तथा खेलकुद मन्त्री बन्न सफल भएकी छन्।

वैशाख २९ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीताकुमारी नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्री, त्यस्तै  आन्तरिक मामिला, कानुन तथा युवा, खेलकुद मन्त्रीमा बिन्दमान विष्टलाई र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका थिए। तर, उनीहरूले तीनै जनाले शपथ खान नपाउँदै बर्खास्त भए।

फेरि मुख्यमन्त्री शाहीले जेष्ठ २ गते विष्टलाई ब्याक गर्दै आन्तरिक मामिला कानुन र युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका हुन्।

नेपालको दलित महिला इतिहाससँगै मन्त्री नेपाली प्रदेशमा पनि दलित समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बनेकी छन्। यसअघि प्रदेश १ मा जसमाया गजमेरलाई राज्यमन्त्री नियुक्त गरिएको थियो। तर, जसमायाले केही समयमै राजीनामा दिनुपर्‍यो। समावेशी हकमा पनि कर्णाली प्रदेश पहिलो बनेको छ।

दलित महिलालाई मन्त्री बनाएर तत्कालीन माओवादीले भनेजस्तो समावेशी र समानुपातिक मागलाई सम्बोधन गर्ने कर्णाली पहिलो प्रदेश बनेको हो। मन्त्री नेपालीले राजनीतिशास्त्रमा स्नात्तकोत्तर गर्नुका साथै  कानुनमा पनि एलएलबी गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.